मकवानपुर । मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा ६ र ७ नम्बर वडा विजयी भएका छन् ।
चौथो सस्करणको प्रतियोगिता अन्तरगत आइतबार भएको पहिलो खेलमा ६ नम्बरले ५ नम्बर वडालाई ३-० गोल अन्तरले पराजित गरेको छ । यस्तै आइतबार नै भएको दोस्रो खेलमा वडा नम्बर १ लाई ७-० गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै ७ नम्बर बिजयी भएको छ ।
पहिलो खेलको म्यान अफ दि म्याच वडा नम्बर ६ का अभिषेक खड्का भए । उनले नगद २ हजार र ट्रफी प्राप्त गरे । यस्तै दोस्रो खेलको म्यान अफ द म्याज ७ नम्बरका टिम क्याप्टेन मनिष पौडेल म्यान अफ दि म्याच हुदै नगद २ हजार र ट्रफी प्राप्त गरे ।
मंसिर ३० गते देखि मनहरी-७ रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको सुरु भएको हो । शनिबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन खेलमा ९ नम्बर वडालाई १– ० ले हराउँदै ८ नम्बर विजयी भएको छ ।
पुस ५ गतेसम्म सञ्चालन हुने नक आउट प्रतियोगितामा मनहरीका ९ वटा वडाका फुटबल टिमको सहभागिता रहेको छ । मनहरी गाउँपालिकाको सहयोगमा खेलकुद विकास समिति मनहरीले प्रतियोगिता आयोजना गरेको हो ।

