मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेको बजेट सर्वसम्मत स्वीकृत भएको छ ।
प्रदेशको अर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ लाई पारितको लागि संसदमा पेश गरेको प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको सभामुख सानुकमार श्रेष्ठले बताए ।
प्रदेश सरकारले आजै ३ चरणमा विनियोजित विधेयकमाथिको बाँकी छलफल गरेको थियो । छलफल सकिएपछि आजै विनियोजि विधेयक २०७९ सर्वसम्मतले स्वीकृत गरिएको हो । १२ असारदेखि बजेट माथिको छलफल सुरु गरिएको थियो ।
प्रदेश सरकारले गत १ असारमा आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट प्रस्ताव गरिएको थियो ।
कूल विनियोजित बजेट मध्ये चालु तर्फ १९ अर्ब ०२ करोड ४१ लाख, पुँजीगत तर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरण तर्फ ८ अर्व ३५ करोड २७ लाख र वित्तीय व्यवस्था तर्फ २ अर्ब विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालु तर्फ २७ प्रतिशत, पुँजीगत तर्फ ५८.५८ प्रतिशत, वित्तीय हस्तान्तरण तर्फ ११.७७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २.८१ प्रतिशत रहेको छ ।
प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।

