मकवानपुर । हेटौंडामा रहेको सिद्धार्थ शिशु सदन माविमा पठन संस्कृति विकासका लागि अभिमूखीकरण भएको छ । बिहीबार किताबघर, हेटौंडाको संयोजनमा विद्यार्थीहरूको पठन संस्कृति विकासका लागि १ दिने अभिमूखीकरण भएको छ ।
विद्यालयका कक्षा ७, ८ र ९ का विद्यार्थीहरूका लागि किताब पढ्ने बानीको विकासका सन्दर्भमा अभिमूखिकरण कार्यक्रम आयोजना भएको किताबघरका संचालक छवि अनित्यले बताए । अभिमूखीकरणमा बालबालिकाहरूलाई पाठ्यक्रमभन्दा बाहिरका किताबको आवश्यकता र महत्त्वका विषयमा जानकारी गराइएको थियो । किताब पढ्ने बानीको विकासले शैक्षिक उपलब्धीमा पुग्ने सहयोग सम्बन्धमा बालबालिकाहरूलाई जानकारी गराइएको अनित्यले जानकारी दिए ।
यसैगरी शुक्रबार विद्यालयमा किताबघरको संयोजनमा बालबालिकाहरूका लागि पुस्तक प्रदर्शनी समेत आयोजना हुने भएको छ । किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८० अन्तरगत प्रदर्शनी हुन लागेको हो । कार्यक्रमले बालबालिकाहरूमा पठन संस्कृतिबारे अभिरुची बढाउन सहयोग पुग्ने विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक केदार न्यौपानेले बताए ।
यसअघि किताबघरले हेटौंडा उपमहानगरपालिकाका विभिन्न सरकारी तथा सस्थगत विद्यालयमा पुस्तक प्रदर्शनी गरिसकेको छ ।

