मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेको बजेट सर्वसम्मत स्वीकृत भएको छ ।
प्रदेशको अर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ लाई पारितको लागि संसदमा पेश गरेको प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको सभामुख सानुकमार श्रेष्ठले बताए ।
प्रदेश सरकारले आजै ३ चरणमा विनियोजित विधेयकमाथिको बाँकी छलफल गरेको थियो । छलफल सकिएपछि आजै विनियोजि विधेयक २०७९ सर्वसम्मतले स्वीकृत गरिएको हो । १२ असारदेखि बजेट माथिको छलफल सुरु गरिएको थियो ।
प्रदेश सरकारले गत १ असारमा आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट प्रस्ताव गरिएको थियो ।
कूल विनियोजित बजेट मध्ये चालु तर्फ १९ अर्ब ०२ करोड ४१ लाख, पुँजीगत तर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरण तर्फ ८ अर्व ३५ करोड २७ लाख र वित्तीय व्यवस्था तर्फ २ अर्ब विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालु तर्फ २७ प्रतिशत, पुँजीगत तर्फ ५८.५८ प्रतिशत, वित्तीय हस्तान्तरण तर्फ ११.७७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २.८१ प्रतिशत रहेको छ ।
प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।
मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । अर्को एकजना बेपत्ता भएका छन् ।
राक्सिराङ ४ स्थित मनहरी खोलाको गोराङ्दी दोभानमा खोल तर्ने क्रममा सांझ ५ बजे तिर खोलाले बगाएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । कैलास कालिकाटरबाट आउने खोला र राक्सिराङ खैराङबाट आउने खोलाको संगम गोराङ्दी दोभानमा घटना भएको हो ।
उनीहरूलाई खोलाले बगाएको स्थानीयले देखेको तत्काल खोजी गर्दा कैलाश गाउंपालिका ७ का सुनबहादुर प्रजाको शव भेटिएको थियो ।
गाउँपालिका अध्यक्ष मल्लका अनुसार अर्को एक जना अझै बेपत्ता छन् । बेपत्ता हुने को थिए भन्ने खुल्न सकेको छैन । लगातार झरि पर्दा यस क्षेत्रको बाटो जोखिमपूर्ण भएको मल्लले बताए । खोलाको बाटोको तुलनामा पाखोको बाटो सुरक्षित हुंदा हुदै खोलै खोला हिड्दा दुर्घटना भएको उनले बताए ।
उद्दारको लागि राक्सिराङको चैपुरबाट प्रहरी टोली, गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ र स्थानीय युवाहरू अहिले राती पनि खटिरहेको अध्यक्ष मल्लले बताए ।
मकवानपुर । मकवानपुर हुंदै काठमाडौ जोड्ने ३ वटै छोटो मार्गहरू अवरुद्ध भएका छन् ।
२ दिनदेखि निरन्तर वर्षा भएपछि मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–४ केराघारीमा पहिरो गएको छ । पहिरो गएपछि हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडक अवरुद्ध भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । यस्तै हेटौंडाबाट काठमाडौ जोड्ने अर्को मार्ग पनि बन्द रहेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ रामचन्द्र भञ्ज्याङमा पनि पहिरोले बाटो अवरुद्ध हुंदा हेटौंडा-सिस्नेरी हुंदै काठमाडौ जाने बाटो पनि अवरुद्ध भएको छ ।
हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ वर्षासँगै सवारी आवागमनमा जोखिम भएको भन्दै रोक लगाइएको छ । निर्माणकै क्रममा रहेको उक्त सडकमा बर्षाको कारण हुन सक्ने खतरालाई मध्यनजर गर्दै सवारी आवातजावतमा रोक लगाइएको प्रवक्ता कार्कीले बताए ।
मकवानपुरसहित बारा, पर्सालगायतका तराइको जिल्लाबाट मकवानपुरको हेटाैडा–भीमफेदी–कुलेखानी–सिस्नेरी हुंदै र मकवानपुरको भिमफेदी कुलेखानी फाखेल हुंदै दैनिक हजाराैकाे संङ्ख्यामा टाटा सुमो तथा अन्य साना गाडी संचालन हुने गरेका छन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले कृषक र कृषिको बिकासलाई प्राथमिकता दिने नगर प्रमुख मिनाकुमारी लामाले बताएकी छिन् । १९ औं धान दिवसकाे अवसरमा हेटाैडाकाे १७ र ११ नम्बर वडामा आयाेजित धान राेपाईं कार्यक्रममा कृषक र कृषिको बिकासका लागि बजेटै छुट्याएर काम गर्ने उनले बताइन् ।
बुधबार मनाइएकाे धान दिवसमा हेटौंडा ११ को राप्ती सिंचाइ र हेटाैडा १७ को गुवाबारीमा आयोजित कार्यक्रममा कृषि क्षेत्रको बिकास र प्रवर्धनमा उपमहाननगरले कुनै कसर बाँकी नराख्ने लामाले बताइन् । लामाले कृषि, पशुपालन र अन्य खेतीका लागि बिषेश योजनै बनाएर काम गर्ने तयारीमा उपमहानगर रहेको जानकारी दिइन् । अहिले सम्म बास्तबिक किसारलाई सरकारले भेट्न नसकेको अवस्थामा हामी बास्तविक किसानकाे कार्यस्थलमै पुगेर काम गर्ने तयारीमा रहेको उनले बताइन् ।
‘उपमहानगरका हरेक वडामा कृषि प्राविधिकको व्यवस्था गरिने छ’ नगर प्रमुख लामाले भनिन्– ‘आगामी आर्थिक बर्षको बजेटमा कृषिका हरेका क्षेत्रलाई समेटेर काम गर्ने तयारीमा उपमहानगर रहेको छ । उनले कृषिको पकेट क्षेत्र, पशुपालनका योजना सहित आउन कृषक समुहहरुलाई आव्हान गरिन् ।
कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँले मानो रोपेर मुरी उव्जाउने पेशामा रहेका सम्पुर्ण किसानलाई धान दिवसको शुभकामना दिएका थिए । उनले हामी उपमहानगरलाई सबै हिसाबले अव्बल बनाउने अभियानमा रहेकाले सबैको सहयोग आवश्यक रहेको बताए । कृषि कर्ममा रहेका सम्पुर्ण किसानलाई समेटेर आगामी आर्थिक वर्षबाट उल्लेखनीय काम गर्ने बानियाँले बताए ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।
मनसुन सुरु भएपछी बुधबार प्रेस वक्तव्य जारी गर्दै मन्त्री लामाले देशका विभिन्न स्थानमा भारी बर्ष भईरहेकाले बाढि पहिरो, डुवान कटान जस्ता प्राकृतिक विपद आउन सक्ने भएकाले यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई अनुरोध गरेका हुन् ।

उनले विपदका कारण हुन सक्ने धनजनको क्षति कम गर्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुमा द्रुत प्रतिकार्य टोली र आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न भनेका छन् । विपद वा यसका कुनै संकेत देखिएमा यथाशिघ्र उपलव्ध सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रका बासिन्दा र सरोकारवालाहरुलाई सुचित गरी मानवीय र भौतिक क्षति न्यूनिकरण गर्न सहयोगका लागि मन्त्री लामाले सबैसंग अनुरोध गरेका छन् ।
मन्त्री लामाले प्राकृतिक विपद आएमा खानेपानी प्रदुषण र सरसफाईको कमीको कारणले विभिन्न किसिमका संक्रामक रोग फैलन सक्ने भएकाले यसका लागि आवश्यक औषधी एवं जनशक्ति तयारी अवस्थामा राख्न र कुनै पनि विपद देखा परेको अवस्थामा सहयोग आवश्यक परेमा मन्त्रालयमा जानकारी गराउन समेत अनुरोध गरेका छन् ।
बागमती प्रदेशकाे काभ्रे सिन्धुपाल्चाेक धादिङ मकवानपुर रसुवा नुवाकाेटलगायतकाे क्षेत्रमा मनसुन सुरु भएसँगै बाढी पहिराेकाे जाेखिम बढेकाे छ । तर सराेकारवालाहरुले पूर्व तयारी गरेका छैनन् ।
