मकवानपुर । मकवानपुरको हेटौडामा उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आजबाट हुदैछ । आज मंसिर १४ गतेदेखि १७ गतेसम्म छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजना, मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा–१९ नेवारपानीमा प्रतियोगिता हुने मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्तकुमार सिटौला जानकारी दिए ।
आज हुने पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेल वडा नम्वर १७ विरुद्ध वडा नम्वर १९ बीच हुनेछ भने महिला भलिबल प्रतियोगिता वडा नम्वर १४ विरुद्ध वडा नम्वर १२ बीच हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र सान्त्वनाले १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष सिटौलाले बताए ।
पुरुष भलिवल तर्फ १२ वटा वडाले सहभागिता जनाएका छन् भने महिला भलिवल तर्फ ७ वटा वडाले सहभागिता जनाएकाे संयोजक पुष्प मैनालीले जानकारी दिए । उनका अनुसार पुरुष भलिवल तर्फ वडा नं ३, ४, ५, ६, ९, १०, ११, १२, १३, १६, १७ र १९ ले सहभागिता जनाएका छन् भने महिला भलिवल तर्फ ६, ९, १०, १२, १४, १७ र १९ वडाले मात्र सहभागिता जनाएका छन् ।
गत वर्ष भएको उपमेयरकपको पाँचौ सस्करणको उपाधि महिला तर्फ १९ नम्बर वडा र पुरुष तर्फ ११ नम्बर वडाले हात पारेको थियो ।

