अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तरगत बुधबार काठमाडौंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल म्यानमारसँग २–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भए पनि दुवै टोली गोल गर्नबाट चुकेका थिए । दोस्रो हाफको ६१ औँ मिनेटमा म्यानमारका यू पर खियाङले पहिलो गोल गरिन् । दुई मिनेटपछि म्यानमारले अर्को गोल थप्दै खेलमा अग्रता दोब्बर बढाएकाे थियाे । विन थिङयी टुनकौ प्रहार नेपाली खेलाडीलाई लाग्दै जाली चुमेकाे थियो ।
त्यसपछि कुनै गोल हुन सकेन । नेपालले गोलका लागि राम्रो अवसर गुमाएको थियो । यसअघि समूह चरणको अन्तिम खेलमा पनि भिडेका दुई टाेलीकाेखेल २–२ को बराबरीमा टुंगिएको थियो ।

