मकवानपुर । नेपाली हिन्दू महिलाहरुले आज भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तिज पर्व मनाउँदै छन् । हरितालिका तीज आराध्यदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ ।
भाद्र शुक्ल द्वितीयाका दिन दर खाएर सुरु भइ भाद्र शुक्ल पञ्चमीका दिनसम्म मनाइने हरितालिका तिज पर्व आज मंगलबार देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
तीजको अवसरमा मकवानपुरका विभन्न शिवालयहरुमा महिलाहरुको भीड लाग्ने गरेको छ । विशेष गरी मकवानपुरको हेटौँडा–४ मा रहेको भुवनेश्वर पशुपति मन्दिर, हेटौँडा–१० स्थित गोरक्षस्वर, हेटौँडा–९ को त्रिवेणीधाम, हेटौँडा–६ स्थित बंशगोपाल, दामनको ऋषेश्वर लगायतका मन्दिरहरुमा भक्तजनहरुको विशेष भिड हुने गरेको छ । यसका साथै मकवानपुरका सवै स्थानीय तहका रहेका शिव मन्दिरहरुमा व्रतालु महिलाहरुकाे भीड हुने गर्दछ ।
महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ । तर सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने विश्वास गरिन्छ । अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले ‘देवाधिदेव महादेवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।
यस दिन महिलाहरू आफ्नो शरीरको अवस्थाअनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तीजको व्रत बस्नुपर्ने मान्यता छ । तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् ।
तीज महिलामैत्री पर्वका रूपमा परिचित छ। पछिल्लो समय हिन्दूइतर वा अन्य धर्म र जातजातिका महिलाले पनि हर्षोल्लासका साथ तीज पर्व मनाउन थालेको पाइन्छ । यसदिन दिनभर शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा प्रत्येक वर्ष व्रतालुहरूको भिड लाग्ने गरेको छ ।

