मकवानपुर । जिल्ला अदालतले गर्ने कामहरू मध्येको एउटा हो ‘कोर्ट म्यारीज’ अर्थात् दर्ताद्वारा विवाह । काठमाडौ कपन निवासी प्रसिद्धि खड्का र मकवानपुर बागमती गाउंपालिका ६ का रमेश लामाले गत माघमा दर्ताद्वारा विवाह गरे ।
परम्पराले अन्तरजातीय भनेर उनीहरूको प्रेम सम्बन्धलाई स्वीकार नगर्ने छनक पाएपछि आफ्नो सम्बन्धलाई कानुनी रूप दिएर झन् कसिलो बनाएको बताउँछन् रमेश । “बाबा ममिले आफ्नो जातकोसंग लभ गर्नु पर्थ्यो भन्न थाल्नु भयो, अनि हामी सुटुक्क कोर्ट म्यारीज गर्यौ” प्रसिद्धिले भनिन् ।
कानुनतः विवाहको लागि तोकिएको बीस बर्ष उमेर पुरा भएका जोडिले अभिभावक बिनानै अदालतबाट यस्तो सुविधा लिन सक्छन् ।
दर्ताद्वारा विवाह गर्दा मुलुकी देवानी संहिता २०७४, र मुलुकी देवानी कायविधि संहिता २०७४ ले तोकेको कानुनी प्रकृया पुरा गरेको हुनु पर्दछ । जिल्ला अदालत मकवानपुरले आर्थिक बर्ष २०७७।०७८ मा यस्ता ५० जोडिको कानूनि विवाह गराएको सम्बन्ध स्थापित गराएको तथ्यांक छ ।
तर अदालतको तथ्यांकअनुसार सम्बन्ध स्थापित गर्ने भन्दा सम्बन्ध तोड्नेहरूको संङ्ख्या १७ गुणा बढि छ । विभिन्न घटनाक्रम तथा आपसि बेमेलको कारण देखाउदै जिल्ला अदालत मकवानपुरबाट गत आर्थिक बर्षमा ८५९ जोडिले सम्बन्ध विच्छेदको प्रक्रियामा छन् । यो सङ्ख्या अदालतको सेवा लिएर विवाह गर्नेको तुलनामा १७ गुणाभन्दा बढि हुन आउँछ ।
जिल्ला अदालत मकवानपुरको प्रमुख स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार ८५९ मध्ये ६७९ वटा फैसला भैसकेको छ । “बाकी मुद्दा चालु आवमा फैसला हुनेछ” भट्टराईले भने ।
सम्बन्ध विच्छेद गर्ने ९० प्रतिशतले अंश विना नै सम्बन्ध विच्छेद गरेको उनले बताए । पछिल्लो समय सानो तिनो बेमेलमा नै बैवाहिक सम्बन्ध तोड्नहरु बढेको पाइन्छ । “निहु केही हुदैन, स्वतन्त्र हुन चाहन्छु भन्दै डिभोर्सको लागि आउनुहुन्छ” भट्टराइले भने ।
बैदेशि रोजगारको कारण पारिवारीक सम्बन्ध कमजोर बन्दै आएको बढी मुद्दाहरु अदालत आउने गरेका छन् ।
मकवानपुर । आगामी २०८० मंसिरसम्म हेटौंडा उपमहानगरपालिकालाई बाल मैत्री घोषणा गर्ने तयारी थालिएको छ ।
बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषणा गर्ने तयारी स्वरुप विभिन्न समूहरु गठन गर्ने र प्रतिवद्धता जनाउने कार्यक्रम सुरु भएको हो ।
हेटौंडा उपमहानगरपालिकालाई आगामि बर्ष २०८० मंसिरसम्म बालमैत्री घोषणा गर्ने निर्णय भएसंगै अभिमुखिकरण कार्यक्रमहरु पनि थालिएको उपमहानगरका प्रमुख मिनाकुमारी लामाले बताइन् ।
लामाले उपमहानगरपालिकाको सबैभन्दा चुनौतीको रुपमा रहेको बालश्रम अन्त्य गर्न सामुहिक प्रतिवद्धता आवश्यक रहेको बताइन् ।
बालमैत्री घोषणा गर्ने तयारीका लागि हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाको संयोजकत्वमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई नगरका सम्पुर्ण वडाका अध्यक्षहरु, उपमहानगरका शिक्षा, स्वास्थ्य, सामाजिक बिकास महाशाखा, बिषयगत संघसस्था, बिद्यालयका प्रधानाध्यापकहरु सम्मिलित समिति निर्माण गरिएको छ।
समितिका सदस्य सचिव तथा उपमहानगरपालिकाका महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले अब रफ्तारमा काम गरिने बताइन् ।
अस्ति कृष्णअष्ठमीको दिन एकजना छिमेकी दिदीको छोरा खुब रोइरहेको सुनेँ । सोधे: “किन रुवाउनु भएको बाबुलाई ?”
“कृष्णको लुगा चाहियो रे, कहाँबाट ल्याइदिनू ?” दिदिको दिक्दारिपुर्ण उत्तर आयो ।
“काठमाण्डौमा डेरामा बसेर दैनिकी चलाउन यति कठिन छ । महङ्गीले आक्रान्त पारेको बेला हरेक महिनाजसो आउने यस्ता पर्वमा नयाँ कपडा किन्न कसरी सम्भव हुन्छ ?”
दिदिले एकै श्वासमा पीडा ओकल्न भयो । म सुनिरहे ।
“सक्नेले गर्छन् त !” मेरो मनमा कुरा खुल्यो । “के यो समाज नसक्नेहरूको चाहिँ होइन ?” फेरि मनमा प्रश्न उठ्यो ।
आफ्नो काममा ध्यान मोड्न खोजे । स्मृतिमा बिगत फर्कियो । ……म यस्तो परिवारको प्रतिनिधित्व गर्छु जहाँ वर्षमा एक पटक दशैँमा नयाँ लुगा किन्नु भनेको ठूलै आर्थिक भार हुन्थ्यो । दशैँमा नयाँ लुगा किन्नै पर्ने नियम किन राखिएको होला ? भन्ने प्रश्न मेरो बाल मष्तिस्कमा धेरै पटक खेलेको पनि हो उबेलै पनि । त्यसैले अरुको भड्किलो जीवनशैलीले गरिब परिवारमा पर्ने असर म बुझ्न सक्छु ।
अहिलेको समाज हेर्छु । कृष्णअष्ठमीमा बच्चालाई राधाकृष्णको पोषाक र मेकप, क्रिसमस् आयो कि सान्टाको गेटअप । हामी पहिला फागु पुर्णिमामा सबैभन्दा पुरानो कपडा लगाएर खेल्थ्यौँ, ताकी नियमित लगाउने लुगा नबिग्रीयोस । अहिले नयाँ सेता कपडा लगाउने चलन छ। विवाह, व्रतबन्ध, पास्नी, जन्म दिनजस्ता कार्यक्रम आयोजना गर्दा अभिभावकलाई पर्ने आर्थिक भार ! त्यस्ता कार्यक्रममा जान लायक कपडाको जोहोमा लाग्ने खर्च ! सम्झँदा पनि आङ जिरिङ्ग हुन्छ मेरो।
चाडवर्प र जीवनका महत्वपूर्ण उत्सव हुन् । यिन्खरूको आफ्नो मर्यादा र महत्त्व छ । पक्कै मनाउनु पर्छ चाडपर्व । तर हाम्रा सँस्कृति छाडेर हामी तडकभडक र देखासिकीमा पर्व मनाउंछौ । यसरी आफ्नो मौलिकता बिर्सेर हामी, हामी रहन पक्कै सक्दैनौँ ।
तर हामीले सँस्कृतिको नाममा पच्छ्याइरहेको अहिलेको चलन कतै समाजको लागि हानिकारक त बन्दै गइरहेको छैन ? यसबारे हामीले कहिले सोच्ने ? कृष्णअष्ठमीमा व्रत बसेर, कृष्णको भजनकृतन गरेर मनाउने चलन थियो हामी सानो छँदा । यो बालबालिकाहरूलाई नै राधाकृष्ण बनाउने चलन कसरी आयो ? यसरी नै हाम्रा हरेक पर्वहरू किन यति भड्किलो भइरहेछन् ? यीनलाई जसरी मनाइन्थ्यो, त्यसरी नै मनाउन सकिँदैन ?
यो समाज हामी सबैको हो । यहाँ मनाइने चाडपर्व, धर्म, मौलिकताले सबैको पहिचान र अस्तित्व बोकेको हुन्छ । यसलाई सबै बस्न सक्ने र सबै अटाउन सक्ने बनाउनु पनि हामी सबैको दायित्व हो ।
यसका लागि समाजका हुनेखाने र शिक्षित भनिएका वर्ग अलि सचेत हुनु पर्ने देखिन्छ । तपाईहरू उही कपडा लगाएर धेरै कार्यक्रममा गइदिनुस् ताकी एउटै कपडा धेरै ठाउँमा लगाउनु सामान्य बनोस् । सामान्य चाडपर्वलाई तपाईंहरू जबर्जस्ती महँगो र भड्किलो नबनाइदिनुहोस् किनकी तपाईंहरूलाई हेरेर नै समाजले सिक्ने हो ।
खासमा, हामी जति सामान्य भएर हिँड्छौँ, उति नै विशिष्ट देखिन्छौँ । भड्किलो जीवनशैली थोरैलाई मन पर्न सक्छ त्यो पनि जिन्दगी नबुझुन्जेल । धेरैलाई मन पर्ने त “सादा जीवन, उच्च विचार नै हो ।”
चाडपर्व मनाउँदा बालबालिकालाई साँस्कृतिक मुल्यमान्यता सिकाउँ, ति चाडपर्वको अर्थ र गम्भीरता बुझाऔं, भड्किलो जीवनशैली हैन । बालबालिकालाई जीवन सिकाऔं, तडकभडक र देखासिकि हैन । बालबालिकालाई नैतिकवान बनाऔं । सामाजिक जीवन र संस्कार सिकाऔं ताकी भोलिको भविश्यमा उनीहरू संघर्षमै पनि जीवनको धेरै आयामहरू बुझ्न सकुन । असफलता भित्र हज्जारौं सफलता दीपहरू पहिल्याउन सकुन ।
– हेटाैडा १२ सिग्रेनी, मकवानपुर ।
मकवानपुर – सामाजिक विकृति अन्त्य गर्न सुचना प्रणालीको सही व्यवस्थापन आवश्यक हुने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छिन् ।
सामाजिक सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगति अन्त्य गर्न भुमिका खेल्ने उनले बताइन् । आज मकवानपुरको हेटौंडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै उनले बैदेशिक रोजगारका नाममा भईरहेको वेचविखन जस्ता आपराधिक कार्य रोकथाममा प्रणालीले सहयोग गर्ने बताईन ।
मानव वेचविखनसँगै महिला, बालबालिका लगायतको एकिन तथ्यांक नहुँदा बजेट-कार्यक्रम निर्माण र कार्यान्वयनमा समस्या रहेको भन्दै मन्त्री मोक्तानले सामाजिक-आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्ने बताइन् ।
असहाय बालबालिकाको एकिन तथ्यांक नहुँदा समस्या भएको भन्दै उनले त्यस्ता बालबालिकाका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताइन् । तथ्यांक संकलनमा स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहेको उनले बताइन् । यसकार्यमा एकद्वार प्रणाली उचित हुने उनको सुझाव थियो।
कार्यक्रममा बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री ईन्द्रमाया गुरुङले सामाजिक सूचना प्रणाली सम्बन्धी कार्य महत्वपूर्ण रहेको भन्दै सुचना संकलन, व्यवस्थापन, पहुँच र परिमार्जनका लागि तीनै तहको सरकारले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्माले सामाजिक सूचना व्यवस्थापन प्रणालीको परिचय, महत्व, उदेश्य, सूचकहरू, निर्माण प्रकृया, प्रगति अवस्था, अपेक्षाबारे जानकारी गराएका थिए । कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका गोपालप्रसाद कंडेलले बागमती प्रदेशमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको संरक्षण नीतिको ड्राफ तयार भएको र सक्दो चांडै क्याविनेटबाट पास गरिने जानकारी दिए । उक्त नीति निर्माणका लागि शान्ति फाउन्डेसन द्वारा संचालित हाम्रो सम्मान परियोजनाले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले बेचबिखन अन्त्यको लागि सामुहिक ऐक्यबद्धता आवश्यक भएको बताइन् । कार्यक्रममा मकवानपुर, काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका गाउँपालिका तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा हाल संघीय सरकारले व्यवस्थापन गर्न लागेको सूचना व्यवस्थापनमा मानव बेचविखनको घटनालाई प्राथमिकता दिएर तथ्यांक संकलन गरिने बारे जानकारी गराईएको थियो । सामाजिक सूचना व्यवस्थापन प्रणालीमा हिंसा पिडित, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरूको पनि संकलन गरिने छ ।
अमेरिकी विकास नियोग यूएसएड र बेलायती दातृ निकाय यूकेएडको आर्थिक सहयोगमा वीनरक ईन्टरनेशनल, शान्ति फाउण्डेशन र शक्ति समूहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको शान्ति फाउन्डेसनको सन्चार अधिकृत क्रान्ति तामाङलेबताइन् ।
मकवानपुर । मकवानपुर जिल्ला कैलाश गाउँपालिका ५ की सजिना दर्लामी मगर आगामी दिनमा सिलाई सिपबाट आत्मा निर्भर बन्न सक्नेमा ढुक्क छिन् ।
२९ वर्षिया सजिनालाई आफ्नै गाउँठाउँमा बसेर आफ्नै पसिनामा जिउने रहर थियो तर, सिपको अभावमा थिइन् उनी । माइती नेपालबाट ४ महिने सिलाई सिप सिकेपछि आफूमा आत्माबल बढेको बताउँछिन् उनी । “माइती नेपालले तालिमपछि फिल्ड भिजिट गरायो, लगाबले काम गरे मनग्गे कमाइ गर्न सकिन्छ भन्ने लाग्यो” उनले भनिन् ।
माइती नेपाल मकवानपुरमा सिलाई सीप सिकेका ४५ औ व्याजका किशोरी र महिलालाई फिल्ड भिजिट गराएको थियो । माइती नेपालबाटै सिप सिकेर लामो समयदेखि आफ्नै व्यवसाय सञ्चालन गरिरहेकी हेटौंडा १८ हटियाकी शुसिला घिमीरेसँग भेटेपछि व्यवसाय सञ्चालन गर्ने जोश बढेको कैलाश गाउँपालिका १ कि गोरी तामाङले बताइन् ।

सिलाई प्रशिक्षणपछि जीवनपयोगी सीप समेत सिकेर फर्केन लागेका किशोरीहरूलाई यसरी फिल्ड भिजिट गराउँदा उनीहरुलाई प्रेरणा हुने माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । “अग्रजको व्यवसायिकता देखेर आफूहरूले पनि त्यसैगरी व्यवसाय सन्चालन गर्ने हिम्मत जाग्ने लामाले बताइन् ।
फिल्ड भिजिटमा जांदा आफूहरूलाई काम गरेर आत्मनिर्भर बन्ने हौसला मिलेको सहभागीहरुले बताए । पढाइ छुटे पनि सिपलाई व्यवहारमा ल्याउन सकेमा जीवनमा परनिर्भर रहन नपर्ने उनीहरुले बताए । फिल्ड भिजिटमा माइती नेपाल मकवानपुर प्रमुख माया लामा, फिल्ड सुपरभाईजर मन लामालगायत २० जना किशोरीहरू सहभागी थिए । तालिममा सिकेको सिपलाई व्यवहारमा उतारेर किशोरीहरू आत्म निर्भर हुंदा बैदेशिक रोजगारको चाह कम हुने र बेचबिखनमा पर्ने जोखिम पनि घट्ने प्रमुख लामाले बताइन् ।

फिल्ड भिजिटपछि किशोरी तथा माइती नेपालको टोली हेटौंडा १८ मा घरदैलो कार्यक्रम समेत गरेका छन् । घरदैलो कार्यक्रममा माइती नेपालद्वारा प्रकाशित ब्रुसरहरु प्रदान गरिएको लामाले बताइन् । बेचबिखनबाट बच्नको लागि सचेत रहन अनुरोध गर्दै टोलीले पर्चा पब्लेट पनि वितरण गरेको थियो।
टोलीले हेटौंडा १८ गुम्बा डाँडाको पर्यटकीय पार्कको समेत अनुगमन तथा अवलोकन गरेको थिए ।