थाहानगर । नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा १४ फागुनदेखि थाहा नगरमा नगरस्तरीय शिक्षक रनिङशील्ड भलिवल प्रतियोगिता सुरु भएको छ ।
थाहा नगरपालिका १ कुन्छालस्थित सुनौला माविको पुरानो खेलमैदानमा सुरु भएको खेलमा नगरका १२ वटा विद्यालयहरुले सहभागिता जनाएको छ । पहिलो चरणको खेल औपचारिक उद्घाटन अघि विहान ८ बजेदेखि सुरु भएको थियो । पहिलाे चरणकाे खेल सुरु भएपछि औपचारिक रुपले प्रतियोगिताको उद्घाटन गरिएको छ । नगर समिति अध्यक्ष मनोज लामिछानेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय महासचिव हंस शाहीले शिक्षक मैत्री शिक्षा ऎनको माग गरेर आन्दोलनमा रहेको संगठनले ऎन जारी गराएपछि मात्र विश्राम लिने बताए । कार्यक्रममा विशिष्ट अतिथि संगठनका जिल्ला अध्यक्ष मुकुन्द न्यौपाने, नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य सानोभाइ कार्की, महासंघका नगर अध्यक्ष राजाराम कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २५ हजार, द्वितीय हुने विद्यालयलाई १५ हजार र सान्त्वना दुई विद्यालयलाई ५/५ हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका लागि थाहा नगरपालिका, हेटौंडा सिटी कलेज एवं विभिन्न संघसंस्था र वित्तीय संस्थाहरुकाे सहयोग रहेकाे छ ।

