जबजब झरी पर्न थाल्दछ,
तिम्रो याद विछट्टै आउँछ
कसैगरी रोक्न सक्दिन तिम्रो यादलाई,
न रोक्न सक्छु पानीका यि निरन्तर झरीरहेका थोपाहरु
बरु, आत्मा ग्लानिले म आफैं पानी पानी हुन्छ ।
यस्तो लाग्छ…
रातभर पानीले लफ्रक्क भिजेको
त्यो आँगनको लेउमा
तिमी विहानै पानीको गाग्रीसँगै लड्यौ कि ?
आफैंभन्दा भयङ्कर ठुला घाँस, सोतर र दाउराको बारी बोकेर
कसरी उक्लियौ होला तिमी,
झिसमिसे मै त्यो चिप्लो कान्लाहरुबाट ।
हिजो पसिनाले छपक्क भएका तिम्रो चोली र फरीयाहरु
आज झरीमा रुझेर अमिला भएका होलान्,
झरीमा घाँस, सोतर र पँधेरी भ्याएर,
चिसो चुल्होमा बडो मुस्किलले आगो फू…फू… गर्दै
तातो पानी तताएर एक गिसाल सुरूप्प पिएर,
फेरी उसैगरी दिनभर रुझ्नको लागी
पर्म तिर्न उकाली चढ्यौ काकीको खेततिर,
साँझ, थकित र रुझेको ज्यान लतार्दै लतार्दै
हतारीदै गोठमा हाजिर भयौ, ति चौपायका स्याहारको लागी,
रुझिरहेकै शरिरले चौपायको लागि न्यानाेपन भरेर,
फेरी त्यै चिप्लो पंधेरी, फेरी त्यै चिसो चुल्होमा
खुइया खुइया…., ठुइया ठुइया…. ।
रोगि शरिर लखतरान भएर आधा रातमा
ओछ्यानमा पुग्दा छाना चुहिएर लफ्रक्क भिजेकोे
त्यो ओछ्यानले कसरी साथ देला
थाकानले ढल्नै लागेको तिम्रो त्यो बुढो शरिरलाई ?
रुझेकै शरिर,
रुझेकै बिछ्यौना,
सायद रुझेकै तिम्रो मन,
रुझेरै बिहानीको छिसमिसे पर्खदो होला ।
वर्षातमा न छाना फेरेर ओत बन्न सके तिम्रो लागि
न नाना फेरेर न्यानोपन दिनसके
न उकालीमा तिमीलाई आड दिन सके, न ओरालीमा
न पधेंरामा साथ भए, न अधेरी रातहरुमा,
तिम्रा अभाव र दुःखलाई नदेखेझै गरिहरने
मसँग तिमीले कहिल्यै भनेनौः “छोरी म अभावमा छु ।”
रचनाकालः२०७८ जेठ १३ गते, हेटाैंडा–५ सिंचाइटाेल

