मकवानपुर । बागमती गाउँपालिका ५ का २१ वर्षिय दिकाश लोप्चन अचेल मोबाइल मर्मत मै व्यस्त हुन्छन् । गाउँपालिका कार्यालयको ठ्याक्कै सामुन्ने उनको सानो पसल छ । हेर्दा सानो, तर ठुलो सपना पुरा गर्न सहायता गरिरहेको छ पसलले ।
स्नातक तह चौथो वर्षमा अध्ययनरत उनलाई अध्ययनलगायतको लागि आर्थिक समस्या छैन । परिवारसँग पनि उनले सहयोग लिनु परेको छैन, बरु आर्थिक सहायता गर्दछन् परिवारलाई । नियमित अध्ययनसँगै उनले मोबाइल मर्मतको गर्नेबारे ६ महिना तालिम लिए । तालिम पश्चात ४५ हजार लगानी गरेर पसल सुरु गरे । पसल सुरुवात गर्न नारी सिप सिर्जना केन्द्रले ११ हजार बराबरको समाग्री सहयोग ग-यो ।
अब आफ्नो जीविकाको लागि कुनै समस्या नभएको बताउँछन् उनी । केन्द्रले सामग्री सहयोग गरेसँगै दीगो रुपमा व्यवसाय गर्ने सिपबारे ५ दिने तालिम पनि लिए । सो तालिम र सहायता पाएपछि व्यवसाय चलाउन सजिलो भएको बताउँछन् ।
४५ हजार लगानी गरेका उनले अहिले दिनमै १५ सय कमाउँछन् । “लगानी ४५ हजार त एक महिनामै उठाए उनले” नारी सिप सिर्जना केन्द्रका सामाजिक परिचालक केवल बिकले भने “दिकाशको लगानशिलता युवाको लागि उदाहरणीय छ ।”
“विदेशमा मात्रै पैसा कमाउन सकिन्छ भन्ने छैन, जागँर चाहिन्छ” दिकाश भन्छन् “हामी थोरै लगानी गरेर आफ्नै देशमा आफ्नै गाउमा ब्यापार व्यवसाय वा अन्य कुनै न कुनै काम सुरु गर्न सक्छौ ।” सबै सफलता मिल्ने महान व्यक्तिहरुले पनि सुरुवात सुन्य लेभलबाट नै सुरु गरेका कथ पढेर आफूलाई काम गर्ने हिम्मत जागेको बताउँछन् उनी । “समस्या बाधा आएता पनि धैर्यता र सहनशीलताले एक दिन अवश्य सफलता मिल्नेछ” उनले भने । लोप्चन झण्डै १ वर्षदेखि यो पेशमा छन् ।
बागमती गाउँपालिका २ बजार टोलकी सोनी माझिको दैनिकी बंगुरको स्याहारमा बित्छ । पाठापाठी सहित गरी झण्डै २ दर्जन बंगुर पालिकी छिन् सोनीले । बेकम्मा बस्नुपर्दा मनोसामाजिक समस्या हुने गरेको बताउने उनी अब भने बंगुरसँगै खोरमै रमाउँछिन् । “काममा व्यस्त भएपछि मनमा अनेक कुरा नखेल्ने रैछ, कामकै ध्यान हुने, आफू नि स्वस्थ्य हुने, आम्दानीको बाटो पनि बन्ने” उनले भनिन् “थोरै लगानीमा सहयोग पाएपछि आफूले अरु पनि थपेर पाल्न सक्छु भन्ने लाग्यो ।”

नारी सिप सिर्जना केन्द्रले उनलाई बंगुर व्यवसायको लागि ४ वटा बंगुर सहयोग गरेको थियो । “४ पाल्ने मेहनतमा १० पाल्न सक्छु भन्ने आंट आयो अनि थपें” उनले भनिन् “अहिले सबै गाभिन (गर्भिणी) छ, सबैले पाठापाठी दिंदा त राम्रो आम्दानी हुनेछ।” गत मंसिरमा संस्थाले उनीहरुलाई सहयोग गरेको थियो ।
बंगुर वितरण गर्नु अघि केन्द्रले पालनको बारेमा २ दिने व्यवसायीक सिपसंगै ७ दिन तालिम दिएको थियो । सानोतिनो समस्या र दाना पानीको मात्रा सोनी आफैं हेर्न सकिन्छन् । “घरमा उसै बस्दा खालि दिमाग के के सोच्न आउँथ्यो, तनाव हुन्थ्यो, अब कामले भ्याई नभ्याई हुदा, केहि तनाव पनि हुन्न, म त बंगुरसंगै गित गाउंदै काम गरिराहुन्छु, औधि खुसि छु, आफ्नो कामको क्षमता नचिनेर रहेछ म आफैं तनावमा थिए” उनले भनिन् । उनलाई खोर निर्माणमा बागमती गाउँपालिकाले अनुदान प्रदान गरेको छ ।
उनीसँगै स्थानीय सुन्तली माझीले पनि १२ वटा बंगुर पालेकी छिन् । यसबाट आफ्नो आय आर्जनमा निकै राहत पाएको सुन्तलीले बताइन् ।

यसै वडाको टाँडीचोककी दहमाया पुलामी अचेल टकाटरको टनेलोको स्याहारमा व्यस्त हुन्छिन् । “पहिलो अचार खाने रहर हुँदा टमाटर किन्थे अहिले बेचर घरखर्च चलाएको छु” उनले भनिन् “थोरै दुख गरेर पनि पैसा कमाउन सकिएला भन्ने सोचकै थिएन मैले त ।”
उनले हाँस्दै भनिन् “करेसा बारी मै यस्तो पैसा कमाउँन सकिने रहेछ, हामीले नै अल्छि गरेर रहेछ ।” केन्द्रले नै टनेलो निर्माणको लागि र बिरुवा समेत सहयोग गरेपछि आफूले सजिलै टमाटर र खोर्सानी उत्पादन गरेको उनले सुनाइन् ।केही लट टमाटर बेचेर, घरमै खर्च भएको र अबको आम्दानीबाट चाँही अर्को टनेलो थप्ने योजना रहेको उनले बताइन् ।

“करेसाबारीमा छ्यास्स दुइ तीन बोट लगाउथेउ, फले खाइन्थ्ये, नत्र वास्तै हुन्थेन, अब त धेरै लगाएपछि माया र स्याहार गर्छौ, आम्दानी पनि राम्रो छ” उनले भनिन् “दुख हैन तरीका जान्नु पर्ने रहेछ ।” उनीहरुलाई टनेलो निर्माण गरेर बिरुवा वितरण गरेर, थोपा सिँचाइको व्यवस्था समेत संस्थाले गरेको नारी सिप सिर्जना केन्द्रकी फिल्ड संयोजक गिता अर्यालले बताइन् ।
यसैगरी यसै पालिकाको वडा नम्बर ४ को पाँचपाण्डवमा बोयर प्रजातिको बाख्राको बोका केन्द्रले सहयोग गरेपछि ब्याडे बोकाबाट उन्नत प्रजातिको पाठापाठी उत्पादनमा सहयोग भएको छ । महिला समूहको जिम्मेवारीमा रहने गरी प्रदान गरिएको बोयर प्रजातिको बोकाबाट यो क्षेत्रमा सयभन्दा बढी पाठापाठी उत्पादन भएका छन् ।

अर्यालका अनुसार यस गाउँपालिकाको वडा २ मा १७ घरलाई ४ वटाको दरले बंगुर प्रदान गरिएको थियो, यसबर्ष १६ जनालाई दिने योजना रहेको छ । यसैगरी वडा १ देखि ५ सम्म ४८ घरलाई टनेल तरकारी खेतीको लागि सहयोग गरिएको थियो । यसैगरी वडा ३ को १६ जनालाई बाख्रा र सबै वडामा २० वटाका दरले कुखुरा दिएको थियो । ग्रामिण क्षेत्रमा आर्थिक वृद्धि भइ, स्कुल पढाउन र घरखर्चमा यसले धेरै सहयोग पुर्याएको फिल्ड संयोजक अर्यालले बताइन् ।
मकवानपुरमा मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रबर्द्धन परियोजना अन्तरगत लागु गरिएको यो कार्यक्रमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा युवाहरुले राहत पाएका छन् । मकवानपुर जिल्लाको राक्सिराङ र बागमती गाउँपालिकामा यो परियोजना लागु गरिएको परियोजना संयोजक ज्योती बम्जनले बताइन् । युवाहरुलाई स्वदेशमै रहेर उद्यम गर्न आत्म निर्भर रहन धेरै सहायता पुगेको उनले बताइन् ।

आवो अन्तरास्ट्रिय संस्थाको आर्थिक सहयोगमा नारी सिपद्वारा यो परियोजना लागु भएपछि युवाहरुलाई स्वरोजगारमा लाग्न प्रेरणा मिलेको केन्द्रको अध्यक्ष सरस्वती बर्तौलाले बताइन् । “जीविकोपार्जनको लागि असुरक्षित बराइसराई गर्ने, विदेश जाने र दुख पाउने, कष्टकर जीवनबाट छुट्कारा दिलाउने हाम्रो लक्ष्य हो” अध्यक्ष बर्तौलाले भनिन् । युवालाई कुनै न कुनै रुपमा आफ्नो गाउँठाउँमा रहेर स्वरोजगार, सिर्जनशील र आत्मानिर्भर बनाउने र जोखिमबाट बचाउँने अभियानमा संस्थाले सहयोग गरेको अध्यक्ष बर्तौलाले बताइन् ।
केन्द्रले जोखि वर्गको उत्थानको लागि यो परियोजना लागु गरेको भएपनि लाभग्राही सबैले आफ्नो लागि संघर्ष कम गरेको स्थानीय जनप्रतिनिधिहरुले भनाइन् छ । जुन रुपमा सहायता र सहयोग प्राप्त भएको छ, त्यो रुपमा अपनत्व भएको छैन, संस्थाले वा पालिकाले गरेको सहयोगलाई आधार मानेर आफूहरुले पनि व्यवसाय वा सिप फैलाउने हो भने जीविकोपार्जनमा अझै धेरै राहत प्राप्त हुने बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए ।

केन्द्रले स्थानीयवासीहरुलाई टोल टोलमा समुह बनाएर मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रबद्र्धनको लागि टेवा पुग्ने गरी स्थानीय आवश्यकता, समस्या तथा समाधानको विषयमा सामुदायिक छलछफल समेत गर्ने गरेको छ । यस्ता छलफल केन्द्रहरुबाट स्थानीय आवश्यकता तथा समस्याहरुको उठान हुने र सम्बोधन गर्न सहज हुने गरेको सामाजिक सहजकर्ता बागमती गाउँपालिका वडा ३ की जानुका दोङले बताइन् । सरसफाइलगायतको पाटोमा पनि महिलाहरु अग्रसर भएको उनले बताइन् ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका हाँडीखोलामा स्वास्थ्य शिविर संचालन गरिएको छ ।
हाँडीखोलाको पशुपति माध्यामिक विद्यालयमा संचालन भएको स्वास्थ्री शिविर बस्तीपुर जेसीज हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वार्ड नं ४ को समन्वयमा भएको हो ।
स्वास्थ्री शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँच गरिएको थियो । शिविरमा ७८ जना महिलाले स्वास्थ्य परीक्षण गराएको थिए । शिविरको समुद्घाटन प्रमुख अतिथि अध्यक्ष कालाखेतीले परीक्षण किट प्राविधिक टोलीलाई हस्तान्तरण गर्दै शिबिर सुरु गरिएको हो ।
बिशेष गरी बनकरिया बस्तीलाई लक्षित गरी आयोजना गरिएको शिबिरमा २ जना सेवाग्राहीले १२ बर्षे परिवार नियोजनको अस्थायी साधनको सुविधा लिएका थिए । शिबिरलाई मनहरी गाउँपालिका र स्व. जानुका रेग्मी स्मृति स्वास्थ्य सेवा तथा सूचना फाउन्डेशनबाट औषधि सहयोग गरिएको थियो ।
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानवीय सेवा बोकेको जेसीजले गरेको शिविरबाट स्थानीयलाई बिभिन्न अस्पताल गएर जचाउँदा हुने खर्चबाट बिपन्न बर्गले लाभलिने र मनहरी गाउँपालिकाको अन्य वडामा पनि यस्तै स्वास्थ्य शिबिर संचालनको लागि हातेमालो गर्न सदैब तयार रहेको बताए ।
कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, पशुपतिनाथ माविका ब्यवस्थापन समिति अध्यक्ष माधब गौतमले आमाहरु स्वस्थ्य भए बालबालिका पनि स्वस्थ्य हुने बताएका थिए ।
बस्तीपुर जेसीज हाँडीखोला बर्ष–२०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती(रमेश) को सभाध्यक्ष तथा मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीको प्रमुख आतिथ्यतामा स्वास्थ्य शिविर संचालन भएको हो ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौंडामा राँके जुलुससहित विरोध प्रर्दशन गरेको छ । हालै प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनबाट पास गरिएको नागरिक बिधयक विरुद्ध राप्रपाले विरोध गरेको हो ।
शुक्रबार साँझ राप्रपाले नागरिकता विधेयक,भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रघाती नागरिक अध्यादेश र संघीयता खारेज गर्न माग गर्दे राँके जुलुस गरेका हुन् ।
हेटौंडा ५ सानोपोखरा स्थित राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शनको यार्ली कान्तिराजथ, बुद्धचोक हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा राप्रपा नेपालका केन्द्रीय सदस्य दिपक बहादुर सिंहले सम्बोधन गरेका थिए । नागरिकता विधेयक पास गर्न भारतले हाम्रा नेताहरुलाई ठुलो आश्वासन दिएको उनले बताए ।
मकवानपुर । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी बैठक तथा जिल्ला स्तरीय प्रशिक्षण शुक्रबार हेटौँडामा भएको छ ।
पार्टीका उपाध्यक्ष एबम् बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको बैठकले साउन र भदौ महिनाभर संगठन सुदृढिकरण कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजना निर्माण गरेको छ ।
कार्य योजना अन्तर्गत हरेक पालिका तहको बैठक, भातृ संगठनहरुको बैठक, वडा तहको संगठन निर्माण र पुनगठन एबम् प्रशिक्षण लगायतका कार्यक्रमहरु रहेको पार्टी अध्यक्ष सूर्यचन्द्र न्यौपानेले जानकारी दिए । त्यसैगरी प्रतिनिधि सभा तथा प्रदेश स्तरीय कमिटीहरुको पूर्णता र पार्टी सदस्यता बितरणलाई समेत प्रमुख प्राथमिकतामा राखी पार्टीले राजनीतिक गतिविधिहरुलाई तीब्रता दिन लागिएको उनले बताए ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष एबम् बागमती प्रदेश इन्चार्ज न्यौपानेले अहिले पनि राष्ट्रियतामाथि खतरा रहेको राष्ट्रिय परिवेशबारे चर्चा गरेका थिए । उनले एससिसि र एसपिपी सम्झौताले देशमा चाइनाबिरुद्ध अमेरिकी हस्तक्षेप बढिरहेको र त्यसले नेपाललाई भविष्यमा युक्रेनीकरण गर्ने अबस्था आउन सक्ने बताए ।
‘यो जटिल परिस्थितिको सामना हामीले गर्नुपर्नेछ’, उनले भने “यस्तो अबस्थामा देशप्रति जिम्मेवार पार्टीको रुपमा नेकपा एकीकृत समाजवादीलाई बलियो रुपमा उभ्याउनु आजको आवश्यकता बनिसकेको छ।”
कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एबम् बागमती प्रदेश अध्यक्ष साबित्रा भुषालले पार्टी संगठनको बिस्तार, विकास, मूल्यांकन तथा अनुशासनका बिषयमा कार्यकर्ताहरु सचेत भएर लाग्नुपर्ने सुनाए। त्यसैगरी अर्का स्थायी कमिटी सदस्य एबम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले केपी ओली नसुध्रिएसम्म बाम एकता वा तालमेलमा एमाले नसमेटिने बताए।
अर्का स्थायी कमिटी सदस्य एबम् मकवानपुर जिल्ला इन्चार्ज ललितकुमार बस्नेतले पार्टी संगठनको काम स्थानीय तहको निर्वाचनपछि सुस्त भएको प्रसंग कोट्याउँदै अहिले नै थकित हुन नहुने बताए।
कार्यक्रममा जिल्ला सचिवालय कमिटीले तयार पारेको कार्ययोजना पारित गरेको छ । कार्ययोजना अन्तर्गत सबै पालिकामा अब राजनीतिक गतिविधिहरु हुने पार्टीका सचिव बिष्णुप्रसाद दाहालले जानकारी दिए।
मकवानपुर । नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।
विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक कार्यक्रममा शुक्रवार बाघको संख्या ३ सय ५५ पुगेको जानकारी गराइएको थियो। प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन ।
पछिल्लो ४ वर्षमा १ सय २० बाघ थपिएको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंसिर १९ देखि फागुन २८ सम्म बाघ गणना गरेको थियो ।२०१८ मा नेपालमा २ सय ३५ बाघ थिए ।
अहिले सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ बटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुल्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेको वन्यजन्तु विभागले जनाएको छ ।
बाघ गणनाका लागि अत्याधुनिक प्रविधि भएको क्यामरा ट्रयापिङ विधि प्रयोग गरिएको थियो । १ सय ५० वटा क्यामेराका साथै २ सय जनशक्ति र आवश्यकताअनुसार हात्ती पनि प्रयोग गरिएको थियो ।
