जबजब झरी पर्न थाल्दछ,
तिम्रो याद विछट्टै आउँछ
कसैगरी रोक्न सक्दिन तिम्रो यादलाई,
न रोक्न सक्छु पानीका यि निरन्तर झरीरहेका थोपाहरु
बरु, आत्मा ग्लानिले म आफैं पानी पानी हुन्छ ।
यस्तो लाग्छ…
रातभर पानीले लफ्रक्क भिजेको
त्यो आँगनको लेउमा
तिमी विहानै पानीको गाग्रीसँगै लड्यौ कि ?
आफैंभन्दा भयङ्कर ठुला घाँस, सोतर र दाउराको बारी बोकेर
कसरी उक्लियौ होला तिमी,
झिसमिसे मै त्यो चिप्लो कान्लाहरुबाट ।
हिजो पसिनाले छपक्क भएका तिम्रो चोली र फरीयाहरु
आज झरीमा रुझेर अमिला भएका होलान्,
झरीमा घाँस, सोतर र पँधेरी भ्याएर,
चिसो चुल्होमा बडो मुस्किलले आगो फू…फू… गर्दै
तातो पानी तताएर एक गिसाल सुरूप्प पिएर,
फेरी उसैगरी दिनभर रुझ्नको लागी
पर्म तिर्न उकाली चढ्यौ काकीको खेततिर,
साँझ, थकित र रुझेको ज्यान लतार्दै लतार्दै
हतारीदै गोठमा हाजिर भयौ, ति चौपायका स्याहारको लागी,
रुझिरहेकै शरिरले चौपायको लागि न्यानाेपन भरेर,
फेरी त्यै चिप्लो पंधेरी, फेरी त्यै चिसो चुल्होमा
खुइया खुइया…., ठुइया ठुइया…. ।
रोगि शरिर लखतरान भएर आधा रातमा
ओछ्यानमा पुग्दा छाना चुहिएर लफ्रक्क भिजेकोे
त्यो ओछ्यानले कसरी साथ देला
थाकानले ढल्नै लागेको तिम्रो त्यो बुढो शरिरलाई ?
रुझेकै शरिर,
रुझेकै बिछ्यौना,
सायद रुझेकै तिम्रो मन,
रुझेरै बिहानीको छिसमिसे पर्खदो होला ।
वर्षातमा न छाना फेरेर ओत बन्न सके तिम्रो लागि
न नाना फेरेर न्यानोपन दिनसके
न उकालीमा तिमीलाई आड दिन सके, न ओरालीमा
न पधेंरामा साथ भए, न अधेरी रातहरुमा,
तिम्रा अभाव र दुःखलाई नदेखेझै गरिहरने
मसँग तिमीले कहिल्यै भनेनौः “छोरी म अभावमा छु ।”
रचनाकालः२०७८ जेठ १३ गते, हेटाैंडा–५ सिंचाइटाेल
मकवानपुर । नियमित ओपीडी सेवा नै बन्द गरेर काेराेना संक्रमितको उपचारमा केन्द्रित गरिएको हेटौंडा अस्पतालले आजबाट ओपीडी सेवा सुरु गर्दै छ ।
हेटौंडा अस्पतालका निमित्त मेडीकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार आज विहीबारबाट अस्पतालले नियमित सेवा सुरु गर्न लागेको हो । डा. सापकोटाका अनुसार अब साताको २/२ दिन फरक फरक रोग परीक्षण हुने गरी ओपीडी सञ्चालन गरिनेछ । बाल स्वास्थ्य, स्त्री तथा प्रजनन् स्वास्थ्य, हाडजोर्नी, जनरल मेडिसिन लगायत अस्पतालबाट प्रदान गरिने सेवामध्ये साताको २ दिनका दरले हरेक सेवाको ओपीडी सेवा सञ्चालन हुनेछ ।
जिल्लाकै ठूलो सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा दैनिक सयौं सर्वसाधारण स्वास्थ्य उपचारबाट बञ्चित हुनु परेको थियो । कोरोना भाइरसको महामारीपछी नियमित स्वास्थ्य जाँच गर्नुपर्नेहरुलाई समस्या हुँदै आएको थियो । हेटोंडा अस्पतालमा समान्य अवस्थामा औषत ४ सय जनाले ओपीडी सेवा लिने गरेका थिए । निजी अस्पतालमा ओपीडी सञ्चालन भइरहने तर सरकारीमा ओपीडी बन्द हुँदा सर्वसाधारणमा आर्थिक भार समेत पर्दै आएको थियो ।
हेटौंडा अस्पतालका केही चिकित्सक कोभिड वार्डमा पनि खटिने भएकाले कोभिड वार्डमा नखटिने चिकित्सकलाई प्राथमिकतामा राखेर ओपीडी सेवा सञ्चालन गरिने डा. सापकोटाले बताए । आपतकालीन अवस्थामा कोभिड वार्डमा खटेका चिकित्सकले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ओपीडी सेवा प्रदान गर्न सक्ने व्यवस्था मिलाइने अस्पतालले जनाएको छ ।
काेराेना संक्रमितकाे चाप धान्य नसकेकाेले अस्पतालले गत बैशाख २० गतेबाट अर्काे सूचना नभएसम्मकाे लागि ओपिडि सेवा बन्द गरी काेराेना संक्रमितकाे लागि थप वेडकाे व्यवस्था गरी उपचार गर्दै आएकाे थियाे ।

मकवानपुर/ वर्तमान राजनीतिक वातावरणको कारण निष्पक्ष रुपमा विश्वविद्यालय चलाउन सक्ने अवस्था नभएको बताइएको छ ।
‘विश्वविद्यालयको भूमिका कम छैन, राजनीतिक आडको भरमा उपकुलपतिहरुलाई धक्याएर, तर्साएर नीतिलाई मिचेर हात लिने परिपाटीको अन्त्य हुनै पर्छ’ बुधबार जुम प्रविधिको प्रयोग गर्दै भर्चुअल रुपमा आयोजना गरिएको एक कार्यक्रममा कृषि तथा वन विश्व विद्यालयका उपकुलपतिका डाक्टर पुण्यप्रसाद रेग्मीले यस्तो बताएका हुन् ।
‘हामी देशको लागि केही गछौ, होनाहार दक्ष तथा क्षमतावान युवाहरु देशलाई दिन्छौ भनेर लागिपरेका छौ, तर, पार्टीको भागबण्डामा पार्टीको सिफारिसमा आएकाहरुको कारण समस्या छ’ उनले भने ‘अध्ययन बिना पार्टीको आडमा आएकाहरुबाट कस्तो योगदानबाट हुन्छ प्राज्ञिक क्षेत्रमा ?’
विश्वविद्यायमा राजनीतिक संगठनलाई बन्देज नै गर्नुपर्ने उनले बताए । विश्वविद्यालयमा प्रतिष्पर्धा हुनै नदिने परिपाटीको रहेको र यसले दक्षता हासिल गर्ने हौसला विस्तारै कम हुदै आएको उनले बताए । ‘विश्वविद्यालयलाई स्वतन्त्र रुपमा प्राज्ञिक थलो बनाउने हो भने भोलीको लागि मुलुकलाई चाहिने दक्ष जनशक्ति प्रयाप्त दिनसक्छौ, राजनीतिक, व्यवसायिक, शैक्षिक सबै क्षेत्रको लागि क्षमतावान् जनशक्ति दिनसक्छ । ‘विश्वविद्याय स्तरको शिक्षा ध्वस्त भएकै राजनीतिको कारण हो’ डा. रेग्मीले भने ‘विश्वविद्यालयलाई अर्को संसद रुपमा लिने गरीन्छ, यसलाई क्षमता र दक्षता हासिल गर्ने राम्रो वातावरण बनाइयोस् ।’ आजको युवा पुस्तालाई राजनीतिमा आउने प्रेरणा दिने सक्ने विश्वासिलो आधार समेत नभएको सहभागीहरुले बताएका थिए ।
राजनीतिक नेतृत्वको द्रुत मार्ग विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सबै नीतिको मुल नीतिको भूमिकामा रहनु पर्ने राजनीति नै सकारात्मकबाटोमा नरहेको भन्दै गुनासो गरेका थिए ।
कार्यक्रममा प्रोफेसर डा. नवराज खतिवडाले राजनीतिक नेतृत्वमा द्रुतमार्ग बारे सहजिकरण गरेका थिए । वर्तमान राजनीतिक संस्कारको रुपमा विरासत सम्हाल्न, नाता कुटुम्बको माध्यम, आरक्षण नीतिको सहारा, राजनैतिक समिकरण मिलाउन, दललाई आर्थिक सहयोग गरेर तथा गैर–राजनैतिक क्षेत्रको प्रसिद्धिको सहारामा हाल राजनीतिक नेतृत्वको द्रुत मार्गको प्रयोग गर्ने गरिएको भएपनि यो कालन्तरमा प्रभावकारी नदेखिएको विश्लेषण डा. खतिवडाले सुनाए ।
कार्यक्रममा पूर्व मन्त्री गणेश शाहाले हाल कोरोना संकटको बेलामा राजनीतिकको विकास जुन रुपमा हुनु पर्ने थ्यो, त्यो विल्कुलै नभएकोमा गुनासो गरे । यसैगरी नेपाली काँग्रेसका नेता, पूर्व मन्त्री लक्ष्मण घिमिरेले हाल ‘ब्रेन ड्रेनको समस्या समाधान गर्नु सबैभन्दा ठुलो चुनौति रहेको बताए ।

‘रेमिटान्सको आशामा हाम्रा पाखुरीहरु खाडि मुलुकमा हराए, अबको नेतृत्व को त ?’ उनले प्रश्न गरे । ६०÷६५ वर्ष नाघेका राजनैतिक नेतृत्वबाट अब के अपेक्षा गर्ने, अबको १० वर्षपछि राजनीतिमा उत्तराधिकारी को होलान्, म त देख्दिन,’ पुर्व मन्त्री घिमिरेले भने । हालका ८० प्रतिशत नेताका छोराछोरी पीआर लिएर विदेशमै स्थायी नागरिक भएको तथ्याङ्क प्रस्तुत गर्दै उनले राजनीति नयाँ पुस्ताको रोजाइ नहु नसकेकोमा दुख लागेको बताए । यसैगरी पूर्व मन्त्री कल्पना धमलाले भने निराशा हुनुभन्दा अझै युवा पुस्तालाई प्रोत्साहन गर्नतर्फ लाग्नु पर्ने बताइन् । ‘हालको नेतृत्वले नयाँ पुस्तालाई विश्वासको आधार बनाउनु हालको नेतृत्वको कर्तव्य हो, संभावना छैन भनेर पन्छिने कुरै हैन’ उनले भनिन् ।
कार्यक्रममा प्रोफेसर धर्मराज रेग्मीले सिण्डेकट बिना राजनीतिमा प्रवेश गर्न नपाइने चुनौति सबैभन्दा बढी घातक भएको बताए । ‘सिण्डिकेट तोड्नको लागि ठुलो संघर्ष आवश्यक छ’ उनले भने ‘आफ्नै सन्तानलाई देशको विकासका बारेमा विश्वास दिलाएर देशमै टिकाउन सक्नु पर्छ, देशको लागि आवश्यक युवाशक्ति युरोप र खाडि मुलुकमा नै छ, पुराना नेतृत्वहरु छोड्न नचाहने नयाँ पुस्ताहरु राजनीतिमा आउन नसक्ने सिण्डिकेटको प्रणाली फेर्नै पर्छ ।’
नयाँ पुस्ताको नेतृत्वमा आशा लाग्दा नेतृत्व क्षमता पनि नदेखिएको उनले बताए । ‘मन्त्रीको पीय बनेर आउने संगठनका नेताहरुले कसरी देश चलाउलान् भोली भन्ने लाग्छ’ उनले भने ‘नयाँ पुस्तामा जोश, जाँगर र क्षमता भन्दा झोला बोकेर मान्छे रीजाउने र पदमा पुग्ने विचार हाबि हुने गरेको छ ।’
अन्तरक्रियामा राष्ट्रिय सभाको पूर्व सदस्य धना न्यौपाने खतिवडाले महिला शिक्षाको अवस्थालाई सुधार्नु पर्ने, युवा महिलालाई नेतृत्वदायि क्षमता बढाउनेमा ध्यान दिनु पर्ने बताइन् । द्रुत गतिमा योग्य नेतृत्व निर्माण गर्न राजनीतिको नाममा कमाइखाने र पहुँचको प्रयोग गर्ने नीति तोडिनु पर्ने उनले बताइन् । वर्तामानको जस्तो छलकपटको अन्य र विश्वासको वातावरण हुनुपर्ने ।
मकवानपुर/स्वास्थ्योपचारमा आर्थिक समस्या भएपछी सहयोगको याचना गर्दै उपचार पर्खि बसेका दिनेश दाहाल थप उपचारको लागि अस्पताल पुगेका छन् । उनी थप उपचारको लागि बुधबार काठमाडौं स्थित राजधानी हस्पिटल पुगेका हुन् ।
हेटौंडा उपमहानगरपालिका–३ बसामाडी निवासी ४३ वर्षीय दिनेश दाहाल २ वर्षदेखि लिभर शिरोसिसबाट पीडित थिए । उपचारको लागि आर्थिक जोहो गर्न नसकेपछि उनीले सहयोगको याचना गरेका थिए । दाहाल प्रतिष्ठान मकवानपुरको नेतृत्वमा सुरु गरिएको ‘दिनेश दाहाल बचाउ अभियान’बाट ९४ हजार रकम संकलन भएमा बुधबार ६१ हजार रुपियाँ दिनेशको छोरा दिवाकरलाई हस्तान्तरण गरिएको छ । बाँकी रकम इसेवा मार्फत पठाइने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठान र अन्य मनकारी दाताहरुको सहयोगमा केही आर्थिक जोहो भएपछि थप उपचारको लागि अस्पताल लागिएको हो ।

सक्दो चाँडै शल्यक्रिय गर्नुपर्ने भनिएको थियो, महामारी र पैसाकै जोहो नभएको कारण जान सकिएन’ सहीखबरसँगको भेटमा दाहालले भने ‘अब जीवनको आशा जागेको छ’ सबैलाई धन्यवाद छ’ दिनेशले भने । आफूलाई सहयोग गर्नेहरुप्रति उनले आभार व्यक्त गर्दै, अझै थप पैसाको आवश्यकता परेको सुनाए ।
दिनेश दाहालकी बहिनी रीता दाहाल शर्माका अनुसार हाल उनको शल्यक्रियको लागि मिति भने तोकिएको छैन । ‘सक्दो चाँडै शल्यक्रिय गर्नुपर्ने भनिएको थियो, महामारी र पैसाकै जोहो नभएको कारण जान सकिएन’ सहीखबरसँगको भेटमा दाहालले भने ‘अब जीवनको आशा जागेको छ’ सबैलाई धन्यवाद छ’ दिनेशले भने । आफूलाई सहयोग गर्नेहरुप्रति उनले आभार व्यक्त गर्दै, अझै थप पैसाको आवश्यकता परेको सुनाए । केही महिना अगाडि नै चिकित्सकले चाँडै शल्यक्रियको लागि सुझाएको उनले बताए ।
बुधबार दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य दीपक दाहाल, जिल्ला अध्यक्ष सिताराम दाहाल, उपाध्यक्ष जुना दाहाल, सचिव सरिता दाहाल, सहसचिव राजेश्वर दाहाल, आर्थिक उपसमिति संयोजक तथा जिल्ला कोषाध्यक्ष तुल्सा तिमल्सिना दाहाल, सदस्य सरस्वती दाहाललगायतले दिनेशको डेरामा पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए ।
प्रतिष्ठानको अभियान अन्तरगत पछिल्लो पटक हेटौंडा उपमहानगरपालिका वडा ३ का वडा अध्यक्ष रामकुमार पुडासैनी, हेटौंडा–४ निवासी, कपडा व्यवसायी तेजराज अधिकारी, न्युजल्याण्डबाट दिलिप दाहाल, अस्टेलियाबाट हरिश्चन्द्र लामिछाने तथा दिपकचन्द्र दाहाल, मकवानपुर ठिंगनका डी.एन दाहाल, हेटौंडा–११ की जुना दाहाल, काठमाडौंका रामहरि दाहालबाट समेत गरी हालसम्म कुल ९४ हजार आर्थिक सहयोग संकलन गरिएको प्रतिष्ठान अध्यक्ष दाहालले बताए ।
उनलाई अझै आर्थिक अपुग भएको कारण सहयोग गर्नेहरुलाई अनुरोध गरिएको छ । क्यान्सरको कारण श्रीमती गुमाएको केही वर्षमै दिनेशलाइ नै स्वास्थ्य समस्या देखिएपछि उपचारमा आर्थिक समस्या परेको हो । श्रीमतीको उपचारमा धेरै खर्च लागेको कारण नगद तथा जायजेथा सकेपछि बाहलमा बस्दै आएका उनी अहिले आफ्नो उपचारमा आर्थिक अभावकै कारण समस्या
रहेको परिवार स्रोतले जनाएको छ ।
हालसम्म उपचारका लागि करिब ४० लाख रुपियाँ खर्च भएको र अबको आर्थिक अवस्था नै कमजोर भएपछि सहयोग माग्नु भन्दा कुनै विकल्पै नरहेको परिवारका सदस्यले जनाएका छन् ।
पछिल्लो समय डाक्टरले उपचारका लागि ६ लाख रुपैयाँ लाग्ने जानकारी दिएको बताइएको छ । दाहाल प्रतिष्ठान मकवानपुरले दिनेशको उपचारको लागि अभियान सुरु गरेको छ । दाहाल प्रतिष्ठानको आजिवन सदस्य समेत रहेका दिनेश दाहालको उपचाररार्थ आर्थिक सहयोग गर्नको लागि प्रतिष्ठानले आग्रह गरेको छ ।
यस अभियान अन्तरगत यसअघि कम अप वीथ १०० अभियानसँगै दाहाल प्रतिष्ठान बागमती प्रदेश समिती, कुमारमणि दाहाल, सिताराम दाहाल (ए), दिपक दाहाल, सरिता दाहाल,सिताराम दाहाल (बी) दुर्गा दाहाल,राजेश्वर दाहाल, बिष्णु दाहाल,तारानाथ दाहाल गुरौखोला, गोपाल दाहाल तथा ईन्द्रप्रसाद सन्जेल रकम सहयोग गरेका थिए । सहयोगको लागि दाहाल प्रतिष्ठान मकवानपुर शाखा नाममा कृषि विकास बैंक हेटौंडामा रहेको खाता नम्बर०५–०८५–०१५७७७६८–०१–८ मा र इ–सेवाबाट ९८५५०७५६०० मा जम्मा गर्न सकिने छ ।
मकवानपुर । घरेलु तथा साना उद्योगलाई सहयोगका कार्यक्रम ल्याउन माग गरिएकाे छ । मकवानपुर घरेलु तथा साना उद्योग संघले कोरोना भाइरस (कोभिड १९) का कारण गरिएको लक डाउन तथा निषेधाज्ञाका कारण उद्योगीहरु मारमा परेको भन्दै आवश्यक सहयोगका कार्यक्रम ल्याउन सरकारसंग माग गरेको हाे ।
संघका महासचिव कुमार पौडेलले बुधबार आज प्रेस विज्ञप्ति जारी गर्दै विगतको नाकाबन्दी र करीब डेढ बर्षको कोभिड १९ का कारण भएको लकडाउनका कारण घरेलु तथा साना उद्योगी आफ्ना व्यवसाय सन्चालन गर्न नसक्ने अवस्थामा पुगेकाले सरकारले आफूहरु लक्षित ठोस कार्यक्रमहरु ल्याउन माग गरेका हुन् ।
विज्ञप्तिमा नेपाल सरकारले तोकेको भन्सार तिरी कच्चा पदार्थ बाहिरी देशबाट समेत आयात गरी तिनै देशहरुमा उत्पादित बस्तुको मूल्यसंग प्रतिस्पर्धा गर्दै उद्योग सन्चालन गर्नु परेको चुनौतीपूर्ण अवस्थामा घरेलु तथा साना उद्योगीहरु कोरोनाको माहामारीबाट थप प्रताडित बन्न पुगेको उल्लेख छ । यस्तै सरकारले आफूहरुको समस्या सुनुवाई नगरेको भन्दै विज्ञप्तिमा आफ्नो पेशालाई निरन्तरता दिन आफ्नो जायजेथा बैंकमा राखी ऋण लिई उद्योगहरु सन्चालन गरिरहेका धेरै घरेलु तथा साना उद्योगहरु ऋणको ब्याज मात्र होइन सावाँ पनि तिर्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ ।
सरकारले लकडाउन भरी ऋणको ताकेता नगर्नु भनी बैंकहरुलाई परिपत्र गरेको भएतापनी त्यसको खासै असर आफूहरुले नदेखेको विज्ञप्तिमा लेखिएको छ । ‘लकडाउन खुकुलो हुनासाथ बैंकको किस्ता, ब्याज, बत्ती, पानी, भाडा र श्रमिकको पारिश्रमिक कसरी बुझाउने भन्ने सोच र चिन्तामा व्याकुल साना उद्योगीहरुलाई आफ्नो उद्योग टोक्नु न बोक्नु अवस्थामा पुगेको छ ।’ विज्ञप्तिमा उल्लेख गर्दै घरेलु तथा साना उद्योगी व्यवसायीहरुलाई बैंकको व्याज, बत्ती, पानी, घरभाडामा विशेष सरकारी प्याकेजको खाँचो परेको अवस्थामा पनि आमनागरिकको जीवन जोगाउन व्यक्तिगत वा समूहगत रुपमा सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेकोबारे गराउन गराइएको छ ।
कोभिडका कारण लागू गरिएको निषेधाज्ञाका कारण हाल प्राय सम्पूर्ण उद्योग बन्द रहेकाले सरकारले ठोस नीति नल्याएमा धेरै साना उद्योगहरु सधैंका लागि बन्द हुने हुँदा सम्बन्धि निकायलाई ध्यान दिन माग पनि प्रेस विज्ञप्तिमार्फत गरिएको छ । ‘माहामारीमा ज्यानको सुरक्षाले प्राथमिकता पाउने भएता पनि त्यसपछिका दिनहरुमा नेपाल सरकारले कुनै ठोस नीति नल्याएमा धेरै साना उद्योगहरु बन्द हुने अवस्थामा रहेको हुँदा समयमा नै सम्बन्धीत निकायको ध्यान जाओस् भनी यो प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउन चाहान्छौं ।’ विज्ञप्तिमा लेखिएको छ ।
अहिले कोरोनाको कहरमा उपचारको निम्ती अस्पतालमा बेड नहुँनु, आइसीयु, अक्सीजन अभाव हुनु तथा खोपको पर्याप्त उपलब्धता गराउनुपर्नेमा सरकार तथा राजनीतिक दलहरुको प्रभावकारी भूमिका नखेलेको बताउँदै सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य उपचारमा लगाउन ध्यानाकर्षण गराउँदै घरेलु उद्योगी व्यवसायीहरुलाई खोपको व्यवस्था मिलाउन पनि महासचिव पौडेलले विज्ञप्तिमार्फत माग गरेका छन् ।
