मकवानपुर । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ ।
आज साँझ चामल,सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । अत्यन्त नियम निष्ठापूवर्क मनाइने छ्ठमा दिनभर उपवास बसेका व्रतालुले साँझ निष्ठाकासाथ खिर बनाएर घरपरिवारका सदस्यहरु संगै आफू पनि खाने गर्छ्न । सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ व्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो खाने खाएका कुरा खाएपछि शुक्रबार विधिवत रुपमा सुरु भएको हो ।
भोली आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यको अर्घ दिइ छठ समापन गरिन्छ ।
सामा चकेवा पर्व शुरू
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि शुरु भएको छ। यो पर्व १० दिनसम्म चल्नेछ भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ-आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् ।

आजको दिन बिहानै दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन्। सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रंगहरु भरेर रङ्गीचङ्गी बनाइन्छ। रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म नाचगान गर्दै चेलीबेटीहरुले सामा चकेवा खेल खेल्छन् ।

