मकवानपुर । बागमती प्रदेश सभाको दोश्रो अधिवेशनको पन्धौं बैठकमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्षको लागि बागमतीको बजेट ६२ अर्ब ७० करोड ९० लाख बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक वर्षको लागि प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार विनियोजन गरिएको छ। कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरिएको हाे ।
कुल विनियोजन मध्ये चालु तर्फ ४२ दशमलब ५८ प्रतिशत, पुँजीगत तर्फ ५६ दशमलब ६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ शुन्य दशमलब ८ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट ५ अर्व २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्रातिबाट १४ अर्व ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको छ ।
प्रदेशको भौतिक मन्त्रालयका लागि २१ अर्ब ६६ करोडको बजेट छुट्याइएको छ । आगामी आर्थिक बर्षका लागि प्रदेशका ११ वटा मन्त्रालय मध्यमा सबैभन्दा धेरै भौतिक मन्त्रालयका २१ अर्ब रुपैयाँ भन्दा बडी बजेट छुट्याइएको हो ।
सामुदायिक शिक्षा गुणस्तरीय बनाउन ११ करोड बजेट छुट्याएको छ भने सामुदायिक विद्याय भवन निर्माण तथा सुधारको लागि ६१ करोड छुट्याएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भ्यूटावर निर्माण नगर्ने भएको छ । भौतिक पूर्वाधार विकास विकासलाई जोड दिइएको छ । आगामी आर्थिक वर्षमा बजेटबाट सडक क्षेत्रमा प्रवेशद्वार निर्माण नगरिने भएको छ । हेटौँडाको कर्रा करिडोर निर्माणको लागि १५ करोड विनियोजन गरिएको छ ।
बागमती प्रदेशः स्वस्थ्य प्रदेश भन्ने कार्यक्रम अन्तरगत मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि १२ करोड बजेट छुट्याइएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयलाई पनि ४ अर्ब बजेट छुट्याइएको छ ।
बागमती प्रदेशमा कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रुपमा अगाडी बढाइने भएको छ । पशुपन्छी तथा कृषिका लागि ३ अर्व बजेट छुट्याइएको छ ।
प्रदेशभित्र केरा खेती गर्ने किसानलाई प्रोत्साह गरिने छ । उच्च प्रबिधियुक्त च्याउ उत्पादनमा सहयोग गरिने, पशु श्रोतकेन्द्र बिकासका लागि बजेट छुट्याइएको छ ।
प्रदेश भित्र प्रत्येक निर्वाचन क्षेत्रमा प्राङ्गारीका मल कारखानाको लागि ५ करोड रुपैँया विनियोजन गरिएको छ । प्रदेश भित्र कृषकलाई परिचयपत्र लागु गरिने छ ।
सामाजिक विकास मन्त्रालयलाई ४ अर्ब बजेट छुट्याइएको छ । चेपाङको पहिचानसँग जोडिएको चिउरी र चमेरा संरक्षण कार्यक्रम प्राथमिकतामा राखिएको लामाले बताए । प्रदेशमा महिला पहिला भन्ने कार्याक्रम लागु गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिने भएको छ ।
चितवन जिल्लामा अलपत्र रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन व्यवस्था गरीएको छ ।

