मकवानपुर । बागमती प्रदेश सभाको दोश्रो अधिवेशनको पन्धौं बैठकमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्षको लागि बागमतीको बजेट ६२ अर्ब ७० करोड ९० लाख बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक वर्षको लागि प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार विनियोजन गरिएको छ। कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरिएको हाे ।
कुल विनियोजन मध्ये चालु तर्फ ४२ दशमलब ५८ प्रतिशत, पुँजीगत तर्फ ५६ दशमलब ६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ शुन्य दशमलब ८ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट ५ अर्व २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्रातिबाट १४ अर्व ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको छ ।
प्रदेशको भौतिक मन्त्रालयका लागि २१ अर्ब ६६ करोडको बजेट छुट्याइएको छ । आगामी आर्थिक बर्षका लागि प्रदेशका ११ वटा मन्त्रालय मध्यमा सबैभन्दा धेरै भौतिक मन्त्रालयका २१ अर्ब रुपैयाँ भन्दा बडी बजेट छुट्याइएको हो ।
सामुदायिक शिक्षा गुणस्तरीय बनाउन ११ करोड बजेट छुट्याएको छ भने सामुदायिक विद्याय भवन निर्माण तथा सुधारको लागि ६१ करोड छुट्याएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भ्यूटावर निर्माण नगर्ने भएको छ । भौतिक पूर्वाधार विकास विकासलाई जोड दिइएको छ । आगामी आर्थिक वर्षमा बजेटबाट सडक क्षेत्रमा प्रवेशद्वार निर्माण नगरिने भएको छ । हेटौँडाको कर्रा करिडोर निर्माणको लागि १५ करोड विनियोजन गरिएको छ ।
बागमती प्रदेशः स्वस्थ्य प्रदेश भन्ने कार्यक्रम अन्तरगत मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि १२ करोड बजेट छुट्याइएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयलाई पनि ४ अर्ब बजेट छुट्याइएको छ ।
बागमती प्रदेशमा कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रुपमा अगाडी बढाइने भएको छ । पशुपन्छी तथा कृषिका लागि ३ अर्व बजेट छुट्याइएको छ ।
प्रदेशभित्र केरा खेती गर्ने किसानलाई प्रोत्साह गरिने छ । उच्च प्रबिधियुक्त च्याउ उत्पादनमा सहयोग गरिने, पशु श्रोतकेन्द्र बिकासका लागि बजेट छुट्याइएको छ ।
प्रदेश भित्र प्रत्येक निर्वाचन क्षेत्रमा प्राङ्गारीका मल कारखानाको लागि ५ करोड रुपैँया विनियोजन गरिएको छ । प्रदेश भित्र कृषकलाई परिचयपत्र लागु गरिने छ ।
सामाजिक विकास मन्त्रालयलाई ४ अर्ब बजेट छुट्याइएको छ । चेपाङको पहिचानसँग जोडिएको चिउरी र चमेरा संरक्षण कार्यक्रम प्राथमिकतामा राखिएको लामाले बताए । प्रदेशमा महिला पहिला भन्ने कार्याक्रम लागु गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिने भएको छ ।
चितवन जिल्लामा अलपत्र रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन व्यवस्था गरीएको छ ।
मकवानपुर । बजेटका सन्दर्भमा बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता जगन्नाथ थपलियाले बजेट ढुलमुले भएको प्रतिक्रिया दिएका छन् ।
दिगो विकासका आधारमा १७ वटालाई यो बजेटले दरो रुपमा समात्न नसकेको उनले बताए । खाद्य सुरक्षा, सरसफाइ , रोजगारीलाई मर्यादा दिने, असमानता हटाउने कुनै ठोस योजना नभएको पुर्वाधार आवास ब्यबस्थापनमा कुनै योजना नभएको उनले बताए । ।
“बजेटमा व्यबस्थित योजना बन्न सकेन,जलबायु सन्तुलन ल्याउने बिषयमा प्रदेश सरकार मौन छ,प्रदेशका शिक्षामा रणनीति तय गर्ने एक शब्द राखेर कुनै गुणस्तरीय दिने कार्यक्रम छैन” उनले भने “परिक्षामा कमजोर विद्यार्थीले नोट र किताब सार्न चाहिँ सिपालु विद्यार्थी जस्तै बिगतमा बजेट र अन्य प्रदेशको टुक्रा टुक्रा जोडेर पेश गरिएको छ ।”
बजेट कार्यक्रमपछि पत्रकारहरुसँग प्रतिक्रिया दिंदै थपलियाले भने “बजेट प्रदेश अनुसार कुनै शिर्जनात्मकता केही छैन,युवा रोजगारी कुनै ठोस कार्यक्रम छैन, बिदेश पलायन हुने युवाका लागि कुनै कार्यक्रम छैन,राजस्व वृद्धिका कुनै तथ्यांकीय योजना छैन ।”
पूर्व सरकारले ल्याएका गौरवका योजनालाई जस्तै मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दुग्ध र सहकारी बोर्ड आदिलाई पुर्नसंरचना गर्ने नाममा विघटन गर्ने दाउमा गरेको उनले बताए ।
“बिचौलियाहरुको सेटिङका आधारमा मेशिन औजार खरिद गर्ने कुरालाई यो बजेटले प्रोत्साहित गरेको देखिन्छ” उनले भने “प्रादेशिक संसदीय स्वरुपलाई जुन ढङ्गले आक्रमण भएको छ त्यसलाई उचित जवाफ यो बजेटले दिन सकेको छैन।”
मकवानपुर । आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट बागमती प्रदेश सरकारका अर्थ मन्त्री बहादुरसिंह लामाले बजेट भाषण सुरु गरेका छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री लामाले यस बर्षकाे बजेटले सबै पक्षकाे उचित सम्बाेधन गरेकाे दाबी ससंद पस्नु अघि प्रतिकृया दिए ।
मकवानपुर । बागमती प्रदेश सरकारकाे आर्थिक वर्ष २०८०/०८१ को बजेट आज शुक्रबार सार्वजनिक हुने भएकाे छ । नेपालकाे संविधानमा व्यवस्था भए अनुसार प्रदेश सरकारले शुक्रबार वार्षिक बजेट सार्वजनिक गर्ने भएकाे हाे ।
शुक्रबार अपराह्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएकाे छ । गत जेष्ठ १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे प्रदेश सरकारले आव २०८०/०८१ को लागि करिब ५१ अर्बको बजेट ल्याउने तयारी गरेको बताइएकाे छ ।
विशेषगरी कृषि, पर्यटन, भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालगायत विषय प्राथमिकतामा राखेर बजेट सार्वजनिक हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएकाे छ ।
आज काेशी प्रदेश बाहेकका प्रदेश सरकारले बजेट सार्वजनिक गर्दैछ । कोशी प्रदेश सरकारले जेठ ३२ गते अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको अनुमानित बजेट सार्वजनिक गरिसकेकाे छ ।
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज दिउँसो बस्दैछ ।
बैठक अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रमुख सचिव खड्का अनुसार, आगामी आर्थिक वर्ष २०८०।०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो । आजको बैठकमा प्रदेशको आर्थिक मामिला मन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०।८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ ।
प्रदेश सभाको बैठक यसअघि गत जेष्ठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो । नीति तथा कार्यक्रममा अत्यावश्यक कार्यक्रमहरु छुटाएको भन्दै प्रमुख प्रतिपक्ष रुष्ट छ ।
