मकवानपुर । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी बैठक तथा जिल्ला स्तरीय प्रशिक्षण शुक्रबार हेटौँडामा भएको छ ।
पार्टीका उपाध्यक्ष एबम् बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको बैठकले साउन र भदौ महिनाभर संगठन सुदृढिकरण कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजना निर्माण गरेको छ ।
कार्य योजना अन्तर्गत हरेक पालिका तहको बैठक, भातृ संगठनहरुको बैठक, वडा तहको संगठन निर्माण र पुनगठन एबम् प्रशिक्षण लगायतका कार्यक्रमहरु रहेको पार्टी अध्यक्ष सूर्यचन्द्र न्यौपानेले जानकारी दिए । त्यसैगरी प्रतिनिधि सभा तथा प्रदेश स्तरीय कमिटीहरुको पूर्णता र पार्टी सदस्यता बितरणलाई समेत प्रमुख प्राथमिकतामा राखी पार्टीले राजनीतिक गतिविधिहरुलाई तीब्रता दिन लागिएको उनले बताए ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष एबम् बागमती प्रदेश इन्चार्ज न्यौपानेले अहिले पनि राष्ट्रियतामाथि खतरा रहेको राष्ट्रिय परिवेशबारे चर्चा गरेका थिए । उनले एससिसि र एसपिपी सम्झौताले देशमा चाइनाबिरुद्ध अमेरिकी हस्तक्षेप बढिरहेको र त्यसले नेपाललाई भविष्यमा युक्रेनीकरण गर्ने अबस्था आउन सक्ने बताए ।
‘यो जटिल परिस्थितिको सामना हामीले गर्नुपर्नेछ’, उनले भने “यस्तो अबस्थामा देशप्रति जिम्मेवार पार्टीको रुपमा नेकपा एकीकृत समाजवादीलाई बलियो रुपमा उभ्याउनु आजको आवश्यकता बनिसकेको छ।”
कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एबम् बागमती प्रदेश अध्यक्ष साबित्रा भुषालले पार्टी संगठनको बिस्तार, विकास, मूल्यांकन तथा अनुशासनका बिषयमा कार्यकर्ताहरु सचेत भएर लाग्नुपर्ने सुनाए। त्यसैगरी अर्का स्थायी कमिटी सदस्य एबम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले केपी ओली नसुध्रिएसम्म बाम एकता वा तालमेलमा एमाले नसमेटिने बताए।
अर्का स्थायी कमिटी सदस्य एबम् मकवानपुर जिल्ला इन्चार्ज ललितकुमार बस्नेतले पार्टी संगठनको काम स्थानीय तहको निर्वाचनपछि सुस्त भएको प्रसंग कोट्याउँदै अहिले नै थकित हुन नहुने बताए।
कार्यक्रममा जिल्ला सचिवालय कमिटीले तयार पारेको कार्ययोजना पारित गरेको छ । कार्ययोजना अन्तर्गत सबै पालिकामा अब राजनीतिक गतिविधिहरु हुने पार्टीका सचिव बिष्णुप्रसाद दाहालले जानकारी दिए।

