मकवानपुर । नेपाल श्रीलंकामा भएको साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपविजेता भनेको छ । साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेसंगै नेपालले उपबिजेतामा चित्त बुझाएको हो ।
कोलम्बोमा बुधबार भएको फाइनलमा नेपाललाई ४-० गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । यस जितसँगै भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ । नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।
भारतलाई उपाधिको जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेल ३९ मिनेटमा भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाएसंगै नेपाल १० खेलाडीमा समेटिएको थियो ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ५८ औं राष्ट्रिय बाल दिवसमा शुभकामना व्यक्त गरेका छन । हरेक बर्ष भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवसका अवसरमा प्रदेश प्रमुख शर्माले आज बुधबार विज्ञप्ति मार्फत शुभकामना व्यक्त गरेका हुन् ।
बालबालिकाको सवालमा व्यवस्था गरिएका विभिन्न संवैधानिक तथा कानूनी प्रावधानहरूको स्थानीय, प्रदेश तथा संघ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । ’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जारी विज्ञप्तिमा नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको उल्लेख गरिएको छ ।
प्रमुख शर्माले वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागिपरौं भन्ने आव्हान समेत गरेका छन् ।
‘‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’’ भन्ने नारासहित आज ५८ औं राष्ट्रिय बाल दिवस मनाइदै छ । २०२२ सालबाट भदौ ४ गते मनाइदै आइएको बाल दिवस २०६३ सालबाट भदौ २९ गते मनाउन थालिएको हो ।

मकवानपुर । बागमती प्रदेश सरकार स्थापनापछिको पहिलो कार्यकाल सकिनै लागेको छ । केही दिन मात्रै कार्यकाल बाँकी रहदा प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफूहरुले माग गरेको जग्गा संघीय सरकारले दिंदासाथ मन्त्रालयहरु बनाउने तयारी अवस्थामा प्रदेश सरकार रहेको बताएका छन् ।
प्रदेश सरकारले हेटौंडाको हाल खासै चहलचहल नभएको क्षेत्र हेटौंडा १६ हटियामा बागमतीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतको सबै संरचना बनाउने तयारी गरेको पाण्डेले बताए । “केही समयमा हामीले संघीय सरकारबाट अनुमति पाउने छौं, हामी भोलीपल्टैबाट फिल्डमा काम गर्ने छौ” उनले भने । यो कामको लागि निर्वाचनको आचार संहिता नलाग्ने समेत मुख्यमन्त्री पाण्डेले स्पष्ट पारे ।
उनले प्रादेशिक संरचना निर्माण प्रयोजनार्थ जग्गा छनोट गरेर स्वीकृतिका लागि संघीय सरकारमा पठाएको जनानकारी गराउँदै केही दिनभित्रै अनुमति प्राप्त हुने जानकारी दिए । ‘हेटौँडा–१६ मा ५४ बिघा क्षेत्रफलमा प्रदेशको सबै संरचना बन्ने उनले बताए ।
जग्गा स्वीकृत भएको एक हप्ताभित्र संरचनाको डिजाइन र निर्माण दुवै काम गर्ने गरी टेण्डर आह्वान गरिने उनले बताए । प्रादेशिक संरचना निर्माणका लागि चालु आर्थिक वर्ष २०७९–८० मा १ अर्ब ५ करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए । उनका अनुसार हटियामा मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरू, प्रदेशसभा भवन, प्रदेश लोकसेवा आयोग, सांसददेखि मन्त्रीका क्वाटर, विभागहरू, प्रहरी विटसहितको संरचना निर्माण हुनेछन् ।
बागमतीमा सरकार गठन भएको चार वर्षपछि ११ फागुन २०७८ मा प्रदेश सरकारले हेटौँडाको आठ ठाउँमा जग्गा पहिचान गरी प्रादेशिक संरचना निर्माण गर्न स्वीकृतिका लागि संघीय सरकारसमक्ष सिफारिस गरेको थियो । तर, प्रदेशको सबै संरचनाहरु कहाँ निर्माण हुने भन्ने विषय अन्योल थियो ।
यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा–२, स्थित हालकै सरकारी अड्डा भएका क्षेत्रमा प्रादेशिक संरचना बनाउने गरी डीपीआर निर्माण गरेका थिए । हाल मुख्यमन्त्री कार्यालय रहेको क्षेत्र साँघुरो रहेको भन्दै पाण्डे नेतृत्वको सरकारले प्रादेशिक संरचना हटिया पुर्याएको हो ।
हेटौँडाको मुख्य बजारबाट हटिया करिब १५ किलोमिटर दूरीमा छ । हटिया काठमाडौं–निजगढ द्रुतमार्गबाट नजिक र धरान–चतरा–हेटौँडा सडकखण्डसँग जोडिएको क्षेत्र हो ।
११ कात्तिक २०७८ मा बागमतीमा पाण्डे नेतृत्वको सरकार गठन भएपछि प्रशासनिक भवन जग्गा पहिचान समिति बनाएर प्रादेशिक संरचना बनाउन नयाँ जग्गा खोजी गरिएको थियो । उक्त समितिले ८ वटा जग्गामा संरचना बनाउन कुल एक सय ९५ दशमलव २७ बिघा जग्गा पहिचान गरेर सरकारलाई प्रस्ताव गरेको हो ।
हेटौँडा उपमहानगरपालिका–१९ लेवटमा ८० बिघा जग्गा पहिचान गरिएको थियो । यसैगरी, हेटौँडा–१६ मा ५५ बिघा, हेटौँडा–६ चित्रेपानीमा २० देखि २५ बिघा, हेटौँडा–९ लामसुरेमा १५ बिघा, हेटौँडा–१७ हटियास्थित डिपोचौरमा १२ बिघा, हेटौँडा–९, स्थित हेटौँडा सिमेन्टको स्वामित्व रहेको ५ बिघा, हेटौँडा–८ भोर्लेमा २ दशमलव १३ र हेटौँडा–१७ हटियाको पश्चिम डिपोचौरमा २ दशमलव १४ बिघा जग्गा छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि प्रस्ताव गरिएको थियो ।
मकवानपुर । राष्ट्रिय राजमार्ग अनुसारको मापदण्डमा हेटौंडाको मुख्य बजारबाट २५ /२५ मिटर सडक बनाउँदा संरचना नष्ट तथा स्थानीयवासी सुकुम्बासी हुने भन्दै वैकल्पिक सुझाव सहित मकवानपुर उद्योग वाणिज्य संघ, बसोबास संरक्षण मुल समितिले पुन सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
मकवानपुरको हेटौंडा नगर क्षेत्र भित्र रहेका २ हजार घरधुरीमा लगानी भएको करिब ४० अर्ब र सो घरधुरीमा रहेका साना तथा ठूला व्यवसायीहरुको करिब २० अर्ब गरी झण्डै ६० अर्बको लगानी बचाँउदै विकास गर्न माग गरिएको हो ।
राज्यले निर्माण गर्न खोजेको पूर्व पश्चिम महेन्द्र राजमार्ग र त्रिभुवन राजपथमा विस्तार गर्नको लागि कम खर्चमा नै राज्यले खोजेको पूर्व पश्चिम महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ निर्माण हुने विकल्प आफूहरुले दिएको उद्योग वाणिज्य संघको दावि छ ।
नेपाल सरकारका पूर्व प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बस्नेत र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापन पत्र दिइएको हो ।
हालको सडकलाई नगरको मापदण्ड अनुसार शहरी मार्ग कायम गरी बैकल्पिक मार्गलाई राष्ट्रिय राजमार्ग बनाउने पूर्व मन्त्री मोहन बस्नेत तथा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलमार्फत ध्यानाकर्षणको लागि ज्ञापन पत्र दिइएको हो ।
नेपाल सरकार सडक विभागको विनियोजित बजेट ४ करोडबाट हेटौंडा ९ को कर्रा खोलादेखि नौ सय मिटर बाटो ट्रयाक खोल्ने कामसमेत भैसकेको र करिब ३ किली मिटर जति ट्रयाक खोल्न बाँकी रहेकोले आवश्यक कार्य अघि बढाउन संघले माग गरेको छ ।
२०७३ सालमा इआइएको लागि विश्व बैंकका प्रतिनिधिहरुको टोलीले हेटौंडा बजारबाट विकल्पिक राजमार्ग बनाउँदा जनधनको क्षति पनि नहुने र राजमार्ग बजारको बीचबाट भन्दा बाहिरबाट उपयुक्त हुने सुझाव नेपाल सरकारलाई दिएको थियो । यसैलाई आधार मानेर संघले उक्त सुझाव दिएको हो ।
२०७४ सालमा मन्त्रीपरिषद्को निर्णयले सञ्चारमन्त्री मोहन बहादुर बस्नेतमार्फत नै यस राजमार्गबारे स्पष्ट धारणा प्रेश बक्तव्यमार्फत सार्वजनिक भएको थियो । सोही बक्तव्य अनुसार चितवनमा काम हुदा मकवानपुरमा काम अलमलिदै परेपछि संघले पुन ध्यानाकर्षण गराएको हो ।
पूर्व मन्त्री बस्नेत आफू सरकारको प्रवक्त हुँदा भएको निर्णय लेखनमा त्रुटी भएको कारण कार्यान्वयनमा नआएकोले अब सहजिकरण गरिदिन मुख्यमन्त्री पाण्डेलाई आग्रह गरे ।
सहरको बीच भागबाट राष्ट्रिय राजमार्ग निर्माण नगरी बैकल्पिक मार्ग निर्माण गरी उक्त बैकल्पिक मार्गलाई राष्ट्रिय राजमार्ग बनाउने, हेटौंडाको रातोमाटेदेखि चौकिटोलसम्म र बुद्धचोकदेखि राप्तीपुलसम्मको हाल भइरहेको सडकलाई नेपाल
सरकारले शहरी मार्ग कायम गर्ने, यसको लागि स्थानीय सडकको मध्यभागबाट १६ मिटरले हुने स्थानसम्म घर टहरा भत्काई क्षतिपूर्ति तथा मुअब्जा नलिई सरकारलाई सहयोग गर्न सहमत भएको संघले जनाएको छ ।
यो अवसरलाई सम्मान गर्न पूर्व मन्त्री बस्नेतले आग्रह गरे । मुख्य बजारको संरचना भत्काउँदा करिब ५ हजार साना ठूला व्यवसायीहरु सुकुम्बासी बन्ने संघले जनाएको छ ।
स्थानीयवासीले हालसम्म तिर्नपर्ने सम्पति कर, घरधुरी कर, मालपोत तथा व्यवसाय कर तिरी कैयौं पटक सोही जग्गाहरू खरीद विक्री गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुर, बैंक प्रयोजनकालागि बन्धकी राख्दा तिर्नुपर्ने राजस्व दस्तुरहरु भुक्तान गरिएको र हालसम्म पनि खरिद विक्री भइरहनुका साथै राज्यले सरोकारवालाहरुसंग निर्माण गरिएको घर, पर्वाल समेतको उपमहानगरपालिकाले दस्तुर लिइरहेको छ ।
नेपालको प्रचलित कानूनले वैयक्तिक सम्पत्ति कुनै पनि अवस्थामा हरण गर्न नसक्ने प्रावधान गरिए मुताबिक सम्पत्तिको उचित एवम् पर्याप्त मूल्यांकन गरी न्यायिक रुपमा मुआब्जा एवम् क्षतिपूर्ति दिई राज्यले लिनुपर्ने हुन्छ ।
तर मुआब्जा तथा क्षतिपूर्ति दिंदा राज्यले धेरै लगानी गर्नुपर्ने हुँदा सो भन्दा स्थानीयवासीको तर्फबाट दिइएको विकल्प उत्तम रहेको उद्योग वाणिज्य संघको ठहर छ ।
२०६८ सालमा मउवास संघ, जिल्ला विकास समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका कार्यालय, डिभिजन सडक कार्यालय, हेटौंडा र माधवराज सुमार्गी स्मृति ट्रष्टको सहयोगमा करिब दुई करोड लगानीमा वैकल्पिक बाटोको ट्रयाक खोलिएको र उक्त ट्याकलाई चौकीटोलदेखि कर्रा खोलासम्म व्यवस्थित गर्न बागमती प्रदेश सरकारबाट बजेट व्यवस्थासहित टेण्डर आब्हान गरी ट्रयाक खोल्ने काम भैसकेको छ ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर लागूऔषधसहित २ जनालाई आज बिहान पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० आनन्द टोलबाट लागूऔषध खैरोहिरोईन ८ ग्राम २४० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको हो ।
जिप्रकाका अनुसार हेटौंडा–१० आनन्द टोलस्थित इन्दिरा प्रजापतिको घरभाडामा बस्दै आएको २५ वर्षीय समिर सिद्धिकी र निजको श्रीमती रिजु कुमारी दासलाई प्रकाउ गरिएको हो । सुराकीको आधारमा उनीहरू माथि खानतालसि गरेको र लागु औषध फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
दम्पती पश्चिम भारत निवासी हुन् । उनीहरू माथि थप अनुसन्धान सुरू गरिएको कार्कीले बताए ।
