मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले कृषक र कृषिको बिकासलाई प्राथमिकता दिने नगर प्रमुख मिनाकुमारी लामाले बताएकी छिन् । १९ औं धान दिवसकाे अवसरमा हेटाैडाकाे १७ र ११ नम्बर वडामा आयाेजित धान राेपाईं कार्यक्रममा कृषक र कृषिको बिकासका लागि बजेटै छुट्याएर काम गर्ने उनले बताइन् ।
बुधबार मनाइएकाे धान दिवसमा हेटौंडा ११ को राप्ती सिंचाइ र हेटाैडा १७ को गुवाबारीमा आयोजित कार्यक्रममा कृषि क्षेत्रको बिकास र प्रवर्धनमा उपमहाननगरले कुनै कसर बाँकी नराख्ने लामाले बताइन् । लामाले कृषि, पशुपालन र अन्य खेतीका लागि बिषेश योजनै बनाएर काम गर्ने तयारीमा उपमहानगर रहेको जानकारी दिइन् । अहिले सम्म बास्तबिक किसारलाई सरकारले भेट्न नसकेको अवस्थामा हामी बास्तविक किसानकाे कार्यस्थलमै पुगेर काम गर्ने तयारीमा रहेको उनले बताइन् ।
‘उपमहानगरका हरेक वडामा कृषि प्राविधिकको व्यवस्था गरिने छ’ नगर प्रमुख लामाले भनिन्– ‘आगामी आर्थिक बर्षको बजेटमा कृषिका हरेका क्षेत्रलाई समेटेर काम गर्ने तयारीमा उपमहानगर रहेको छ । उनले कृषिको पकेट क्षेत्र, पशुपालनका योजना सहित आउन कृषक समुहहरुलाई आव्हान गरिन् ।
कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँले मानो रोपेर मुरी उव्जाउने पेशामा रहेका सम्पुर्ण किसानलाई धान दिवसको शुभकामना दिएका थिए । उनले हामी उपमहानगरलाई सबै हिसाबले अव्बल बनाउने अभियानमा रहेकाले सबैको सहयोग आवश्यक रहेको बताए । कृषि कर्ममा रहेका सम्पुर्ण किसानलाई समेटेर आगामी आर्थिक वर्षबाट उल्लेखनीय काम गर्ने बानियाँले बताए ।

