मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । अर्को एकजना बेपत्ता भएका छन् ।
राक्सिराङ ४ स्थित मनहरी खोलाको गोराङ्दी दोभानमा खोल तर्ने क्रममा सांझ ५ बजे तिर खोलाले बगाएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । कैलास कालिकाटरबाट आउने खोला र राक्सिराङ खैराङबाट आउने खोलाको संगम गोराङ्दी दोभानमा घटना भएको हो ।
उनीहरूलाई खोलाले बगाएको स्थानीयले देखेको तत्काल खोजी गर्दा कैलाश गाउंपालिका ७ का सुनबहादुर प्रजाको शव भेटिएको थियो ।
गाउँपालिका अध्यक्ष मल्लका अनुसार अर्को एक जना अझै बेपत्ता छन् । बेपत्ता हुने को थिए भन्ने खुल्न सकेको छैन । लगातार झरि पर्दा यस क्षेत्रको बाटो जोखिमपूर्ण भएको मल्लले बताए । खोलाको बाटोको तुलनामा पाखोको बाटो सुरक्षित हुंदा हुदै खोलै खोला हिड्दा दुर्घटना भएको उनले बताए ।
उद्दारको लागि राक्सिराङको चैपुरबाट प्रहरी टोली, गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ र स्थानीय युवाहरू अहिले राती पनि खटिरहेको अध्यक्ष मल्लले बताए ।

