मकवानपुर । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । राति १ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले जानकारी दिएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्य घटेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको बिज्ञपति मार्फत जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत छ ।
नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।
उक्त क्षेत्रमा डिजेल र मट्टितेलको भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ ।

मकवानपुर । हेटौंडामा रहेको सिद्धार्थ शिशु सदन माविमा पठन संस्कृति विकासका लागि अभिमूखीकरण भएको छ । बिहीबार किताबघर, हेटौंडाको संयोजनमा विद्यार्थीहरूको पठन संस्कृति विकासका लागि १ दिने अभिमूखीकरण भएको छ ।
विद्यालयका कक्षा ७, ८ र ९ का विद्यार्थीहरूका लागि किताब पढ्ने बानीको विकासका सन्दर्भमा अभिमूखिकरण कार्यक्रम आयोजना भएको किताबघरका संचालक छवि अनित्यले बताए । अभिमूखीकरणमा बालबालिकाहरूलाई पाठ्यक्रमभन्दा बाहिरका किताबको आवश्यकता र महत्त्वका विषयमा जानकारी गराइएको थियो । किताब पढ्ने बानीको विकासले शैक्षिक उपलब्धीमा पुग्ने सहयोग सम्बन्धमा बालबालिकाहरूलाई जानकारी गराइएको अनित्यले जानकारी दिए ।
यसैगरी शुक्रबार विद्यालयमा किताबघरको संयोजनमा बालबालिकाहरूका लागि पुस्तक प्रदर्शनी समेत आयोजना हुने भएको छ । किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८० अन्तरगत प्रदर्शनी हुन लागेको हो । कार्यक्रमले बालबालिकाहरूमा पठन संस्कृतिबारे अभिरुची बढाउन सहयोग पुग्ने विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक केदार न्यौपानेले बताए ।
यसअघि किताबघरले हेटौंडा उपमहानगरपालिकाका विभिन्न सरकारी तथा सस्थगत विद्यालयमा पुस्तक प्रदर्शनी गरिसकेको छ ।
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ । यो संगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
बिहीबार दिउँसो मकवानपुरगढी २ धवाडीपुल स्थित भित्रिसडक खण्डमा सुकौराबाट कान्तिलोकपथ तर्फ आउदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसी दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा चालक मकवानपुरगढी २ कुर्ले पाखा बस्ने अन्दाजी ३५ वर्षीय भिम बहादुर स्याङ्तान गम्भीर घाइते भइ उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारको लागि भरतपुर रिफर गरिएको थियो । उनको भरतपुर लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा चालकको श्रीमती अन्दाजी ३४ वर्षी रुपा स्याङतान र छोरी अन्दाजी ५ महिनाको बालिकाको घटनास्थलमा मृत्यु भएको थियो । मृतक ३ नै जनाको शव आवश्यक प्रक्रियाको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका २ मा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अर्को एक जना गम्भीर घाइते भएका छन् ।
मकवानपुरगढी गाउंपालिका धवाडीपुल स्थित भित्रिसडक खण्डमा सुकौराबाट कान्तिलोकपथ तर्फ आउदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई पुल छेउबाट १२ मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटना आमा छोरीको घटना स्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक मकवानपुरगढी २ कुर्ले पाखा बस्ने आन्दाजी ३५ बर्षिय भिम बहादुर स्याङतान गम्भीर घाइते भएका छन् । मोटरसाइकल पछाडी सवार निजकै श्रीमती अन्दाजी ३४ की रुपा स्याङतान र छोरी अन्दाजी ५ महिनाको बालिकाको घटनास्थलमा मृत्यु भएको छ ।
मोटरसाइकल चालक घाइते भएको र उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारको लागि भरतपुर रिफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको हेटौडामा उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आजबाट हुदैछ । आज मंसिर १४ गतेदेखि १७ गतेसम्म छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजना, मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा–१९ नेवारपानीमा प्रतियोगिता हुने मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्तकुमार सिटौला जानकारी दिए ।
आज हुने पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेल वडा नम्वर १७ विरुद्ध वडा नम्वर १९ बीच हुनेछ भने महिला भलिबल प्रतियोगिता वडा नम्वर १४ विरुद्ध वडा नम्वर १२ बीच हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र सान्त्वनाले १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष सिटौलाले बताए ।
पुरुष भलिवल तर्फ १२ वटा वडाले सहभागिता जनाएका छन् भने महिला भलिवल तर्फ ७ वटा वडाले सहभागिता जनाएकाे संयोजक पुष्प मैनालीले जानकारी दिए । उनका अनुसार पुरुष भलिवल तर्फ वडा नं ३, ४, ५, ६, ९, १०, ११, १२, १३, १६, १७ र १९ ले सहभागिता जनाएका छन् भने महिला भलिवल तर्फ ६, ९, १०, १२, १४, १७ र १९ वडाले मात्र सहभागिता जनाएका छन् ।
गत वर्ष भएको उपमेयरकपको पाँचौ सस्करणको उपाधि महिला तर्फ १९ नम्बर वडा र पुरुष तर्फ ११ नम्बर वडाले हात पारेको थियो ।
