मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा सवारी दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । हेटाैडा १७ हटिया कठायत चोकस्थित धरान चतरा सडकखण्डमा बोलेरोले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा बिरगंज महानगरपालिका–१ बस्ने ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् । बोलेरोको ठक्करबाट गम्भिर घाईते भएका थारुको हेटौंडा अस्पताल उपचारको क्रममा राती १० बजे मृत्यु भएको मकवानपुर प्रहरीले बताएकाे छ ।
सोमबार राती ९ बजेर ३५ मिनेटको समयमा हेटाैडा १८ ठुलोदमारतर्फबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको बोलेरोले सडक छेउमा रोकी राखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकल र चालक थारुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । बाेलेराे चालक फरार रहेकाेमा खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । नेपाली हिन्दू महिलाहरुले आज भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तिज पर्व मनाउँदै छन् । हरितालिका तीज आराध्यदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ ।
भाद्र शुक्ल द्वितीयाका दिन दर खाएर सुरु भइ भाद्र शुक्ल पञ्चमीका दिनसम्म मनाइने हरितालिका तिज पर्व आज मंगलबार देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
तीजको अवसरमा मकवानपुरका विभन्न शिवालयहरुमा महिलाहरुको भीड लाग्ने गरेको छ । विशेष गरी मकवानपुरको हेटौँडा–४ मा रहेको भुवनेश्वर पशुपति मन्दिर, हेटौँडा–१० स्थित गोरक्षस्वर, हेटौँडा–९ को त्रिवेणीधाम, हेटौँडा–६ स्थित बंशगोपाल, दामनको ऋषेश्वर लगायतका मन्दिरहरुमा भक्तजनहरुको विशेष भिड हुने गरेको छ । यसका साथै मकवानपुरका सवै स्थानीय तहका रहेका शिव मन्दिरहरुमा व्रतालु महिलाहरुकाे भीड हुने गर्दछ ।
महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ । तर सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने विश्वास गरिन्छ । अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले ‘देवाधिदेव महादेवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।
यस दिन महिलाहरू आफ्नो शरीरको अवस्थाअनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तीजको व्रत बस्नुपर्ने मान्यता छ । तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् ।
तीज महिलामैत्री पर्वका रूपमा परिचित छ। पछिल्लो समय हिन्दूइतर वा अन्य धर्म र जातजातिका महिलाले पनि हर्षोल्लासका साथ तीज पर्व मनाउन थालेको पाइन्छ । यसदिन दिनभर शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा प्रत्येक वर्ष व्रतालुहरूको भिड लाग्ने गरेको छ ।
मकवानपुर । आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता साेमबार राजपत्रमा प्रकाशित गरी जारी गरेको हो ।
आचार संहितकाे नाम निर्वाचन आचार संहित २०७९ रहेकाे जनाएकाे छ । साथै आचार संहिताका व्यवस्था आयाेगले ताेकेकाे मितिदेखि ताेकिएकाे क्षेत्रमा लागू हुने संहितामा उल्लेख गरिएकाे छ ।
हेर्नुहाेस राजपत्र
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले योजना कार्यान्वयनमा ढिलाई नगर्न निर्देशन दिएका छन् । मातहतका कार्यालयका कर्मचारीहरुलाई चालु आर्थिक वर्षका छुट्याइएका याेजना कार्यान्वयन गर्न ढिलाई नगर्न उनले निर्देशन दिएका हुन् ।
प्रदेशभित्रका पूर्वाधार विकास कार्यालय र सहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरुबीच सोमबार मन्त्रालयमा भएको कार्यक्रम प्रजाले भने ‘योजना कार्यान्वयन गर्न कुनै कानुनी वा नीतिगत समस्या छ भने पहिचान गरी चाँडै मन्त्रालयलाई जानकारी गराउनूस्, नभए अब चाँडै नै योजना कार्यान्वयन गर्नतिर लाग्नुपर्ने हुन्छ ।’ छलफलमा राज्यमन्त्री प्रजाले डीपीआर गर्नुपर्ने योजनाहरुको डीपीआर सुरु गरी चाँडै ठेक्का लगाउन निर्देशन दिएका छन् ।
बहुवर्षीय ठेक्का लागेर काम भइरहेका सडक, भवन तथा सडक पुलका योजनाहरु चाँडै सम्पन्न गर्न सम्बन्धित कार्यालयहरुलाई दबाब दिनुपर्ने अवस्था सृजना नगर्नुस उनले भने । यसअघि डीपीआर भएर बसेका योजनाहरुमा आवश्यक बजेट विनियोजन गरिएको भन्दै राज्यमन्त्री प्रजाले कुनै योजनामा बजेट हाल्न छुटेको भए संशोधन गरी बजेट हालिने प्रतिवद्धता पनि जनाए । कार्यालयहरुमा कर्मचारीको अभाव भएको गुनासो आएको भन्दै उनले सबै कार्यालयहरुमा स्थायी कर्मचारी थप गर्ने प्रक्रिया अघि बढिसकेको पनि बताए ।
विगतमा कार्यालयका कर्मचारीको मनमुटाव तथा सल्लाह र समन्वय नहुँदा पनि योजना कार्यान्वयनमा असर परेको स्मरण गर्दै त्यस्तो अवस्थाको अन्त्य गर्न राज्यमन्त्री प्रजाले सचेत गराए । छलफलमा मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले कार्यक्रमहरु कार्यान्वयनमा कुनै समस्या भए प्रष्ट रुपमा राख्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे । कानून र नीति नियमको परिधिभित्र रहेर कार्य सम्पादन गर्नसमेत मातहतका कार्यालय प्रमुखहरुलाई सचिव पण्डितले निर्देशन दिए ।
मकवानपुर । उच्च शिक्षा हासिल गरेकाहरूलाई समेत स्थानीय स्तरको सामान्य जानकारी समेत हुन नसक्ने अवस्था बढिरहेको बेला मकवानपुर जिल्लाको थाहा नगरपालिकाले स्थानीय भुगोललगायत जातजाति, भाषाभाषि तथा संस्कृति बारे जानकारी हासिल गर्ने गरी स्थानीय पाठ्य सामग्री समाबेश गरिएको पाठ्यक्रम लागु गर्ने तत्परता देखाएको छ ।
हाल थाहा नगरपालिकाले चालु शैक्षिक सत्रबाट आफ्नो क्षेत्रको सबै सामुदायिक विद्यालयमा स्थानीयता झल्कने पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । स्थानीय परिवेश, चालचलन, परम्परा, पर्यटकीय स्थल, स्वास्थ्य, स्थानीय खेलजस्ता मौलिक र संरक्षण गर्नुपर्ने विषयको महत्त्व बुझाउन ‘थाहा ज्ञानमाला’ पाठ्यसामग्री गत वैशाखदेखि पढाउन थालिएको नगर प्रमुख बिष्णु बिष्टले बताए ।
यसैबर्षबाट सुरू गरिएको पाठ्यसामग्री हाल कक्षा १ देखि ५ कक्षासम्म लागु गरिएको नगरपालिका प्रमुख बिष्टले बताए । आगामी अर्को शैक्षिकसत्रबाट ६ देखि ८ कक्षासम्म पढाइ हुने गरी पाठ्यपुस्तक बनाइने तयार समेत गरिएको विष्टले बताए ।
स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय सरोकारवालाको संलग्नतामा स्थानीय तहलाई पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ । नगरपालिकामा ५३ वटा सामुदायिक, ६ संस्थागत विद्यालय छन् । जसमा ९ हजार ७ सय ५२ जना विद्यार्थी छन् । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा रूपचन्द्र विष्ट र थाहा अभियानबारे सामान्य जानकारी मात्र समावेश गरिएको छ ।
ती कक्षाका बालबालिकाका लागि बुझ्न सक्ने प्रकृतिको पाठ्य सामग्री समावेश गरिएको शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले बताए । रूपचन्द्र विष्टको उपनाम र विशेषताका बारेमा मात्र साना कक्षाका बालबालिकालाई पढाउने योजनाअनुसार सामान्य जानकारी समावेश गरिएको रेग्मीले बताए ।
निश्चित तह पास गरेर गएका युवाहरूलाई आफ्नो स्थानीय स्तरको बारेमा स्पष्ट जानकारी होस् भनेर पनि स्थानीय पाठ्यसामग्री लागु गरिएको प्रमुख बिष्टले बताए ।
