काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदकाे लागि हुने निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ। आइतबार बसेको आयोगको बैठकले १२ राजनीतिक दलहरूलाई चिन्ह प्रदान गरेको आयोगले जानकारी दिएको हो ।
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले चुनाव चिन्ह प्राप्त गरेका हुन्।
गत मंशिर १५ गते निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनकाे तालिका सार्वजनिक गरेकाे थियाे । राष्ट्रियसभाका एक तिहाइ अर्थात १९ सदस्य चयनका लागि आगामी माघ ११ मा निर्वाचन हुँदैछ ।


