मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ । यो संगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
बिहीबार दिउँसो मकवानपुरगढी २ धवाडीपुल स्थित भित्रिसडक खण्डमा सुकौराबाट कान्तिलोकपथ तर्फ आउदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसी दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा चालक मकवानपुरगढी २ कुर्ले पाखा बस्ने अन्दाजी ३५ वर्षीय भिम बहादुर स्याङ्तान गम्भीर घाइते भइ उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारको लागि भरतपुर रिफर गरिएको थियो । उनको भरतपुर लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा चालकको श्रीमती अन्दाजी ३४ वर्षी रुपा स्याङतान र छोरी अन्दाजी ५ महिनाको बालिकाको घटनास्थलमा मृत्यु भएको थियो । मृतक ३ नै जनाको शव आवश्यक प्रक्रियाको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

