काठमाडौं । नेपाली कांग्रेस बागमतीकाे पहिलो प्रदेश सम्मेलनको लागि पूर्ण बैठक बसेकाे छ । काँग्रेस बागमती प्रदेशको आगामी पुस ७ गते हुने सम्मेलनकाे तयारीको लागि आईतबार काठमाडौंमा कार्यसमितिको पूर्ण बैठक बसेकाे हाे ।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कार्यसमितिको आठौं पूर्ण बैठकले पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनको लागि हालसम्म भएकोे कार्य तथा आवश्यक तयारीकाे समिक्षा गरेको छ । बैठकले सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पास गरेकाे छ ।
यसैगरी कार्यसम्पादन समितिले हालसम्म गरेका निर्णयहरु अनुमोदन गरिएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए । प्रवक्ता रुवालीका अनुसार यसअघि कार्यसम्पादन समिति बैठकले सम्मेलन सम्पन्न गर्नका लागि बनाईएको विभिन्न समितिका संयोजकहरुले अहिलेसम्म भएको कार्यप्रगति र गर्न बाँकी कार्यको बारेमा आ–आफ्नो धारणा राखेकोका थिए ।
काठमाडौ एक पार्टी प्यालेसमा पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेशका प्रदेश सभापतिहरुको उपस्थितिमा रहने उनले जानकारी दिए ।

