मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ५८ औं राष्ट्रिय बाल दिवसमा शुभकामना व्यक्त गरेका छन । हरेक बर्ष भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवसका अवसरमा प्रदेश प्रमुख शर्माले आज बुधबार विज्ञप्ति मार्फत शुभकामना व्यक्त गरेका हुन् ।
बालबालिकाको सवालमा व्यवस्था गरिएका विभिन्न संवैधानिक तथा कानूनी प्रावधानहरूको स्थानीय, प्रदेश तथा संघ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । ’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जारी विज्ञप्तिमा नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको उल्लेख गरिएको छ ।
प्रमुख शर्माले वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागिपरौं भन्ने आव्हान समेत गरेका छन् ।
‘‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’’ भन्ने नारासहित आज ५८ औं राष्ट्रिय बाल दिवस मनाइदै छ । २०२२ सालबाट भदौ ४ गते मनाइदै आइएको बाल दिवस २०६३ सालबाट भदौ २९ गते मनाउन थालिएको हो ।


