मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध ५ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान र दिउँसोको समय हेटौंडा १५ रातोमाटेबाट उनीहरूलाई गाँजासहित नियन्त्रण लिइएको हो ।
आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेबाट ९ केजी ९ सय ८० ग्राम लागूऔषध गाँजासहित मकवानपुर मनहरी गाउँपालिका–८ का १९ वर्षीय दीपक मुक्तान, ५० वर्षीय बुद्धीमान मुक्तान र ४० वर्षीय मंगल सिं थोकरलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।
उनका अनुसार हेटौँडाबाट बीरगन्जतर्फ जाँदै गरेको ना ४ ख ५९२२ नम्बरको यात्रुवाहक बस जाँच गर्दा उक्त परिमाणको लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
यसैगरी आइतबार दिउँसो हेटौंडा –१५, रातोमाटेबाट १० केजी लागूऔषध गाँजासहित भारत बिहार राज्य मोतिहारी थानाआधापुर पोष्ट ग्राम औरया जमुनभार बस्ने २२ वर्षीय सदुला अन्सारी र भारत बिहार राज्य उत्तर प्रदेश जिल्ला प्रयागराज थानाफुलपुर पोष्टग्राम मिर्जापुर बस्ने २४ वर्षीय रजनिस सिंङलाई नियन्त्रणमा लिइएको भण्डारीले जानकारी दिए ।
चितवन तर्फबाट बिरगंजतर्फ जादै गरेको ना.६ ख.६७५४ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार अन्सारी र सिङको साथबाट ५/५ केजी लागूऔषध सहित नियन्त्रणमा लिइएको हो ।
