मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार अर्थमन्त्री डा. महतलाई माउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्तासहितकाे टाेलीले १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनकाे लागि हेटौंडा आएका महतलाई मउवासंघले विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको हाे । ज्ञापनपत्रमा सरकारले एक अंकको व्याजदर कायम राख्ने राष्ट्रिय नीतिको तर्जुमा गर्नुपर्ने, औद्योगिक नगरी हेटौंडाको दोश्रो तथा वहुप्रतिक्षित औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको कार्य चाँडो सम्पन्न गर्नु पर्ने, थप उद्योगहरुको स्थापनाको कार्य चालु आर्थिक वर्ष २०८०/८१ भित्र सम्पन्न गर्नु पर्ने, उद्योगमा नेपाल सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र उद्योगको आन्तरिक सिबिएमार्फत मजदुरले गर्ने दोहोरो मागदाबीलाई एकद्वार प्रणालीमा जानुपर्ने उल्लेख छ ।
यसैगरी कोभिड महामारी, रुस–युक्रेन युद्ध, सार्वजनिक ऋणको आकार बढ्दै जानु, औद्योगिकीकरण र लगानीको वातावरणको अभाव कायम रहनु, वैदेशिक आयात व्यापारको बृद्धि हुँदै जानु, सरकार परिवर्तनसँगै सार्वजनिक नीतिहरुको परिवर्तन भइरहनुले आम नागरिक/उद्योगी/व्यवसायीहरुको मनोवल उच्च नहुने बताउँदै देशको आर्थिक संकट समाधानका लागि सरकारले तत्काल कदम चल्नुपर्ने ज्ञापनपत्रमा भनिएकाे छ ।यस्तै क्रसर व्यवसायहरु नवीकरण नभएकोले यथाशिघ्र नवीकरण गरी संचालन कार्यमा सहजीकरण गर्नुपर्ने, तेश्रो मुलुकबाट आयात हुने कच्चा पदार्थका ढुवानीलाई नेपालस्थित सुख्खा बन्दरगाहमा नै फिर्ता हुनुपर्ने मउवासंघकाे माग छ ।
ज्ञापनपत्रमा उद्योगले लिजमा लिएको सरकारी जग्गामा बनाउने संरचनाहरुमा वित्तीय सुविधा दिन सम्बन्धित बैंकहरुलाई निर्देशन गर्न केन्द्रीय बैंक तथा उद्योग मन्त्रालयसँग पहल गर्नु पर्ने, हेटौंडाको राप्ती खोला पश्चिमतर्फ अवस्थित उद्योगहरु सहज बाताबरणमा संचालनकाे लागि अलग्गै औद्योगिक फिडर कायम गर्नुपर्ने, उद्योगले प्रयोग गर्ने विद्युत लाइनमा जडित क्षमताको आधारमा लिइने डिमाण्ड शुल्क हटाउने र युनिट शुल्कमात्र लिने व्यवस्था गर्नुपर्ने, बदलिँदो आर्थिक परिवेश अनुसार नव–प्रवर्तन एवम् नव–उद्यमलाई प्रोत्साहन, प्रवर्द्धनात्मक एवम् व्यवस्थापन गर्न नेपाल सरकारले मकवानपुर उद्योग वाणिज्य संघको पनि सहभागितामा बाग्मती प्रदेश स्तरिय व्यापार इन्क्युबेशन केन्द्रको स्थापनाको लागि पहलको गर्नुपर्ने संघको माग छ ।
वित्तीय संस्थाबाट ऋण लिँदा लगभग शून्य जोखिम भएका अनावश्यक शिर्षकहरु अन्तर्गत पनि बीमा गर्नुपर्ने अनिवार्यताले ऋणको लागत वृद्धि भएको, राष्ट्रिय राजमार्ग बिस्तार गर्दा बिस्थापित हुने घरधनीलाई उचित क्षतिपूर्ति र मुआब्जा तथा व्यवसायीहरुलाई वैकल्पिक योजना मार्फत सम्बोधन गर्नुपर्ने, हेटौँडामै नापतौल कार्यालय स्थापना गर्नुपर्ने र प्रदेशस्तरीय स्वास्थ्य विज्ञान कलेज तथा विश्वविद्यालय स्थापना गर्नुपर्ने माग पनि संघले राखेको छ ।
ज्ञापनपत्र बुझ्दै संघीय सरकारका अर्थमन्त्री महतले उद्योग व्यवसायीकाे साथमा सरकार रहेकाेले परेकाे समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाए । ‘व्यवसायीहरु चर्को व्याजदर, निर्माण सकिएकाे अवस्थामा भुक्तानी नपाउने समस्यालाई निराकरण गर्न सरकार तयार रहेको छ’ महतले भने। वित्त क्षेत्रमा अनुशासन र मौद्रित नीति लागू भइसकेकोले उद्योग व्यवसाय फस्टाउने विश्वास उनले दिलाए ।
हेटौंडामा रहेको औद्योगिक क्षेत्र उद्योग वाणिज्य र नीजि क्षेत्रसँगको सहकार्यमा अघि बढाइने बताउँदै उनले भने ‘हेटौंटा सिमेण्ट उद्योगको हकमा सरकारले छिट्टै ठाेस निचोड निकाल्ने छ ।’ अहिले बहुवर्षिय योजनाले गर्दा समस्या निस्केकोले अनियमित ढङ्गले ठेक्का लगाउने प्रथाको अन्त्य गरिनुपर्ने अर्थमन्त्री महतले बताए । क्रसर उद्योग तर्फ नवीकरण र कार्यक्षेत्रको विषयमा तत्काल छलफल गरिने उनकाे भनाइ थियाे ।
मकवानपुर । मकवानपुरको मनहरीमा जंगली हात्तीले घर भत्काएको छ । मनहरी गाउँपालिका ८ सिम्पानी स्थित टल्के चेपाङको घर जंगली हात्तीले भत्काएको हो ।
पौष १ गते राती हात्तीले चेपाङको ढुङ्गा र जस्ताले बनेको १ तले घरमा पूर्णरुपमा क्षति पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ । यसै गरि उक्त हात्तीले स्थानीय राम बहादुर तामाङको गोठमा समेत आंशिक क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी र पर्सा राष्टिय निकुञ्जको नेपाली सेनाको टोलीले स्थानीय समेतको सहयोगमा हात्तीलाई जंगल तर्फ पठाइएको छ । प्रहरीका अनुसार कुनै मानवीय क्षती भएको छैन ।
मकवानपुर । मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा ६ र ७ नम्बर वडा विजयी भएका छन् ।
चौथो सस्करणको प्रतियोगिता अन्तरगत आइतबार भएको पहिलो खेलमा ६ नम्बरले ५ नम्बर वडालाई ३-० गोल अन्तरले पराजित गरेको छ । यस्तै आइतबार नै भएको दोस्रो खेलमा वडा नम्बर १ लाई ७-० गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै ७ नम्बर बिजयी भएको छ ।
पहिलो खेलको म्यान अफ दि म्याच वडा नम्बर ६ का अभिषेक खड्का भए । उनले नगद २ हजार र ट्रफी प्राप्त गरे । यस्तै दोस्रो खेलको म्यान अफ द म्याज ७ नम्बरका टिम क्याप्टेन मनिष पौडेल म्यान अफ दि म्याच हुदै नगद २ हजार र ट्रफी प्राप्त गरे ।
मंसिर ३० गते देखि मनहरी-७ रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको सुरु भएको हो । शनिबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन खेलमा ९ नम्बर वडालाई १– ० ले हराउँदै ८ नम्बर विजयी भएको छ ।
पुस ५ गतेसम्म सञ्चालन हुने नक आउट प्रतियोगितामा मनहरीका ९ वटा वडाका फुटबल टिमको सहभागिता रहेको छ । मनहरी गाउँपालिकाको सहयोगमा खेलकुद विकास समिति मनहरीले प्रतियोगिता आयोजना गरेको हो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा ८ मा कमाने महाेत्सव हुने भएकाे छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा आगामी पौष ६ र ७ गते कमाने महोत्सव हुने भएको हाे ।
आइतबार हेटौडामा पत्रकार भेटघाट गरी महाेत्सवकाे जानकारी गराइएकाे हाे । स्थानीय उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले पौष ६ र ७ गते दुईदिने व्यापार प्रवर्द्धन तथा प्रदर्शनी (कमाने महोत्सव) हुने भएको महाेत्सव संयोजक विष्णुप्रसाद अर्यालले जानकारी दिए । वडाभित्रको स्थानीय व्यापार, व्यवसाय, साँस्कृतिक पहिचान, टोल विकास संस्थाको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएकाे अर्यालले बताए ।
७० वटा व्यापारिक स्टलहरु रहने प्रदर्शनी हेटौडा ८ कमानेको मुख्य सडकको निमचोकदेखि सागरचोकसम्मको सडक किनारा गरिने महोत्सव प्रचारप्रसार संयोजक सुदीपराज गिरीले जानकारी दिए । प्रदर्शनीमा स्थानीय उत्पादनको खानाको परिकार, साँस्कृतिक कार्यक्रमहरु समेत हुने महोत्सव आयोजक समितिले जनाएकाे छ ।
“कमानेको किनौं, कमानेलाई चिनौं” मूल नाराका आयोजना हुन लागेको महोत्सवमा ७ लाख रुपैंया खर्च हुने अनुमान गरिएको वडा अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । महोत्सव अवधिभर सो सडक खण्डमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको महोत्सव आयोजक समितिले जनाएको छ ।
मकवानपुर । मकै खेती राम्राेसँग नफस्टाएपछि आजित भएका राघब हुमागाई अब काेदाे खेती तर्फ आकर्षित भएका छन् । स्थानीय सरकारले रैथाने बालीलाई प्राेत्साहन गरेपछी उनी त्यसतर्फ आशावादी भएका हुन् ।
स्थानीय सरकारले स्थानीय हावा पानी र माटाे सुहाउँदाे अन्न तथा नगदे बालीलाई प्राेत्साहन गर्ने नीति लिएपछि किसानमा केही आशा बढेकाे भिमफेदी गाउँपालिका ५ की कान्छीमाया बजुले बताइन् । अघिल्लाे कार्यकालका जनप्रतिनिधिहरुले तरकारी र फलफूलमा अनुदान दिएपछि मकवानपुरगढी गाउँपालिकाका कृषकहरु तरकारी खेतीतर्फ आकर्षित भएका थिए । अहिले स्थानीय रैथाने प्रजातिकाे बालिमा न्युनतम समर्थन मुल्य ताेक्दै अनुदानकाे समेत व्यवस्था गाउँपालिकाहरुले गरेका छन् ।
मकवानपुरकाे २ वटा गाउँपालिकाले काेदाे,धानकाेदाे, फापर तथा जुनेलाेकाे न्युनतम समर्थन मुल्य ताेक्दै अनुदानकाे समेत व्यवस्था गरेकाे हाे । गाउँपालिकाले किसानलाई अनुदान समेत दिने भएकाे छ । मकवानपुरको मकवानपुरगढी र भीमफेदी गाँउपालिका काेदाे,धानकाेदाे, फापर तथा जुनेलाे खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका हुन् ।

मकवानपुरकाे हेटाैंडा उपमहानगरपालिका मकवानपुरगढी गाउँपालिका बैकैया गाउँपालिका बागमती गाउँपालिकाहरुमा ताेरी लगाउने किसान बढेका छन् ।
तोरीखेतीतर्फ मकवानपुरका कृषकहरुको आकर्षण बढ्न थालेपछी आलु काउलीलगायतकाे तरकारी खेती घटेकाे छ । तोरीको तेलको माग तथा मूल्यमा पछिल्लो समय वृद्धि हुँदै गएपछि तोरी खेतीतर्फ मकवानपुरकाे कृषककाे आकर्षण बढ्न थालेकाे हाे ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको हटिया र हर्नामाडीलगायतमा पनि ताेरीकाे खेती बढेकाे छ । गहँ लगाउने र बाली उठाउने झण्झट बढी भएकाे र आम्दानी समेत काम भएपछी ताेरी लगाउन थालेकाे मकवानपुरगढी गाउपालिका ५ कि लक्ष्मि संजेलले बताइन् । ‘गहुँ लगायाे उठाउन झण्झट आलु काउलीमा मेहनत धेरै ताेरी लगाउँदा अलि सहज हुन्छ तेलकाे मुल्याे बढेकाे बढेइ छ किनेर खानु पर्ने समस्या पनि ताेरीले टार्छ’ उनले भनिन् ।
यस वर्ष तोरी खेतीकाे क्षेत्रफल बढेकाे मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चौधरी बताउँछन् ।अहिले हेटौंडा उपमहानगरपालिकाको पूर्वी क्षेत्र हटिया, हर्नामाडी, मकवानपुरगढी गाउँपालिका क्षेत्रका धेरै किसानका खेतमा तोरी फुल्न थालेको छ ।
मकवानपुरका किसानले विकास, प्रगती, प्रिती, उन्नती, चितवन जस्ता स्थानीय जातका तोरी लगाउँदै आएकाे चौधरीले बताए । कृषकहरु अन्य हिउँदे बाली छाडेर तोरीखेती लगाउन थालेको किसानहरु बताउँछन् । हिउँदे बालीको रुपमा लगाइने तोरीखेतीलाई धेरै मेहनत नपर्ने हुँदा कृषकहरुको आकर्षण तोरी खेतीतर्फ बढ्दै गएको हो ।
तोरी समशीतोष्ण जलवायु बाली भएकाले यसले धेरै चिसो र कुहिरो सहन सक्दैन । बढी चिसो र कुहिरो हुँदा उत्पादन कम हुन्छ । तोरीमा ४० देखि ४५ प्रतिशत तेल हुने गर्दछ भने पनि पशु आहाराको रुपमा र प्राङ्गारिक मलको रुपमा प्रयोग हुँदै आएको छ । तोरी कात्तिक, मङ्सिरमा छरेर माघ, फागुनमा बाली भित्र्याउने गरिन्छ । अहिले किसानले मकैकाे भित्रिबालीकाे रुपमा समेत ताेरी छरेका छन् याे तरकारीकाे लागि साग र गुन्द्रुककाे रुपमा विक्री हुन्छ ।
