मकवानपुर । नेकपा एमालेबाट हेटौंडा उपमहानगरकार्यपालिका सदस्यमा विजयी भएकाहरुको विरोधको कारण ३ दिन अघि स्थगित नगर सभा आज दिउँसो १ बजेलाई बोलाइएको छ ।
एमालेबाट वियजी कार्यपालिका सदस्यहरुले आफूहरुको माग पुरा गर्न दबाब दिंदै नगरसभामा अनुपस्थित भएपछि स्थगित नगरसभा नगर प्रमुख मिनाकुमारी लामाले आजको लागि बोलाएकी छन् ।
कार्यपालिका बैठकमा आफूहरुको माग बेवास्ता गरेको भन्दै नगर सभामा एमालेबाट विजयी सदस्यहरु सहभागी नभएका हुन् । बहुसंङ्ख्य सदस्यहरु अनुपस्थित हुदा गाँउ नगर जिल्ला सभा सन्चालन ऐन २०७५ को दफा ५ को उपदफा १ बमोजिम गणपुरक संख्या नपुगेकोले १० असारमा बोलाइएको नगरसभा स्थगित गरिएको थियो ।
उक्त दफाको उपदफा २ बमोजिम नगर प्रमुखद्धारा अर्को नगरसभा आज आव्हान गरिएको हो । कार्यपालिकाका एमाले सदस्यहरुले कार्यपालिका बैठक सञ्चालन कार्यविधि शंसोधनको माग राख्दौ लगातार बैठकमा अनुपस्थित हुँदै आएका छन्, यता गठबन्धनबाट विजयी मेयर उपमेर र कार्यपालिका सदस्यहरुले कार्यविधि सच्याउनमा चासो देखाएका छैनन् ।
नगरप्रमुख र उपप्रमुखले हठ र घमण्ड गरि बैठक स्थगित गरेको आरोप लगाउँदै आएको नेकपा मकवानपुरले आफूहरुको माग सम्बोधन नभएको कारण आजको सभामा पनि उपस्थित नहुने बताएको छ।
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न २ अर्ब ७१ करोड ७९ लाख बजेट आज १० असारमा सार्वजनिक गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम र बजेटको तयारी गर्दा वडा अध्यक्षहरुसँग कुनै पनि सहकार्य नगरिएको प्रति वडा अध्यक्षहरुले आक्रोस पोखेका छन् ।
१८ जना कार्यपालिका सदस्य रहेको एमालेले बैठक संचालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको ब्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको छ । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेबाट १८ जना, कांग्रेसबाट ९ तथा नेकपा एकिकृत समाजवादीबाट २ जना सदस्यहरु रहेका छन् । नगरसभामा पनि नेकपा एमाले ५१ जना सहित पूर्ण बहुमतमा छ । कानुनी व्यवस्था अनुसार असार १० गते सवै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पर्ने तथा असार मसान्तमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ ।
मकवानपुर । जल तथा मौसम विज्ञान बिभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रहेको छ। देशभर बर्षाको सम्भावना रहेको छ । केही स्थानमा बर्षा भैरहेको महाशाखाले जानकारी दिएको छ
बागमती प्रदेश सहित देशको ६ प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको तथा सूदुरपश्चिम प्रदेशका भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभावले बदली रहेको महाशाखाले जनाएको छ ।
अहिले देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर सामान्य बदली रहनेछ । पहाडी भू-भागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी प्रदेश, कर्णाली, लुम्बिनी, सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल सरकारकाे निर्देशन बमाेजिम निगम संचालक समितिकाे शनिबारकाे निर्णयले निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे हाे ।
निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । घटाएकाे मूल्य अनुसार अब पेट्रोलको मूल्य १ सय ७९ र डिजेल-मट्टितेलको १ सय ६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो ।

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ हनुमानगेट नजिक बस, ट्याङ्कर र बाइक शुक्रबार एक आपसमा ठोकिँदा घाइते भएकामध्ये ट्याङ्कर चालक सन्जीव रानाको मृत्यु भएको छ । मृत्यु हुने राना बर्दघाट–१ नवलपरासीकाे भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
शुक्रबार विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको ट्याङ्कर र हेटौंडामा विरगंजतर्फ जाँदै गरेको बा ८ ख ६३४६ नम्बरको बस आपसमा ठोक्किएको दुर्घटना भएकाे थियो । बसको पछाडि आइरहेको लु ४६ प ६१३० नम्बरको मोटरसाईकल पनि बसमा ठोकिएकाे थियाे । दुर्घटनामा ट्याङ्कर चालक राना सहित १६ जना घाइते भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे थियाे । घाइते रानालाई शुक्रबार राति नै उपचारका लागि चितवन पठाइएकोमा शनिबार बिहान डाक्टरले मृत्यु घोषणा गरेको हो ।
घाइतेमध्ये ट्याङ्कर चालक र मोटरसाइकल चालकलाई उपचारका लागि चितवन पठाइएको थियो । मोटरसाइकल चालकको अहिले चितवनमा उपचार भईरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ । यस्तै अन्य घाइते १४ जनालाई उपचारका लागि हेटौंडा अस्पतालमा राखिएकोमा केही भने डिस्चार्ज भइसकेका प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आव २०७९।०८०को लागि ६७ करोड ४४ लाख १२ हजारको अनुमानित बजेट प्रस्तुत गरेकाे छ ।
शुक्रबार आयोजित दोस्रा गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीले गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै कुल ६७ करोड ४४ लाख २२ हजार बराबरको अनुमानित आयव्यय पेश गरेकी हुन् ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष नेपालीले आगामी आर्थिक वर्षमा कुल बजेटको पुँजिगततर्फ ३२ करोड ७६ लाख ७ हजार अर्थात (४८ दशमलव ५८ प्रतिशत) र चालु तर्फ ३४ करोड ६८ लाख १५ हजार अर्थात (५१ दशमलव ४२ प्रतिशत) बजेट विनियोजन गरेको जानकारी गराइन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि जनताका समस्याहरुलाई आत्मसाथ गरी शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, मानवीय विकास एवम् गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका विकासमा सबै पक्षसँग सहकार्य गर्दै अघिल्लो सरकारको अनुभव एवम् पुरा गर्न बाँकी कार्यहरुलाई महत्व दिएर बजेट निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताए ।
