मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आव २०७९।०८०को लागि ६७ करोड ४४ लाख १२ हजारको अनुमानित बजेट प्रस्तुत गरेकाे छ ।
शुक्रबार आयोजित दोस्रा गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीले गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै कुल ६७ करोड ४४ लाख २२ हजार बराबरको अनुमानित आयव्यय पेश गरेकी हुन् ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष नेपालीले आगामी आर्थिक वर्षमा कुल बजेटको पुँजिगततर्फ ३२ करोड ७६ लाख ७ हजार अर्थात (४८ दशमलव ५८ प्रतिशत) र चालु तर्फ ३४ करोड ६८ लाख १५ हजार अर्थात (५१ दशमलव ४२ प्रतिशत) बजेट विनियोजन गरेको जानकारी गराइन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि जनताका समस्याहरुलाई आत्मसाथ गरी शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, मानवीय विकास एवम् गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका विकासमा सबै पक्षसँग सहकार्य गर्दै अघिल्लो सरकारको अनुभव एवम् पुरा गर्न बाँकी कार्यहरुलाई महत्व दिएर बजेट निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताए ।

