मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । आइतबार हेटौंडा–८ र हेटौंडा–४ मा सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित कर्रा पुल नजिकै शनिबार दिउँसो सवारी दुर्घटना हुँदा ३ जना घाइते भएको जानकारी दिए ।
हेटौंडा १५ रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.४४ प.८९२० नम्वरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको ना १ ह ९३८९ नं.को अटो एकआपसमा ठोकिँदा मोटरसाइकल उच्छिटिएर हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको साईकल यात्री समेतलाई ठक्कर दिदा ३ जना घाइते भएको भण्डारीले बताए ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक हेटौंडा–१ चौकीटोल बस्ने २२ वर्षीय महेश लामा, मोटरसाइकलमा सवार हेटौंडा–९ पशुपतिनगर बस्ने २६ वर्षीय गोबिन्द श्रेष्ठ र साईकल यात्री हेटौंडा–८ मैदाटोल बस्ने ७० वर्षीय तिलक बहादुर बुढाथोकी रहेका छन् ।
घाइतेमध्ये मोटरसाइकल चालक महेशको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि हेटौंडा कै सहकारी अस्पताल लगिएको भण्डारीले बताए । अन्य घाइतेहरुको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको छ ।
प्रहरीले अटो चालक हेटौंडा–८, कमाने बस्ने ५० वर्षीय राममणि घिमिरेलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी, आजै दिउँसो हेटौंडा–८ गौरीचोकस्थित भएको सवारी दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।
कमानेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २१ प ९६४६ नम्वरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा ३ जना घाइते भएको मकवानपुर प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
घाइते हुनेहरुमा पैदलयात्री सोही ठाउँ बस्ने १९ वर्षीया रेखा पुर्रकुटी, मोटरसाइकल चालक हेटौंडा–१७ हटिया बस्ने १८ वर्षीय हिमाल भुजेल र मोटरसाइकलमा सवार हेटौंडा–७ नागस्वति बस्ने २२ वर्षीया गोमा तिमल्सिना रहेका छन् ।
घाइते तीनै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
