मकवानपुर । नियमित ओपीडी सेवा नै बन्द गरेर काेराेना संक्रमितको उपचारमा केन्द्रित गरिएको हेटौंडा अस्पतालले आजबाट ओपीडी सेवा सुरु गर्दै छ ।
हेटौंडा अस्पतालका निमित्त मेडीकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार आज विहीबारबाट अस्पतालले नियमित सेवा सुरु गर्न लागेको हो । डा. सापकोटाका अनुसार अब साताको २/२ दिन फरक फरक रोग परीक्षण हुने गरी ओपीडी सञ्चालन गरिनेछ । बाल स्वास्थ्य, स्त्री तथा प्रजनन् स्वास्थ्य, हाडजोर्नी, जनरल मेडिसिन लगायत अस्पतालबाट प्रदान गरिने सेवामध्ये साताको २ दिनका दरले हरेक सेवाको ओपीडी सेवा सञ्चालन हुनेछ ।
जिल्लाकै ठूलो सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा दैनिक सयौं सर्वसाधारण स्वास्थ्य उपचारबाट बञ्चित हुनु परेको थियो । कोरोना भाइरसको महामारीपछी नियमित स्वास्थ्य जाँच गर्नुपर्नेहरुलाई समस्या हुँदै आएको थियो । हेटोंडा अस्पतालमा समान्य अवस्थामा औषत ४ सय जनाले ओपीडी सेवा लिने गरेका थिए । निजी अस्पतालमा ओपीडी सञ्चालन भइरहने तर सरकारीमा ओपीडी बन्द हुँदा सर्वसाधारणमा आर्थिक भार समेत पर्दै आएको थियो ।
हेटौंडा अस्पतालका केही चिकित्सक कोभिड वार्डमा पनि खटिने भएकाले कोभिड वार्डमा नखटिने चिकित्सकलाई प्राथमिकतामा राखेर ओपीडी सेवा सञ्चालन गरिने डा. सापकोटाले बताए । आपतकालीन अवस्थामा कोभिड वार्डमा खटेका चिकित्सकले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ओपीडी सेवा प्रदान गर्न सक्ने व्यवस्था मिलाइने अस्पतालले जनाएको छ ।
काेराेना संक्रमितकाे चाप धान्य नसकेकाेले अस्पतालले गत बैशाख २० गतेबाट अर्काे सूचना नभएसम्मकाे लागि ओपिडि सेवा बन्द गरी काेराेना संक्रमितकाे लागि थप वेडकाे व्यवस्था गरी उपचार गर्दै आएकाे थियाे ।


