मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ हनुमानगेट नजिक बस, ट्याङ्कर र बाइक शुक्रबार एक आपसमा ठोकिँदा घाइते भएकामध्ये ट्याङ्कर चालक सन्जीव रानाको मृत्यु भएको छ । मृत्यु हुने राना बर्दघाट–१ नवलपरासीकाे भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
शुक्रबार विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको ट्याङ्कर र हेटौंडामा विरगंजतर्फ जाँदै गरेको बा ८ ख ६३४६ नम्बरको बस आपसमा ठोक्किएको दुर्घटना भएकाे थियो । बसको पछाडि आइरहेको लु ४६ प ६१३० नम्बरको मोटरसाईकल पनि बसमा ठोकिएकाे थियाे । दुर्घटनामा ट्याङ्कर चालक राना सहित १६ जना घाइते भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे थियाे । घाइते रानालाई शुक्रबार राति नै उपचारका लागि चितवन पठाइएकोमा शनिबार बिहान डाक्टरले मृत्यु घोषणा गरेको हो ।
घाइतेमध्ये ट्याङ्कर चालक र मोटरसाइकल चालकलाई उपचारका लागि चितवन पठाइएको थियो । मोटरसाइकल चालकको अहिले चितवनमा उपचार भईरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ । यस्तै अन्य घाइते १४ जनालाई उपचारका लागि हेटौंडा अस्पतालमा राखिएकोमा केही भने डिस्चार्ज भइसकेका प्रहरीले जनाएकाे छ ।

