मकवानपुर/ वर्तमान राजनीतिक वातावरणको कारण निष्पक्ष रुपमा विश्वविद्यालय चलाउन सक्ने अवस्था नभएको बताइएको छ ।
‘विश्वविद्यालयको भूमिका कम छैन, राजनीतिक आडको भरमा उपकुलपतिहरुलाई धक्याएर, तर्साएर नीतिलाई मिचेर हात लिने परिपाटीको अन्त्य हुनै पर्छ’ बुधबार जुम प्रविधिको प्रयोग गर्दै भर्चुअल रुपमा आयोजना गरिएको एक कार्यक्रममा कृषि तथा वन विश्व विद्यालयका उपकुलपतिका डाक्टर पुण्यप्रसाद रेग्मीले यस्तो बताएका हुन् ।
‘हामी देशको लागि केही गछौ, होनाहार दक्ष तथा क्षमतावान युवाहरु देशलाई दिन्छौ भनेर लागिपरेका छौ, तर, पार्टीको भागबण्डामा पार्टीको सिफारिसमा आएकाहरुको कारण समस्या छ’ उनले भने ‘अध्ययन बिना पार्टीको आडमा आएकाहरुबाट कस्तो योगदानबाट हुन्छ प्राज्ञिक क्षेत्रमा ?’
विश्वविद्यायमा राजनीतिक संगठनलाई बन्देज नै गर्नुपर्ने उनले बताए । विश्वविद्यालयमा प्रतिष्पर्धा हुनै नदिने परिपाटीको रहेको र यसले दक्षता हासिल गर्ने हौसला विस्तारै कम हुदै आएको उनले बताए । ‘विश्वविद्यालयलाई स्वतन्त्र रुपमा प्राज्ञिक थलो बनाउने हो भने भोलीको लागि मुलुकलाई चाहिने दक्ष जनशक्ति प्रयाप्त दिनसक्छौ, राजनीतिक, व्यवसायिक, शैक्षिक सबै क्षेत्रको लागि क्षमतावान् जनशक्ति दिनसक्छ । ‘विश्वविद्याय स्तरको शिक्षा ध्वस्त भएकै राजनीतिको कारण हो’ डा. रेग्मीले भने ‘विश्वविद्यालयलाई अर्को संसद रुपमा लिने गरीन्छ, यसलाई क्षमता र दक्षता हासिल गर्ने राम्रो वातावरण बनाइयोस् ।’ आजको युवा पुस्तालाई राजनीतिमा आउने प्रेरणा दिने सक्ने विश्वासिलो आधार समेत नभएको सहभागीहरुले बताएका थिए ।
राजनीतिक नेतृत्वको द्रुत मार्ग विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सबै नीतिको मुल नीतिको भूमिकामा रहनु पर्ने राजनीति नै सकारात्मकबाटोमा नरहेको भन्दै गुनासो गरेका थिए ।
कार्यक्रममा प्रोफेसर डा. नवराज खतिवडाले राजनीतिक नेतृत्वमा द्रुतमार्ग बारे सहजिकरण गरेका थिए । वर्तमान राजनीतिक संस्कारको रुपमा विरासत सम्हाल्न, नाता कुटुम्बको माध्यम, आरक्षण नीतिको सहारा, राजनैतिक समिकरण मिलाउन, दललाई आर्थिक सहयोग गरेर तथा गैर–राजनैतिक क्षेत्रको प्रसिद्धिको सहारामा हाल राजनीतिक नेतृत्वको द्रुत मार्गको प्रयोग गर्ने गरिएको भएपनि यो कालन्तरमा प्रभावकारी नदेखिएको विश्लेषण डा. खतिवडाले सुनाए ।
कार्यक्रममा पूर्व मन्त्री गणेश शाहाले हाल कोरोना संकटको बेलामा राजनीतिकको विकास जुन रुपमा हुनु पर्ने थ्यो, त्यो विल्कुलै नभएकोमा गुनासो गरे । यसैगरी नेपाली काँग्रेसका नेता, पूर्व मन्त्री लक्ष्मण घिमिरेले हाल ‘ब्रेन ड्रेनको समस्या समाधान गर्नु सबैभन्दा ठुलो चुनौति रहेको बताए ।

‘रेमिटान्सको आशामा हाम्रा पाखुरीहरु खाडि मुलुकमा हराए, अबको नेतृत्व को त ?’ उनले प्रश्न गरे । ६०÷६५ वर्ष नाघेका राजनैतिक नेतृत्वबाट अब के अपेक्षा गर्ने, अबको १० वर्षपछि राजनीतिमा उत्तराधिकारी को होलान्, म त देख्दिन,’ पुर्व मन्त्री घिमिरेले भने । हालका ८० प्रतिशत नेताका छोराछोरी पीआर लिएर विदेशमै स्थायी नागरिक भएको तथ्याङ्क प्रस्तुत गर्दै उनले राजनीति नयाँ पुस्ताको रोजाइ नहु नसकेकोमा दुख लागेको बताए । यसैगरी पूर्व मन्त्री कल्पना धमलाले भने निराशा हुनुभन्दा अझै युवा पुस्तालाई प्रोत्साहन गर्नतर्फ लाग्नु पर्ने बताइन् । ‘हालको नेतृत्वले नयाँ पुस्तालाई विश्वासको आधार बनाउनु हालको नेतृत्वको कर्तव्य हो, संभावना छैन भनेर पन्छिने कुरै हैन’ उनले भनिन् ।
कार्यक्रममा प्रोफेसर धर्मराज रेग्मीले सिण्डेकट बिना राजनीतिमा प्रवेश गर्न नपाइने चुनौति सबैभन्दा बढी घातक भएको बताए । ‘सिण्डिकेट तोड्नको लागि ठुलो संघर्ष आवश्यक छ’ उनले भने ‘आफ्नै सन्तानलाई देशको विकासका बारेमा विश्वास दिलाएर देशमै टिकाउन सक्नु पर्छ, देशको लागि आवश्यक युवाशक्ति युरोप र खाडि मुलुकमा नै छ, पुराना नेतृत्वहरु छोड्न नचाहने नयाँ पुस्ताहरु राजनीतिमा आउन नसक्ने सिण्डिकेटको प्रणाली फेर्नै पर्छ ।’
नयाँ पुस्ताको नेतृत्वमा आशा लाग्दा नेतृत्व क्षमता पनि नदेखिएको उनले बताए । ‘मन्त्रीको पीय बनेर आउने संगठनका नेताहरुले कसरी देश चलाउलान् भोली भन्ने लाग्छ’ उनले भने ‘नयाँ पुस्तामा जोश, जाँगर र क्षमता भन्दा झोला बोकेर मान्छे रीजाउने र पदमा पुग्ने विचार हाबि हुने गरेको छ ।’
अन्तरक्रियामा राष्ट्रिय सभाको पूर्व सदस्य धना न्यौपाने खतिवडाले महिला शिक्षाको अवस्थालाई सुधार्नु पर्ने, युवा महिलालाई नेतृत्वदायि क्षमता बढाउनेमा ध्यान दिनु पर्ने बताइन् । द्रुत गतिमा योग्य नेतृत्व निर्माण गर्न राजनीतिको नाममा कमाइखाने र पहुँचको प्रयोग गर्ने नीति तोडिनु पर्ने उनले बताइन् । वर्तामानको जस्तो छलकपटको अन्य र विश्वासको वातावरण हुनुपर्ने ।

