मकवानपुर । मकवानपुर जिल्ला कैलाश गाउँपालिका ५ की सजिना दर्लामी मगर आगामी दिनमा सिलाई सिपबाट आत्मा निर्भर बन्न सक्नेमा ढुक्क छिन् ।
२९ वर्षिया सजिनालाई आफ्नै गाउँठाउँमा बसेर आफ्नै पसिनामा जिउने रहर थियो तर, सिपको अभावमा थिइन् उनी । माइती नेपालबाट ४ महिने सिलाई सिप सिकेपछि आफूमा आत्माबल बढेको बताउँछिन् उनी । “माइती नेपालले तालिमपछि फिल्ड भिजिट गरायो, लगाबले काम गरे मनग्गे कमाइ गर्न सकिन्छ भन्ने लाग्यो” उनले भनिन् ।
माइती नेपाल मकवानपुरमा सिलाई सीप सिकेका ४५ औ व्याजका किशोरी र महिलालाई फिल्ड भिजिट गराएको थियो । माइती नेपालबाटै सिप सिकेर लामो समयदेखि आफ्नै व्यवसाय सञ्चालन गरिरहेकी हेटौंडा १८ हटियाकी शुसिला घिमीरेसँग भेटेपछि व्यवसाय सञ्चालन गर्ने जोश बढेको कैलाश गाउँपालिका १ कि गोरी तामाङले बताइन् ।

सिलाई प्रशिक्षणपछि जीवनपयोगी सीप समेत सिकेर फर्केन लागेका किशोरीहरूलाई यसरी फिल्ड भिजिट गराउँदा उनीहरुलाई प्रेरणा हुने माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । “अग्रजको व्यवसायिकता देखेर आफूहरूले पनि त्यसैगरी व्यवसाय सन्चालन गर्ने हिम्मत जाग्ने लामाले बताइन् ।
फिल्ड भिजिटमा जांदा आफूहरूलाई काम गरेर आत्मनिर्भर बन्ने हौसला मिलेको सहभागीहरुले बताए । पढाइ छुटे पनि सिपलाई व्यवहारमा ल्याउन सकेमा जीवनमा परनिर्भर रहन नपर्ने उनीहरुले बताए । फिल्ड भिजिटमा माइती नेपाल मकवानपुर प्रमुख माया लामा, फिल्ड सुपरभाईजर मन लामालगायत २० जना किशोरीहरू सहभागी थिए । तालिममा सिकेको सिपलाई व्यवहारमा उतारेर किशोरीहरू आत्म निर्भर हुंदा बैदेशिक रोजगारको चाह कम हुने र बेचबिखनमा पर्ने जोखिम पनि घट्ने प्रमुख लामाले बताइन् ।

फिल्ड भिजिटपछि किशोरी तथा माइती नेपालको टोली हेटौंडा १८ मा घरदैलो कार्यक्रम समेत गरेका छन् । घरदैलो कार्यक्रममा माइती नेपालद्वारा प्रकाशित ब्रुसरहरु प्रदान गरिएको लामाले बताइन् । बेचबिखनबाट बच्नको लागि सचेत रहन अनुरोध गर्दै टोलीले पर्चा पब्लेट पनि वितरण गरेको थियो।
टोलीले हेटौंडा १८ गुम्बा डाँडाको पर्यटकीय पार्कको समेत अनुगमन तथा अवलोकन गरेको थिए ।

