मकवानपुर । कार्तिक २९ गते परेकाे यसवर्षकाे भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस वर्षकाे तिहार कार्तिक २५ गते शनिबारबाट सुरु हुदैछ । २५ गते काग तिहार र धन्वन्तरी जयन्ती परेकाे छ । यसैगरी २६ गते कुकुर तिहार र लक्ष्मीपूजा रहेकाे छ । २७ गते गाईतिहार परेकाे छ भने २८ गते गाेवर्धन पूजा तथा म्हपूजा रहेकाे छ । कार्तिक २९ गते भाइटिकाका साथै नेवार समुदायकाे किजा पूजा पछि यस वर्षकाे तिहार सकिने छ ।
यसैगरी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अन्य देशका लागि भाइटीकाकाे मिति र समय तोकेको छ ।
_fEXL4R2ltg.jpg)
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध ५ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान र दिउँसोको समय हेटौंडा १५ रातोमाटेबाट उनीहरूलाई गाँजासहित नियन्त्रण लिइएको हो ।
आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेबाट ९ केजी ९ सय ८० ग्राम लागूऔषध गाँजासहित मकवानपुर मनहरी गाउँपालिका–८ का १९ वर्षीय दीपक मुक्तान, ५० वर्षीय बुद्धीमान मुक्तान र ४० वर्षीय मंगल सिं थोकरलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।
उनका अनुसार हेटौँडाबाट बीरगन्जतर्फ जाँदै गरेको ना ४ ख ५९२२ नम्बरको यात्रुवाहक बस जाँच गर्दा उक्त परिमाणको लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
यसैगरी आइतबार दिउँसो हेटौंडा –१५, रातोमाटेबाट १० केजी लागूऔषध गाँजासहित भारत बिहार राज्य मोतिहारी थानाआधापुर पोष्ट ग्राम औरया जमुनभार बस्ने २२ वर्षीय सदुला अन्सारी र भारत बिहार राज्य उत्तर प्रदेश जिल्ला प्रयागराज थानाफुलपुर पोष्टग्राम मिर्जापुर बस्ने २४ वर्षीय रजनिस सिंङलाई नियन्त्रणमा लिइएको भण्डारीले जानकारी दिए ।
चितवन तर्फबाट बिरगंजतर्फ जादै गरेको ना.६ ख.६७५४ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार अन्सारी र सिङको साथबाट ५/५ केजी लागूऔषध सहित नियन्त्रणमा लिइएको हो ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । आइतबार हेटौंडा–८ र हेटौंडा–४ मा सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित कर्रा पुल नजिकै शनिबार दिउँसो सवारी दुर्घटना हुँदा ३ जना घाइते भएको जानकारी दिए ।
हेटौंडा १५ रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.४४ प.८९२० नम्वरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको ना १ ह ९३८९ नं.को अटो एकआपसमा ठोकिँदा मोटरसाइकल उच्छिटिएर हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको साईकल यात्री समेतलाई ठक्कर दिदा ३ जना घाइते भएको भण्डारीले बताए ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक हेटौंडा–१ चौकीटोल बस्ने २२ वर्षीय महेश लामा, मोटरसाइकलमा सवार हेटौंडा–९ पशुपतिनगर बस्ने २६ वर्षीय गोबिन्द श्रेष्ठ र साईकल यात्री हेटौंडा–८ मैदाटोल बस्ने ७० वर्षीय तिलक बहादुर बुढाथोकी रहेका छन् ।
घाइतेमध्ये मोटरसाइकल चालक महेशको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि हेटौंडा कै सहकारी अस्पताल लगिएको भण्डारीले बताए । अन्य घाइतेहरुको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको छ ।
प्रहरीले अटो चालक हेटौंडा–८, कमाने बस्ने ५० वर्षीय राममणि घिमिरेलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी, आजै दिउँसो हेटौंडा–८ गौरीचोकस्थित भएको सवारी दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।
कमानेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २१ प ९६४६ नम्वरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा ३ जना घाइते भएको मकवानपुर प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
घाइते हुनेहरुमा पैदलयात्री सोही ठाउँ बस्ने १९ वर्षीया रेखा पुर्रकुटी, मोटरसाइकल चालक हेटौंडा–१७ हटिया बस्ने १८ वर्षीय हिमाल भुजेल र मोटरसाइकलमा सवार हेटौंडा–७ नागस्वति बस्ने २२ वर्षीया गोमा तिमल्सिना रहेका छन् ।
घाइते तीनै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुर । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ७० बर्ष उमेर पूरा भएका १०२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा सहभागी मकवानपुर थाहा नगरपालिका ४ कि ७५ बर्षीया सान्नानी अधिकारीले आश्रमबाट पाएको सम्मान ज्येष्ठ नागरिकको लागि उर्जा भएको बताइन् । २५ वर्षदेखि आश्रममा लागेकी अधिकारीले ज्येष्ठ नागरिकको लागि सन्तानको माया र हेरचाह सबैभन्दा उच्चसम्मान हुने बताइन् ।
यसैगरी ७२ बर्षीय माधव अधिकारीले उमेरको कारण आफूले जीवनमा पहिलो पटक सम्मान पाउँदा औधि खुसी लागेको बताए । नेपाल उद्योग महासंघमा लामो समय नेतृत्व गरेका अधिकारीले बालबालिकाहरुलाई जीवनमा अभाव पनि हुन्छ भन्ने आभाष नदिएर हुर्काएका अभिभावकहरु नै कालान्तरमा अभावमा रहनु पर्ने अवस्था आफूले देखेको उल्लेख गर्दै भने “सन्तान वैदेशिक रोजगारीमा जाँदा एक्लिएका बाबुआमाहरुको लागि सोच्ने ब्यक्तिको अभाव समाजका अहिले खड्किएकाे छ ।”
“आफूले धेरै संघर्ष गरेको तर, सन्तानले बेवास्ता गरेको कारण धेरै ज्येष्ठ नागरिक पीडामा रहेको पाएको छु” उनले भने । ज्येष्ठ नागरिकको रुपमा पहिलो पटक सम्मान पाउदा अलौकिक आनन्द प्राप्त भएको अर्का वृद्धा दामोदर लम्सालले बताए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा प्रदेशका पुर्व श्रम तथा यातायात मन्त्री एकालाल श्रेष्ठले जन्म मृत्युु प्रकृतिको लय भए पनि जिम्मेवारी पूरा गर्नु सबैको कर्तव्य भएको बताए । “आमा बुबाले सन्तानको लागि सबै जिम्मेवारी पूरा गर्छन, उमेर ढल्कदै जांदा सम्मानदेखि मृत्युपछि श्रद्धा गरेर सस्कृति अनुसार कर्म गर्ने परम्परा समाजमा छ, तर केही ज्येष्ठ नागरिकहरू जीवनकालमै अपहेलित हुनुपर्ने पीडा पनि यही समाजमा देखिन्छ” उनले भने ।
आफूलाई आफैले शान्ति दिने, ज्येष्ठ नागरिकको सम्मान स्वरुप राज्यले ज्येष्ठ नागरिक भत्ता दिएको उनले बताए । अब यसलाई मासिक १० हजार पुर्याउने प्रयासमा आफू लागि परेको उनले बताए ।

बृद्वभत्ताले घर चलाउन पर्ने अवस्था पीडादायी भएको उल्लेख गर्दै उनले भने “अर्थतन्त्र कहालीलाग्दो भएको छ, ब्यवसाय बिग्रेर घर लिलाम हुने अवस्थामा पुगेको छ, यो बेला ज्येष्ठ नागरिकहरुलाई उर्जा र प्रेरण भर्ने काम केन्द्रले गरेको छ ।”
यसैगरी कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले सन्तान वैदेशिक रोजगारमा जांदा ज्येष्ठ नागरिकको हेरचाहमा समस्या भएको बताए । ज्येष्ठ नागरिकले सम्मान पाएमा मात्रै परिवार र समाज समृद्ध हुनसक्ने उनले बताए ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको क्षेत्रीय संयोजक शुशीला दिदीको अध्यक्षतामा भएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले ज्येष्ठ नागरिकको योगदानको सम्मान तथा कदर गर्ने प्रयास गरेको बताइन् ।
कार्यक्रममा केन्द्रको विभिन्न शाखाका सञ्चालकहरुको समेत उपस्थिती रहेको कार्यक्रम सञ्चालक बिकेमणी गुरुङले बताए । समाजमा सकारात्मक सन्देश प्रदान गर्न केन्द्रले महत्वपूर्ण योगदान गर्दै आएको सहभागीहरुले बताएका थिए । कार्यक्रममा सम्मानित तथा सहभागी अन्य जेष्ठ नागारिकको लागि मनाेरञ्जनाको कार्यक्रम प्रस्तुत गरिएकाे थियाे ।
मकवानपुर । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भइ शुक्रबार गएको भुकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
बागमती सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले शनिबार विज्ञप्ती जारी गर्दै भुकम्प पीडितकाे प्रभावकारी उद्दार, उपचार, राहत र पुनर्स्थापनाकाे लागि १ कराेड ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए ।
‘विपद्काे घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकारकाे साथमा रहनेछ’ मन्त्री श्रेष्ठ भने ‘भुकम्पमा परी ज्यान गुमाउने व्यक्तिहरु प्रति श्रद्धाञ्जली र आफन्तजनहरुमा समवेदना व्यक्त गर्दै घाइतेहरुकाे शीघ्र स्वाास्थ्यथ्य लाभको कामना गर्दछौं ।’
श्रेष्ठले विपद्काे घडीमा आवश्यक सहयोग गर्न नागरिक समाज र गैरसरकारी संस्थाहरुलाई आग्रह समेत गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसले जाजरकोट भुकम्प पीडितका लागि ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।
कांग्रेसले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा उपचारका लागि उक्त रकम उपलब्ध गराउने जानकारी गराएको हो ।
कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भुकम्पमा परेर ठूलो क्षति भएको छ । कांग्रेसले स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला हृदयले मानवीय सेवामा जुट्न आग्रह गरेको छ ।
यसैगरी भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा उपचार बारे निर्णय गर्न हाल सिंहदरबारमा बैठक जारी छ ।
बैठक उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो । बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने जनाइएको छ ।
