मकवानपुर । बागमती गाउँपालिका ५ का २१ वर्षिय दिकाश लोप्चन अचेल मोबाइल मर्मत मै व्यस्त हुन्छन् । गाउँपालिका कार्यालयको ठ्याक्कै सामुन्ने उनको सानो पसल छ । हेर्दा सानो, तर ठुलो सपना पुरा गर्न सहायता गरिरहेको छ पसलले ।
स्नातक तह चौथो वर्षमा अध्ययनरत उनलाई अध्ययनलगायतको लागि आर्थिक समस्या छैन । परिवारसँग पनि उनले सहयोग लिनु परेको छैन, बरु आर्थिक सहायता गर्दछन् परिवारलाई । नियमित अध्ययनसँगै उनले मोबाइल मर्मतको गर्नेबारे ६ महिना तालिम लिए । तालिम पश्चात ४५ हजार लगानी गरेर पसल सुरु गरे । पसल सुरुवात गर्न नारी सिप सिर्जना केन्द्रले ११ हजार बराबरको समाग्री सहयोग ग-यो ।
अब आफ्नो जीविकाको लागि कुनै समस्या नभएको बताउँछन् उनी । केन्द्रले सामग्री सहयोग गरेसँगै दीगो रुपमा व्यवसाय गर्ने सिपबारे ५ दिने तालिम पनि लिए । सो तालिम र सहायता पाएपछि व्यवसाय चलाउन सजिलो भएको बताउँछन् ।
४५ हजार लगानी गरेका उनले अहिले दिनमै १५ सय कमाउँछन् । “लगानी ४५ हजार त एक महिनामै उठाए उनले” नारी सिप सिर्जना केन्द्रका सामाजिक परिचालक केवल बिकले भने “दिकाशको लगानशिलता युवाको लागि उदाहरणीय छ ।”
“विदेशमा मात्रै पैसा कमाउन सकिन्छ भन्ने छैन, जागँर चाहिन्छ” दिकाश भन्छन् “हामी थोरै लगानी गरेर आफ्नै देशमा आफ्नै गाउमा ब्यापार व्यवसाय वा अन्य कुनै न कुनै काम सुरु गर्न सक्छौ ।” सबै सफलता मिल्ने महान व्यक्तिहरुले पनि सुरुवात सुन्य लेभलबाट नै सुरु गरेका कथ पढेर आफूलाई काम गर्ने हिम्मत जागेको बताउँछन् उनी । “समस्या बाधा आएता पनि धैर्यता र सहनशीलताले एक दिन अवश्य सफलता मिल्नेछ” उनले भने । लोप्चन झण्डै १ वर्षदेखि यो पेशमा छन् ।
बागमती गाउँपालिका २ बजार टोलकी सोनी माझिको दैनिकी बंगुरको स्याहारमा बित्छ । पाठापाठी सहित गरी झण्डै २ दर्जन बंगुर पालिकी छिन् सोनीले । बेकम्मा बस्नुपर्दा मनोसामाजिक समस्या हुने गरेको बताउने उनी अब भने बंगुरसँगै खोरमै रमाउँछिन् । “काममा व्यस्त भएपछि मनमा अनेक कुरा नखेल्ने रैछ, कामकै ध्यान हुने, आफू नि स्वस्थ्य हुने, आम्दानीको बाटो पनि बन्ने” उनले भनिन् “थोरै लगानीमा सहयोग पाएपछि आफूले अरु पनि थपेर पाल्न सक्छु भन्ने लाग्यो ।”

नारी सिप सिर्जना केन्द्रले उनलाई बंगुर व्यवसायको लागि ४ वटा बंगुर सहयोग गरेको थियो । “४ पाल्ने मेहनतमा १० पाल्न सक्छु भन्ने आंट आयो अनि थपें” उनले भनिन् “अहिले सबै गाभिन (गर्भिणी) छ, सबैले पाठापाठी दिंदा त राम्रो आम्दानी हुनेछ।” गत मंसिरमा संस्थाले उनीहरुलाई सहयोग गरेको थियो ।
बंगुर वितरण गर्नु अघि केन्द्रले पालनको बारेमा २ दिने व्यवसायीक सिपसंगै ७ दिन तालिम दिएको थियो । सानोतिनो समस्या र दाना पानीको मात्रा सोनी आफैं हेर्न सकिन्छन् । “घरमा उसै बस्दा खालि दिमाग के के सोच्न आउँथ्यो, तनाव हुन्थ्यो, अब कामले भ्याई नभ्याई हुदा, केहि तनाव पनि हुन्न, म त बंगुरसंगै गित गाउंदै काम गरिराहुन्छु, औधि खुसि छु, आफ्नो कामको क्षमता नचिनेर रहेछ म आफैं तनावमा थिए” उनले भनिन् । उनलाई खोर निर्माणमा बागमती गाउँपालिकाले अनुदान प्रदान गरेको छ ।
उनीसँगै स्थानीय सुन्तली माझीले पनि १२ वटा बंगुर पालेकी छिन् । यसबाट आफ्नो आय आर्जनमा निकै राहत पाएको सुन्तलीले बताइन् ।

यसै वडाको टाँडीचोककी दहमाया पुलामी अचेल टकाटरको टनेलोको स्याहारमा व्यस्त हुन्छिन् । “पहिलो अचार खाने रहर हुँदा टमाटर किन्थे अहिले बेचर घरखर्च चलाएको छु” उनले भनिन् “थोरै दुख गरेर पनि पैसा कमाउन सकिएला भन्ने सोचकै थिएन मैले त ।”
उनले हाँस्दै भनिन् “करेसा बारी मै यस्तो पैसा कमाउँन सकिने रहेछ, हामीले नै अल्छि गरेर रहेछ ।” केन्द्रले नै टनेलो निर्माणको लागि र बिरुवा समेत सहयोग गरेपछि आफूले सजिलै टमाटर र खोर्सानी उत्पादन गरेको उनले सुनाइन् ।केही लट टमाटर बेचेर, घरमै खर्च भएको र अबको आम्दानीबाट चाँही अर्को टनेलो थप्ने योजना रहेको उनले बताइन् ।

“करेसाबारीमा छ्यास्स दुइ तीन बोट लगाउथेउ, फले खाइन्थ्ये, नत्र वास्तै हुन्थेन, अब त धेरै लगाएपछि माया र स्याहार गर्छौ, आम्दानी पनि राम्रो छ” उनले भनिन् “दुख हैन तरीका जान्नु पर्ने रहेछ ।” उनीहरुलाई टनेलो निर्माण गरेर बिरुवा वितरण गरेर, थोपा सिँचाइको व्यवस्था समेत संस्थाले गरेको नारी सिप सिर्जना केन्द्रकी फिल्ड संयोजक गिता अर्यालले बताइन् ।
यसैगरी यसै पालिकाको वडा नम्बर ४ को पाँचपाण्डवमा बोयर प्रजातिको बाख्राको बोका केन्द्रले सहयोग गरेपछि ब्याडे बोकाबाट उन्नत प्रजातिको पाठापाठी उत्पादनमा सहयोग भएको छ । महिला समूहको जिम्मेवारीमा रहने गरी प्रदान गरिएको बोयर प्रजातिको बोकाबाट यो क्षेत्रमा सयभन्दा बढी पाठापाठी उत्पादन भएका छन् ।

अर्यालका अनुसार यस गाउँपालिकाको वडा २ मा १७ घरलाई ४ वटाको दरले बंगुर प्रदान गरिएको थियो, यसबर्ष १६ जनालाई दिने योजना रहेको छ । यसैगरी वडा १ देखि ५ सम्म ४८ घरलाई टनेल तरकारी खेतीको लागि सहयोग गरिएको थियो । यसैगरी वडा ३ को १६ जनालाई बाख्रा र सबै वडामा २० वटाका दरले कुखुरा दिएको थियो । ग्रामिण क्षेत्रमा आर्थिक वृद्धि भइ, स्कुल पढाउन र घरखर्चमा यसले धेरै सहयोग पुर्याएको फिल्ड संयोजक अर्यालले बताइन् ।
मकवानपुरमा मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रबर्द्धन परियोजना अन्तरगत लागु गरिएको यो कार्यक्रमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा युवाहरुले राहत पाएका छन् । मकवानपुर जिल्लाको राक्सिराङ र बागमती गाउँपालिकामा यो परियोजना लागु गरिएको परियोजना संयोजक ज्योती बम्जनले बताइन् । युवाहरुलाई स्वदेशमै रहेर उद्यम गर्न आत्म निर्भर रहन धेरै सहायता पुगेको उनले बताइन् ।

आवो अन्तरास्ट्रिय संस्थाको आर्थिक सहयोगमा नारी सिपद्वारा यो परियोजना लागु भएपछि युवाहरुलाई स्वरोजगारमा लाग्न प्रेरणा मिलेको केन्द्रको अध्यक्ष सरस्वती बर्तौलाले बताइन् । “जीविकोपार्जनको लागि असुरक्षित बराइसराई गर्ने, विदेश जाने र दुख पाउने, कष्टकर जीवनबाट छुट्कारा दिलाउने हाम्रो लक्ष्य हो” अध्यक्ष बर्तौलाले भनिन् । युवालाई कुनै न कुनै रुपमा आफ्नो गाउँठाउँमा रहेर स्वरोजगार, सिर्जनशील र आत्मानिर्भर बनाउने र जोखिमबाट बचाउँने अभियानमा संस्थाले सहयोग गरेको अध्यक्ष बर्तौलाले बताइन् ।
केन्द्रले जोखि वर्गको उत्थानको लागि यो परियोजना लागु गरेको भएपनि लाभग्राही सबैले आफ्नो लागि संघर्ष कम गरेको स्थानीय जनप्रतिनिधिहरुले भनाइन् छ । जुन रुपमा सहायता र सहयोग प्राप्त भएको छ, त्यो रुपमा अपनत्व भएको छैन, संस्थाले वा पालिकाले गरेको सहयोगलाई आधार मानेर आफूहरुले पनि व्यवसाय वा सिप फैलाउने हो भने जीविकोपार्जनमा अझै धेरै राहत प्राप्त हुने बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए ।

केन्द्रले स्थानीयवासीहरुलाई टोल टोलमा समुह बनाएर मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रबद्र्धनको लागि टेवा पुग्ने गरी स्थानीय आवश्यकता, समस्या तथा समाधानको विषयमा सामुदायिक छलछफल समेत गर्ने गरेको छ । यस्ता छलफल केन्द्रहरुबाट स्थानीय आवश्यकता तथा समस्याहरुको उठान हुने र सम्बोधन गर्न सहज हुने गरेको सामाजिक सहजकर्ता बागमती गाउँपालिका वडा ३ की जानुका दोङले बताइन् । सरसफाइलगायतको पाटोमा पनि महिलाहरु अग्रसर भएको उनले बताइन् ।

