मकवानपुर । बागमती प्रदेश सरकारकाे आर्थिक वर्ष २०८०/०८१ को बजेट आज शुक्रबार सार्वजनिक हुने भएकाे छ । नेपालकाे संविधानमा व्यवस्था भए अनुसार प्रदेश सरकारले शुक्रबार वार्षिक बजेट सार्वजनिक गर्ने भएकाे हाे ।
शुक्रबार अपराह्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएकाे छ । गत जेष्ठ १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे प्रदेश सरकारले आव २०८०/०८१ को लागि करिब ५१ अर्बको बजेट ल्याउने तयारी गरेको बताइएकाे छ ।
विशेषगरी कृषि, पर्यटन, भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालगायत विषय प्राथमिकतामा राखेर बजेट सार्वजनिक हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएकाे छ ।
आज काेशी प्रदेश बाहेकका प्रदेश सरकारले बजेट सार्वजनिक गर्दैछ । कोशी प्रदेश सरकारले जेठ ३२ गते अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको अनुमानित बजेट सार्वजनिक गरिसकेकाे छ ।

