मकवानपुर । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरि अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व शुक्रवारदेखि सुरु भएको हो ।
छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ । षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व समापन गरिन्छ ।
विशेषतः तराई समुदायको पर्वको रुपमा बुझ्दै आएतापनि पछिल्ला केही वर्षयता पहाडी समुदायको पनि उत्तिकै उपस्थिती देख्ने गरिन्छ यो पर्वमा । पहाडी समुदायले पनि छठ पूजालाई परम्पराकै रुपमा लिन थालेका छन् । यसैले पनि पछिल्लो समय सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्वको रुपमा मानिदै आएको छ छठ पर्वलाई । पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व २०६२/०६३ को आन्दोलनपछि पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ । २०६४ सालमा छट पर्वकाे लागि काठमाडाैकाे रानीपाेखरी पहिलाे पटक खुला भएकाे थियाे ।
अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान झिसमिसमै घाटमा पुर्याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । भोली कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा समापन भएको मानिन्छ ।
छठ पर्वका देशभरका ताल पाेखरी नदी किनारा सजावट गरिएकाे छन् । मकवानपुरकाे हेटौँडा लगायत आसपासका सहर र ग्रामीण क्षेत्रमा छठ पर्व मनाउन थालिएको बताइएको छ । हेटौँडामा छठ पर्वको तयारी पूरा भएको छ । हेटौंडाको राप्ती खोला तथा कर्रा खोला लगायत अन्य खोला नदी र पोखरी लगायतको जलाशयमा छठ पर्वको तयारी पूरा भएको हेटौँडा छठ पूजा समारोह समितिले जनाएकाे छ ।
नेपालको तराई मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइँदै आएको छठ पर्व पछिल्लो केही वर्षदेखि पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । छठ पर्वका अवसरमा सरकारले राज्यभर सार्वजनिक बिदा दिइएको छ ।
छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।
मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले पोखरी तथा वनाइएका कृतिम जलासयमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।
छठमा धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गरिने भएकाेले सबै समान हुने सन्देश दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो ।
छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन् ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
मकवानपुर । हावापानी र माटो सुहाउँदो प्रजातिको अन्न तथा फलफुल उत्पादन गर्न सके बिकटको पाखो र भिरालो जग्गाबाट पनि उपार्जन लिन सकिन्छ ।
जग्गा बांझो नराख्नको लागि तीनै तहको सरकारले प्रोत्साहन गर्ने लक्ष्य लिए पनि कस्तो जग्गामा के लगाउने भन्नेबारे रणनीति र कार्यनीति देखिदैन । दुरगामी भिजन नभएपछि ग्रामीण भेगका जमिन बाझो नै रहने गरेका छन् । स्थानीयका अनुसार रैथाने बालीनाली पनि लोप हुँदै आएका छन् । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ६ तिर केहिबर्ष अघिसम्म राज्मा (रातो सिमी) प्रसस्तै उत्पादन हुने गरेको थियो ।
उत्पादन घट्न थालेपछि पछि एक दशकदेखि यो सिमी लगाउनै छाडिएको स्थानीय कल्पना देवकोटाले बताइन् । “हामी रातो सिमी, सेतो सिमी र कोदो लगाउथ्यौ,अहिले फल्नै छाड्यो,वारि बांझै छ” उनले भनिन् ।
यता यसै गाउंपालिका चिनो भनिने रौथाने धानबाली भने लगाउन भने किसानलाई प्रोत्साहन गर्दै आईएको छ । नेपालको उच्च पहाडी क्षेत्रमा परावूर्वकालदेखि धानकोदो (चिनो) Porso Millet खेती हुदै आएको पाईन्छ ।
विभिन्न अध्ययन अनुसन्धानले नेपालका विभिन्न पहाडी जिल्लाहरुमा यसको खेती भईरहेको उल्लेख भएपनि मकवानपुर जिल्लाको मकपानपुरगढी वडा नं. १ मा पनि करिब ५० औ वर्ष देखि धानकोदो खेती हुदै आईरहेको वडा न.१ का वडाध्यक्ष श्री आईत सिं लो ले जानकारी दिए ।
केहि वर्ष पहिला बढी मात्रामा लगाउदै गरेको धानकोदो पनि क्रमश: घट्दो अवस्थामा रहेको छ । मकवानपुरगढी वडा न.१ रानीडाँडा लगायतका स्थानमा हाल अनुमानित एकसय रोपनी क्षेत्रफलमा धानकोदो खेती लगाएको कृषक छोइशान्ति दोङ्गले बताइन । दोङ्गले अहिले ५ कठामा धानकोदो लगाएकी छिन् ।
धानकोदो (चिनो) को दाना फलेर भुस हटाई भात वा खिरका साथै दाना भुटेर वा पिठो बनाएर विभिन्न परिकार बनाई खाने गरिन्छ । यसको दानामा ११.९ प्रतिशत पानी १२.५ प्रतिशत प्रोटिन, १.१ प्रतिशत चिल्लो पदार्थ, ७०.४ प्रतिशत कार्बोहाईड्रेट पाईन्छ ।
मधुमेह रोगको समस्या भएका मानिसका लागि चिनो अति उतम खानेकुरा मानिन्छ । चिनोमा फेनोल्स, फाइटेट्रस नाम गरेका क्यान्सर निरोधक फाइटोकेमिकल्स र क्याल्सियम, म्यगनेसियम, सोडियम, म्याग्निज, आइरन जस्ता खनिजतत्वहरु पाईने मकवानपुर गढी गाउंपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले बताए ।
मधुमेह रोगको समस्या भएकाहरूलाई चिनो धानको भात अति उतम खानेकुरा मानिन्छ । चिनोमा फेनोल्स, फाइटेट्रस नाम गरेका क्यान्सर निरोधक फाइटोकेमिकल्स र क्याल्सियम, म्यगनेसियम, सोडियम, म्याग्निज, आइरन जस्ता खनिजतत्वहरु पाईन्छन् ।
मकवानपुर । जुवा खेल्ने खेलाउनेमा सक्रिय रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले १८ जनालाई पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीले हेटौंडा-६ चौघडामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । चौघडा स्थित धुर्ब राईको घरमा जुवा खेलिरहेको बेला उनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
उनीहरुको साथबाट कौडा १७ थान र नगद ३१ हजार ८२० रुपैयााँ बरामत गरिएको प्रहरीले जनाएको छ ।कौडा खेल्ने, च्याखे थाप्ने, हेर्ने १७ जना पुरुष र घरबेटी १ जना पुरुष गरी जम्मा १८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मकवानपुर । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ ।
आज साँझ चामल,सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । अत्यन्त नियम निष्ठापूवर्क मनाइने छ्ठमा दिनभर उपवास बसेका व्रतालुले साँझ निष्ठाकासाथ खिर बनाएर घरपरिवारका सदस्यहरु संगै आफू पनि खाने गर्छ्न । सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ व्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो खाने खाएका कुरा खाएपछि शुक्रबार विधिवत रुपमा सुरु भएको हो ।
भोली आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यको अर्घ दिइ छठ समापन गरिन्छ ।
सामा चकेवा पर्व शुरू
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि शुरु भएको छ। यो पर्व १० दिनसम्म चल्नेछ भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ-आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् ।

आजको दिन बिहानै दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन्। सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रंगहरु भरेर रङ्गीचङ्गी बनाइन्छ। रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म नाचगान गर्दै चेलीबेटीहरुले सामा चकेवा खेल खेल्छन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा वडा नम्बर–१० मा रहेको तरकारी बजारमा विहीबार आगोलागी भएको छ । हेटौंडा १० स्थित टीसीएनमा रहेको तरकारी बजारमा आगोलागी भएको हो । टिसिएन तरकारी बजार संगै रहेको एक होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको मकवानपुर प्रहरीले जनाएको छ ।
तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीय वासिन्दाहरुको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए । प्रहरीका अनुसार आगलागीबाट आधा दर्जन बढी तरकारी पसल जलेर नष्ट हुनुका साथै लाखौ रुपैयाँ बराबरको सामान क्षेती भएको छ ।
तरकारी बजार लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमबल, एक्साभेटर, ससस्त्र, जनपथ प्रहरी, स्थानीयहरुको सक्रियतामा करिब एक घण्टापछी नियन्त्रणमा आएको छ । आगोलागीबाट कुनै मानवीय क्षेती नभएको प्रहरीले जानकारी दिएको छ ।

