मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रिमितको सङ्ख्या ५ सय नाघेको छ । लामखुट्टेको टोकाईबाट हुने डेंगु संक्रमण बढेसँगै अस्पतालमा बिरामीको चाप समेत बढेको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुर जिल्लामा साउन यता ५ सय ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले संक्रमितको सङ्ख्या बढीरहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरे । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–४ र ५ नंबर वडामा सबैभन्दा बढी संक्रमितहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयहरुको चौरमा समेत झाडी भएको कारण स्कुले बालबालिकाहरुलाई समेत डेंगुको संक्रमण हुने जोखिम बढेको छ ।
गत साउनको तेस्रो सातासम्म २८ जनामा देखिएको डेंगु ज्वरोको संक्रमितहरुको संख्या हाल ५ सय ५८ जना पुगेको छ । हेटौंडाका ४ र ५ नम्बर वडाका बढी ग्यारेजहरु धेरै रहेको तथा जनघनत्व समेत बढी भएको कारण यहाँ बढी संक्रमितहरु रहेको कार्यालयले जनाएको छ ।
डेंगुको कारण कसैको पनि ज्यान नगएको तर अस्पताल र मेडिकलहरुमा डेंगु बिरामीको चाप बढेको घिमिरेले बताए ।
जिल्लाको सरकारी अस्पताल हेटौंडा अस्पतालमा पछिल्लो दिनहरुमा डेंगीका लक्षणसहित ज्वरोका बिरामीहरुको संख्या पनि ह्वात्तै बढेको अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताए ।
उनले अस्पतालमा दैनिक एक सय माथि ज्वरोका बिरामीहरु उपचारको लागि आउनेमा डेंगु परीक्षणको लागि सिमित किट रहेको बताउँदै डेंगु परीक्षणको लागि बाहिरी मेडिकल पठाउनु परेको समेत बताए । जिल्लामा सरकारी अस्पताल,स्थानीय पालिकाहरु स्थित स्वास्थ्य संस्था तथा बजार क्षेत्रका निजी स्वास्थ्य क्लिनिकहरुमा डेंगु परीक्षण हुँदै आएको छ ।
तर स्थानीय तहले डेंगु नियन्त्रणको लागि खासै पहल कदमी चालेको छैन । एक महिना अघि केही स्थानमा हेटौंडा उपमहानगरपालिकाले लामखुट्टे नष्ट गर्नको लागि स्प्रे गरेको भए पनि हाल नगरपालिकाले त्यसतर्फ चासो नै दिएको छैन । विभिन्न अनावश्यक निर्णय गरेको कारण विवादमा मुछिएको तर स्थानीयवासीको स्वास्थ्य सवालमा भने नगरपालिकाले सरोकार नराखेजस्तो व्यवहार गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
गएको आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा १९५ जनामा मात्र संक्रमण देखिएको थियो । तर चालु आर्थिक वर्षको दुई महिनामै उक्त संख्या झण्डै तेब्बरले भएको छ । डेंगु संक्रमण फैलाउने लामखुट्टेले दिउँसो टोक्ने भएकोले घर, विद्यालय तथा कार्यालय वरपर लामखुट्टे बस्न झाडीहरु तथा जमेको पानीहरु हटाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

