मकवानपुर । उच्च शिक्षा हासिल गरेकाहरूलाई समेत स्थानीय स्तरको सामान्य जानकारी समेत हुन नसक्ने अवस्था बढिरहेको बेला मकवानपुर जिल्लाको थाहा नगरपालिकाले स्थानीय भुगोललगायत जातजाति, भाषाभाषि तथा संस्कृति बारे जानकारी हासिल गर्ने गरी स्थानीय पाठ्य सामग्री समाबेश गरिएको पाठ्यक्रम लागु गर्ने तत्परता देखाएको छ ।
हाल थाहा नगरपालिकाले चालु शैक्षिक सत्रबाट आफ्नो क्षेत्रको सबै सामुदायिक विद्यालयमा स्थानीयता झल्कने पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । स्थानीय परिवेश, चालचलन, परम्परा, पर्यटकीय स्थल, स्वास्थ्य, स्थानीय खेलजस्ता मौलिक र संरक्षण गर्नुपर्ने विषयको महत्त्व बुझाउन ‘थाहा ज्ञानमाला’ पाठ्यसामग्री गत वैशाखदेखि पढाउन थालिएको नगर प्रमुख बिष्णु बिष्टले बताए ।
यसैबर्षबाट सुरू गरिएको पाठ्यसामग्री हाल कक्षा १ देखि ५ कक्षासम्म लागु गरिएको नगरपालिका प्रमुख बिष्टले बताए । आगामी अर्को शैक्षिकसत्रबाट ६ देखि ८ कक्षासम्म पढाइ हुने गरी पाठ्यपुस्तक बनाइने तयार समेत गरिएको विष्टले बताए ।
स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय सरोकारवालाको संलग्नतामा स्थानीय तहलाई पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ । नगरपालिकामा ५३ वटा सामुदायिक, ६ संस्थागत विद्यालय छन् । जसमा ९ हजार ७ सय ५२ जना विद्यार्थी छन् । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा रूपचन्द्र विष्ट र थाहा अभियानबारे सामान्य जानकारी मात्र समावेश गरिएको छ ।
ती कक्षाका बालबालिकाका लागि बुझ्न सक्ने प्रकृतिको पाठ्य सामग्री समावेश गरिएको शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले बताए । रूपचन्द्र विष्टको उपनाम र विशेषताका बारेमा मात्र साना कक्षाका बालबालिकालाई पढाउने योजनाअनुसार सामान्य जानकारी समावेश गरिएको रेग्मीले बताए ।
निश्चित तह पास गरेर गएका युवाहरूलाई आफ्नो स्थानीय स्तरको बारेमा स्पष्ट जानकारी होस् भनेर पनि स्थानीय पाठ्यसामग्री लागु गरिएको प्रमुख बिष्टले बताए ।

