मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बेचबिखन रोकथामको लागि वडा तहदेखि निगरानी आवश्यक रहेको बताएकी छिन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले आज हेटौंडामा गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री मोक्तानले बिदेश जानको लागि उमेर बढाएर पासपोर्ट बनाउने र बेचिने घटना बढेको बताइन् । पासपोर्ट बनाउंने प्रक्रिया वडा अध्यक्षबाट सुरू हुने बताउँदै रोकथामका लागि वडाबाटै निगरानी आवश्यक भएको बताइन् ।
उमेर बढाएर नागरिकता बनाउने, पासपोर्ट बनाएर भारत हुंदै बिदेश जाने क्रम बढेकोले यो रोक्नु पर्ने चुनौती रहेको मन्त्री मोक्तानले बताइन् । “जति धेरै पैसा तिरेर गयो,उति राम्रो काम पाईन्छ भन्ने भ्रममा वैदेशिक रोजगार जाने ट्रेन बढेको छ” मन्त्री मोक्तानले भनिन् ” उहाँहरू नै ठगिमा परेका छन् ।” पढेलेखेकाहरू पनि वैदेशिक रोजगारको क्रममा बेचिने बाध्यता बढेको उनले बताइन् । सिप बिन बिदेश जानेहरूको पीडा सुनिनसक्नु भएको उनले बताइन् ।
नेपाली समाजको संस्कार सिकेकाहरू बिदेश पुगेर घरेलु कामदारको रूपमा समेत धेरै दुख पाएको उनले बताइन् । एक कम्पनीसंग सम्झौता गरेर अर्को कम्पनीको काममा बाध्यकारी श्रममा फसेकोले बेचबिखनको समस्यालाई रोक्न सिपको विकास गराउनु पर्ने उनले बताइन् ।
नेपालमा बेचबिखन रोक्ने कानुनी प्रावधान सक्तिशाली हुनुपर्ने बताउँदै उनले राज्य र गैससले सहकार्य गरेर प्रदेशमा बेचबिखन न्यूनिकरण गर्न तर्फ लाग्न आग्रह गरिन । “झुक्याएर लैजाने मेन पाओर कम्पनीलाई नियन्त्रणमा ल्याउन सहकार्य गरौँ” मोक्तानले भनिन् ।

मानव बेचबिखन विरुद्धको दिवसको सन्दर्भमा आज मन्त्रालयले हेटौंडामा आयोजित कार्यक्रम यस्तो बताईएको हो । कार्यक्रम मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख गोपाल कंडेलले दिवस मार्फत जनचेतनामुलक कार्यक्रम भएको बताए । “बेचबिखनको बाटो फेरिएको छ प्रवृत्ति फेरिएको छैन, यसको कानुनी व्यवस्थापन बुझ्न जानकारी आवश्यक छ” कंडेलले भने । सामाजिक विकास मन्त्रालयले बालबिबाह, बालमैत्री स्थानीय शासन जस्ता साझा सवालमा सहकार्य गरिरहेको कंडेलले बताए । दिवसको रूपमा कहिलेकाही कार्यक्रम गरिए पनि बर्षै भरी काम गरिरहेको उनले बताए । आय आर्जनमा महिलालाई जोड्न सकेपनि बेचबिखन न्यूनिकरण गर्न सकिने उनले बताए ।
प्रदेश प्रहरी कार्यालय बागमतीका प्रहरी नायब महा निरीक्षक किरण बज्राचार्यको समेत उपस्थिति रहेको कार्यक्रममा अधिवक्ता मनप्रसाद भट्टराई र प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दिपक थापाले मानव बेचबिखन तथा ओसारपसार बारे कर्यपत्र प्रस्तुत गरेको महाशाखाको अधिकृत चन्द्रकुमारी व्यन्जनकारले बताइन् । कार्यक्रममा इन्सेक, माइती नेपाल, हिमराईट्स,सन्चारीका समूह, सिविनलगायत सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
मकवानपुर । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १६ औं राष्ट्रिय दिवसको सन्दर्भमा मकवानपुरको हेटौंडामा र्याली आयोजना गरिएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र जिल्ला स्थिति मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जालले र्याली तथा कोण सभा कार्यक्रम गरेको हो । र्यालीमा सामाजिक विकास मन्त्रालय महिला बालबालिका महाशाखा प्रमुख गोपाल कंडेल, सन्जाल संयोजक आरती पाठक, जिल्लाको सरोकारवाला गैससका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
स्थानीय तथा प्रदेश सरकारसंगको समन्वयमा गैरसरकारी संस्थाहरू मानव बेचबिखन तथा ओसारपसार विरुद्ध गर्दै आएको कार्य अनुकरणीय भएको महाशाखा प्रमुख कंडेलले बताए ।
गैरसरकारी संस्थाहरूले दिवसको समयमा मात्रै नभैइ बर्षै भरी जनचेतना अभिबृद्वीसंगै उद्वारको काम समेत गर्दै आएको संजाल संयोजक आरती पाठकले बताइन् ।





मकवानपुर । आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुर जिल्लामा ५० वटा बालविवाहका घटना दर्ता भएकाेमा ४४ वटा राेकिएका छन् । सिविन नेपालद्धारा सञ्चालित बाल हेल्पलाइनमा दर्ता भएका बालविवाहका उजुरीमध्ये ६ जनाले पुन विवाह गरेको पाइएको छ ।
बाल विवाहको घटना दर्ता भए पनि रोक्ने काम त्यति सहज छैन । विवाह रोकेकै कारण भविष्यमा हुन सक्ने संभावित दुर्घटनालाई समेत मध्ये नजर गर्नुपर्ने भएकोले केही समय प्रक्रियामा रहन्छ । यसरी प्रक्रियामा रहेकै बेला पुन विवाह भएका घटनाहरु पनि मकवानपुरमा छन् । अभिभावकहरुलाई भन्दा बालबालिका स्वयमलाई बुझाउन समस्या हुने गरेको छ ।
मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको डेढ महिनामा पनि बाल विवाहको घटना बारे १० वटा उजुरी दर्ता भएका छन् जसमा ६ वटा रोकिएको छ । बाँकी ४ वटा प्रक्रियामा छन् ।
यसै क्रममा बालमैत्री स्थानीय तह घोषित मकवानपुरको मनहरीको बालक र कैलाश गाउँपालीकाको बालिका बिच हुन लागेको बाल विवाह रोकिएको छ । कैलाश गाउँपालिका पनि बालमैत्री घोषणाको तयारीमा लागि परेको स्थानीय तह हो ।
जिल्लाको मनहरी गाउँपालिका वडा नं ४ का १८ वर्षिय बालक र कैलाश गाउँपालिका वडा नं. ७ की १६ वर्षिय बालिका बिच हुन लागेको बाल विवाह लामो कसरतपछि रोक्न सफल भएको सिविन बाल हेल्प लाइन मकवानपुरले जनाएको छ ।
दुई दिनअघि विवाह हुन लागेको सूचना बालहेल्पलाइनको टोल फ्रि न १०९८ प्राप्त भए पश्चात विवाह रोक्ने कसरत सुरु गरिएको थियो ।
बालबालिकाको दुवै तर्फका अभिभावक, बालहेल्पलाइनका प्रतिनिधि र मनहरी गाउँपालिकाको उपाध्यक्ष सीता पुलामी मगर, वार्ड न ४ का वार्ड अध्यक्ष प्रकाश थापा, २ न. वार्ड अध्यक्ष राज कुमार पाख्रिन, सामाजिक विकास शाखा प्रमुख शैलस बास्कोटा सहितको टोली सक्रियताले बाल विवाह रोक्न सफल भएको सिविन नेपालद्धारा संचालित बालहेल्पलाइनका प्रवन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।
बालबालिकाको दुवै पक्षलाई बाल विवाहका असर तथा परिणाम, कानुनी व्यवस्था, यसबाट दीर्घकालिन असर लगायतका विषयमा सचेत बनाइ आगामी दिनमा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता गराइएको ज्ञावलीले बताए । उनीहरुले आफ्नो टोल समाजमा यस्ता घटना हुन नदिन समेत पहल बताएका छन् । गाउँपाालिका उपाध्यक्ष सीता पुलामी मगरले स्थानीय स्तरमा बालविवाह रोक्नको लागि सबैको ऐक्वबद्धता आवश्यक हुने बताइन् ।
साथै मनहरी गाउँपालिका वडा नं. ४ का अध्यक्ष प्रकाश थापाले बालकको लागि पढ्न इच्छा जाहेर गरेमा अध्ययनमा सहयोग गर्ने र शीप सिक्न चाहेमा बार्ड कार्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बालबालिकाहरुले समेत बीस वर्ष पूरा नभइ अब विवाह नगर्ने र अभिवकहरुले पनि यस विषयमा आफूहरु बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहो¥याउन नदिने प्रविबद्धता गरेका गरेका छन । बालिकालाई थप परामर्शको लागिको लागि गाउँपालिकाले बाल हेल्पलाइनको संरक्षणमामा पठाएको जनाइएको छ ।
पछिल्लो समयमा बालविवाह बढनुको मुख्य कारणहरुमा अभिभावक र बालबालिका बिचमा सुमुधुर गाढा सम्बन्ध नहुनु, पारिवारिक विचलन हुनु, विविध कारणले विद्यालय छोड्नु, अभिभावकले बालबालिकाहरुलाइ मोवाइल उपलब्ध गराउनु जस्ता कारण रहेको ज्ञावलीले बताए ।
अभिभावक व्यस्त भएर बालबालिकाहरुलाई घरमा नराखी आफन्त वा होस्टल वा अन्य कतै राखी अध्ययन अध्यापन गराउने, बालबालिकाहरु बिच सानै उमेरमा प्रेम सम्बन्धका नाममा अनैतिक सम्बन्ध स्थापित गर्ने जस्ता कारणहरु रहेको बालहेल्पलाइनमा दर्ता भएका घटनाहरुले देखाएको उनले बताए ।
मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रिमितको सङ्ख्या ५ सय नाघेको छ । लामखुट्टेको टोकाईबाट हुने डेंगु संक्रमण बढेसँगै अस्पतालमा बिरामीको चाप समेत बढेको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुर जिल्लामा साउन यता ५ सय ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले संक्रमितको सङ्ख्या बढीरहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरे । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–४ र ५ नंबर वडामा सबैभन्दा बढी संक्रमितहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयहरुको चौरमा समेत झाडी भएको कारण स्कुले बालबालिकाहरुलाई समेत डेंगुको संक्रमण हुने जोखिम बढेको छ ।
गत साउनको तेस्रो सातासम्म २८ जनामा देखिएको डेंगु ज्वरोको संक्रमितहरुको संख्या हाल ५ सय ५८ जना पुगेको छ । हेटौंडाका ४ र ५ नम्बर वडाका बढी ग्यारेजहरु धेरै रहेको तथा जनघनत्व समेत बढी भएको कारण यहाँ बढी संक्रमितहरु रहेको कार्यालयले जनाएको छ ।
डेंगुको कारण कसैको पनि ज्यान नगएको तर अस्पताल र मेडिकलहरुमा डेंगु बिरामीको चाप बढेको घिमिरेले बताए ।
जिल्लाको सरकारी अस्पताल हेटौंडा अस्पतालमा पछिल्लो दिनहरुमा डेंगीका लक्षणसहित ज्वरोका बिरामीहरुको संख्या पनि ह्वात्तै बढेको अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताए ।
उनले अस्पतालमा दैनिक एक सय माथि ज्वरोका बिरामीहरु उपचारको लागि आउनेमा डेंगु परीक्षणको लागि सिमित किट रहेको बताउँदै डेंगु परीक्षणको लागि बाहिरी मेडिकल पठाउनु परेको समेत बताए । जिल्लामा सरकारी अस्पताल,स्थानीय पालिकाहरु स्थित स्वास्थ्य संस्था तथा बजार क्षेत्रका निजी स्वास्थ्य क्लिनिकहरुमा डेंगु परीक्षण हुँदै आएको छ ।
तर स्थानीय तहले डेंगु नियन्त्रणको लागि खासै पहल कदमी चालेको छैन । एक महिना अघि केही स्थानमा हेटौंडा उपमहानगरपालिकाले लामखुट्टे नष्ट गर्नको लागि स्प्रे गरेको भए पनि हाल नगरपालिकाले त्यसतर्फ चासो नै दिएको छैन । विभिन्न अनावश्यक निर्णय गरेको कारण विवादमा मुछिएको तर स्थानीयवासीको स्वास्थ्य सवालमा भने नगरपालिकाले सरोकार नराखेजस्तो व्यवहार गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
गएको आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा १९५ जनामा मात्र संक्रमण देखिएको थियो । तर चालु आर्थिक वर्षको दुई महिनामै उक्त संख्या झण्डै तेब्बरले भएको छ । डेंगु संक्रमण फैलाउने लामखुट्टेले दिउँसो टोक्ने भएकोले घर, विद्यालय तथा कार्यालय वरपर लामखुट्टे बस्न झाडीहरु तथा जमेको पानीहरु हटाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
ठ्याक्कै भुले, अन्दाज गर्दा जीवनमा मुस्किलले ५ वटा जति पञ्चिमी नुहाएको छु । आमा दिदीहरुको सिको गर्दै तीजमा व्रत पनि बसे । पञ्चमी पनि नुहाए, ऋषि पञ्चिमीको पुजा पनि लगाए । जब बुझ्दै आए आमा दिदीहरुको नजरमा अबुझ बन्दै आएको छु । अर्थात् उहाँहरुलाई पछ्याउन सकेकी छैन । आफ्नो आफ्नै बाटो बन्यो आमा दिदीहरुको र मेरो । पानी नै नपिएर कठोर व्रत बस्नुहुने उहाँहरु पछिल्लो केही लचिलो हुनुभएको छ । परिवर्तन धेरै बाँकी छ ।
उहाँहरु महिनावारी हुँदाको वर्षभरीको पाप पखाल्नु पर्छ भन्नुहुन्छ । म महिनावारीलाई पापको रुपमा स्वीकार्न कुनै पनि हालतमा सक्दिन । महिनावारी नारीको लागि उत्सव हो । यो दिनलाई उत्सवको रुपमा पो मनाइनु पर्छ भन्छु म । धेरै आमाहरु दिदीबहिनी र छोरीहरु आज खोलामा लामबद्ध भएर पञ्चमी नुहाउँदै हुनुहुन्छ । म हेटौंडामा छु विहानैबाट झरी परीरहेको छ यहाँ । सोचिरहेको छु, आमा, दिदीबहिनी र छोरीहरु कसरी नुहाउँदै हुनुहोला धमिलो खोलामा । पुजा सामग्रीलाई झरीबाट जोगाउने कत्रो तनाव हुन्छ म अनुभुति गर्न सक्छु । सानासाना नानीबाबुलाई खोला किरानै नजिक ढुङ्गामाथि बसाएर नुहाउन बसेका आमा दिदीबहिनीहरुलाई बच्च खोलामा पर्ला भन्ने डर कति हुन्छ, त्यो पनि आभाष छ ममा ।
जति हतारहतार नुहाएर पनि कम्तिमा एक घण्टा पानीमै चोपलीनु पर्ने बाध्यता । त्यसमाथि आजको धमिलो पानीमा चोपलीनु पर्दाको दिङ दिङ कसरी सहनु । नुहाइसक्दा पुजामा बस्ने हतार ? भोकाएका बच्चालाई खुवाउन नभ्याउँदा पिरीएको आमाको मन । भोकलाग्दा खाना छाडेर पञ्चमी पूजामा बसेका किशोरी नानीहरुको छटपट सबै देखेको छु ।
हरेक वर्ष तीजको लगत्तैपछि पर्ने भाद्र शुक्ल पञ्चमीको दिन विशेष गरी हिन्दु महिलाहरूले पूजाआजा गरी मनाउँछन् । महिनावारी भएका बेला जानीनजानी ‘छाइछुइ’ भएको रहेछ भने ‘पाप’ लाग्छ र यस्तो ‘पाप पखाल्नका लागि’ भनेर रजस्वला हुन आरम्भ भएका किशोरीदेखि महिलाहरूलाई यो दिन सप्तऋषि आदिको पूजा गर्न लगाउनु पर्ने धारणा छ ।
आजैको दिन दतिवन, माटोलगायतले ३६५ पटक नै नुहाएपछि वर्षैभरीको पापबाट माथि उठिने भन्ने विश्वासको कुनै आधार देख्दिन म । र त आमाहरुको नजरमा अबुझ हुँदै आएको छु । यसको साँच्चै औचित्य के छ ? अभियन्ताहरुबाट वैज्ञानिक ढङ्गले विश्लेषण जरुरी छ । यस्ता विश्लेषण केही हदसम्म सुरु भइसकेको छ । महिनावारीलाई पाप ठानेर ‘चोखिने र चोख्याउने’ मान्यताका साथ पूजाआजा गर्नु र गराउनु गलत अभ्यास हो । जीवविज्ञानको आधारमा महिनावारी हुनु शारीरिक प्रक्रिया मात्रै हो । यस बारेमा गलत धारणाकै कारण महिनावारीलाई मर्यादीत बनाउन सकिएको छैन । महिनावारीलाई पापको रुपमा मौन रहने स्वीकार गर्ने परीपाटी नै गलत छ ।
महिनावारी जहाँबाट एउटा मानवको जीवन सुरु हुन्छ, यो कसरी पाप हो ? अभियन्ता राधा पौडेल भन्छिन्: “मर्यादित महिनावारी एकदमै बृहत् अवधारणा हो । यसले महिनावारीमा विभेद हुनु भनेको मानव अधिकारको हनन हुनु हो । महिनावारी विभेदलाई महिला हिंसाभित्र राख्छुपर्छ । महिनावारीको विषय महिलासँग मात्रै जोडिएको हुँदैन । यो सामाजिक, आर्थिक, राजनीतिक र वातावरणीय पक्षसँग पनि जोडिएको हुन्छ । तर, यस विषयमा विरलै छलफल हुन्छन् । यसको अल्पकालीन र दीर्घकालीन दुबै प्रभाव छ । नेपालमा भइरहेको बलात्कार र हिंसाको मूल जरो महिनावारी विभेद हो ।”
महिनावारी हुँदैमा पूजाआजमा सहभागी हुन नपाउनु उ माथिको अमर्यादीत व्यवहार हो । भाइसाथीहरुसँग समान रुपले खेल्न पाउनु, अन्य समय सरह सबै काममा सहभागी हुन पाउनु महिलाको अधिकार हो । हो, सरसफाई आवश्यक छ । आराम र पौष्टिक आहारको आवश्यक छ । तर यि पाटोमा चासो नै दिइने गरिन्न ।
सञ्चारीका समूह नेपाल निवर्तमान अध्यक्ष पत्रकार नितु पण्डित भन्छिन् “महिनावारी पाप होईन । शरिरको नियमित प्रकृया हो । जुन महिलाहरूसँग मात्र छ, महिला हुनुमा गर्व गरौं ।” सिन्धुलीकी पत्रकार बिमला पाण्डे पनि महिनावारी र ऋषि पञ्चिमीबारे गलत धारणा हाबि रहेको बताउँछिन् । “महिनावारी पाप होइन गौरव हो, आत्मसम्मान पूर्वक महिलालाई मातृत्वको अनुभूति गर्न नदिन पापका रुपमा महिनावारीलाई लिईयो, यदि पुरुष महिनावारी हुन्थे भने पाप पखाल्ने दिनका रुपमा हैन गौरवको पर्वका रुपमा पञ्चमी पूजालाई लिइन्थ्यो” पाण्डे भन्छिन् “त्यसैले म भन्छु महिनावारी हुनु पाप हैन,सृष्टिका लागि प्रकृतिले दिएको बरदान हो ।” पञ्चमी पूजालाई गौरवको पर्वका रुपमा मनाउन उनको आग्रह छ ।
यस्तै धारणा छ विराटनगरकी लेखक सिमा आभाषको पनि । रजश्वला भइसकेका स्त्रीजातिले रजश्वलालाई पूजा गर्ने दिनको रुपमा मनाउनु पर्ने उनी बताउँछिन् । “यदि पञ्चमीको कथा गतिलो हुने हो भने यो दिन उत्सबको दिन हुने थियो उनले भनिन् “तर पञ्चमीको कथामा ब्रम्हघातिनी, कुकुर्नी, धोविनी हुनेछ भनेकै कारण यो पर्व गौरव बन्न सकेन ।” महिनावारीको महत्वबारे चर्चा गरिएको पञ्चमीलाई लक्षित एउटा गतिलो कथाको आवश्यकता रहेको बताउँछिन् उनी । “महिनावरीको महत्व भएको त्यस्तो कथा सुन्ने दिनको रुपमा यस दिनलाई मनाउन पाए कति मजा आउँथ्यो होला” आभाषले भनिन् ।
चितवनकी पत्रकार प्रतिमा सिलवाल पनि महिनावारीको सवालमा अविश्वास अचम्मले गढेर बसेको टिप्पणी गर्छिन् । महिला सन्तान जन्माउन योग्य रहेको अभुतपूर्व जनाउ दिने प्राकृतिक प्रकृया महिनावारीलाई “पाप“ ठान्ने ’अ’ विश्वास आजको पुस्तामा पनि पाउँदा उदेक लाग्छ” उनले भनिन् । “महिनावारी विभेद कानूनले अपराध मानिसकेको छ । म पनि यसलाई अविश्वास र अपराध ठान्छु, त्यसैले, ऋषिपञ्चमी मान्दिन” उनले भनिन् ।
अचम्मै लाग्ने पाटो त के छ भने समाज परिवर्तनको लागि अघि देखिएका नेतृत्वका महिलाहरु समेत महिनावारीलाई पापको रुपमा स्वीकार गर्दै आजको दिन खोलामा गलत अभ्यासको परम्परालाई स्वीकार गर्दै सहभागी भए । आफूले पटक पटक महिनावारी हुँदा जानिजानी पाप हैन भन्दै बेवास्ता गरेको तर आज समाजको अघि नुहाउँदिन भन्न नसकेर सहभागी भएको एक नेतृले बताइन् ।
“म महिनावारी खासै बार्दिन, तर समाजका सामु नुहाउने गरेको छैन, भन्दा उहाँहरुको भावनामा समेत चोट पुग्ला भनेर सहभागी भएँ” ति नेतृले भनिन् “समाजमा हामीले धेरै चेतना फैलाउनै बाँकी छ, आज तपाईले नुहाएको गलत छ, म नुहाउँदिन म सही छु भन्दा भोली उहाँहरुले मेरो कुरा नसुन्न सक्नुहुन्छ, उहाँहरुलाई विस्तारै बुझाउनु जरुरी छ, त्यसैले म पनि उहाँहरुसँगै सहभागी भएँ” ति नेतृले आफ्नो नाम नलेख्न पटक पटक अनुरोध गर्दै भन्नुभयो । जसलाई जे बुझाउनु छ, उहाँहरुकै समाजमा भिजेरमात्रै बुझाउन संभाव छ भन्नुहुने उहाँको तर्कमा पनि खासै दम देखिन मैले ।
आफूले नबार्दा, केही नभएको उदाहरण दिएर पनि हामीले समाजमा परिर्वतन ल्याउन सक्छौ । धर्म संस्कृती भनेको आत्मा सन्तुष्टिको कुरा पनि हो । व्यक्ति जो जे मा खुसी हुन्छ, सन्तुष्टि प्राप्त गर्दछ, त्यसलाई चाँडो छाड्न मनले मान्दैन पनि । बस् गलत अभ्यासलाई यो कारण गलत हो भनेर बुझाउनु जरुरी छ । यसको लागि गलत यो हो भन्नुसँगै सही यो हो भन्नु पनि जरुरी छ । त्यसैले महिनावारीको गलत धारणालाई हटाउन सही धारणाको व्यापक चर्चा र बहस जरुरी छ । वैज्ञानिक र जैविक कोणले महिनावारी कुनै पनि हालतमा पाप हैन । हरेक जैविक प्राणी प्रजननका लागि तयार हुँदा परिपक्वताको यो खुड्कीलाहरुमा आइपुग्छन, र प्रजनन समयभर यो रहन्छ । जस्तो कि महिलाको प्रजनन क्षमता रहदाभर महिला हर महिना महिनावारी हुन्छिन् यो कुन नौलो कुरा हो र ?
यसबारे विद्यालय तथा क्याक्पस तहमा पनि बुझाइलाई फराकिलो बनाइनु पर्छ । महिनावारीलाई घरदेखि विद्यालय र कार्यलय तहसम्म मर्यादीत बनाइनु पर्छ । यसबारे परिवारमा खुलेर बहस हुनु जरुरी छ । महिनावारीकै कारण महिलाले आफूलाई कमजोर, पापीनीको रुपमा स्वीकार्न बाध्य पारीदा उ माथिको कार्यदक्षतामा समेत ह्रास आउँछ । महिनावारी महिलाको मात्रै सवाल हैन, यो स्वास्थ्य र सरसफाईको मात्रै सवाल पनि हैन । यो विभेदको चरण हो । परिवारदेखि सिनेमाको पर्दाहरुमा समेत मर्यादीत महिनावारी बारे बहस जरुरी छ । महिनावारीमा हुने छुवाछुतलाई पाप ठान्नु नै महिनावारी विभेद हो । यही सोचका कारण समाजमा विभिन्न प्रकारको विभेद उत्पन्न हुन्छ ।
‘महिनावारी शुद्ध हो” भनेर स्कुल, कार्यालय, मन्दिरहरुको भित्तामा लेखिनु पर्छ । यसैलाई हामीले कार्यान्वनमा ल्याउन सक्नु पर्छ । यो भलै चुनौतीपूर्ण र आज को आजै लागु हुन सक्दिैन, तर हामी जटिल यात्रामा छौ भने, हतार गरेर काम बन्नेवाला पनि छैन । मर्यादीत महिनावारी बहुमुखी सवाल हो । यसलाई मर्यादासँग जोडेर अघि बढाउनु पर्छ । नारीवाद, विकासवाद र मानवअधिकारवादमा मर्यादीत महिनावारीको सवाल जोडिनु अनिवार्य छ, बुझाउनु जरुरी छ कि महिनावारीको रगत अशुद्ध हैन, हुँदै हैन ।