मकवानपुर । आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुर जिल्लामा ५० वटा बालविवाहका घटना दर्ता भएकाेमा ४४ वटा राेकिएका छन् । सिविन नेपालद्धारा सञ्चालित बाल हेल्पलाइनमा दर्ता भएका बालविवाहका उजुरीमध्ये ६ जनाले पुन विवाह गरेको पाइएको छ ।
बाल विवाहको घटना दर्ता भए पनि रोक्ने काम त्यति सहज छैन । विवाह रोकेकै कारण भविष्यमा हुन सक्ने संभावित दुर्घटनालाई समेत मध्ये नजर गर्नुपर्ने भएकोले केही समय प्रक्रियामा रहन्छ । यसरी प्रक्रियामा रहेकै बेला पुन विवाह भएका घटनाहरु पनि मकवानपुरमा छन् । अभिभावकहरुलाई भन्दा बालबालिका स्वयमलाई बुझाउन समस्या हुने गरेको छ ।
मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको डेढ महिनामा पनि बाल विवाहको घटना बारे १० वटा उजुरी दर्ता भएका छन् जसमा ६ वटा रोकिएको छ । बाँकी ४ वटा प्रक्रियामा छन् ।
यसै क्रममा बालमैत्री स्थानीय तह घोषित मकवानपुरको मनहरीको बालक र कैलाश गाउँपालीकाको बालिका बिच हुन लागेको बाल विवाह रोकिएको छ । कैलाश गाउँपालिका पनि बालमैत्री घोषणाको तयारीमा लागि परेको स्थानीय तह हो ।
जिल्लाको मनहरी गाउँपालिका वडा नं ४ का १८ वर्षिय बालक र कैलाश गाउँपालिका वडा नं. ७ की १६ वर्षिय बालिका बिच हुन लागेको बाल विवाह लामो कसरतपछि रोक्न सफल भएको सिविन बाल हेल्प लाइन मकवानपुरले जनाएको छ ।
दुई दिनअघि विवाह हुन लागेको सूचना बालहेल्पलाइनको टोल फ्रि न १०९८ प्राप्त भए पश्चात विवाह रोक्ने कसरत सुरु गरिएको थियो ।
बालबालिकाको दुवै तर्फका अभिभावक, बालहेल्पलाइनका प्रतिनिधि र मनहरी गाउँपालिकाको उपाध्यक्ष सीता पुलामी मगर, वार्ड न ४ का वार्ड अध्यक्ष प्रकाश थापा, २ न. वार्ड अध्यक्ष राज कुमार पाख्रिन, सामाजिक विकास शाखा प्रमुख शैलस बास्कोटा सहितको टोली सक्रियताले बाल विवाह रोक्न सफल भएको सिविन नेपालद्धारा संचालित बालहेल्पलाइनका प्रवन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।
बालबालिकाको दुवै पक्षलाई बाल विवाहका असर तथा परिणाम, कानुनी व्यवस्था, यसबाट दीर्घकालिन असर लगायतका विषयमा सचेत बनाइ आगामी दिनमा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता गराइएको ज्ञावलीले बताए । उनीहरुले आफ्नो टोल समाजमा यस्ता घटना हुन नदिन समेत पहल बताएका छन् । गाउँपाालिका उपाध्यक्ष सीता पुलामी मगरले स्थानीय स्तरमा बालविवाह रोक्नको लागि सबैको ऐक्वबद्धता आवश्यक हुने बताइन् ।
साथै मनहरी गाउँपालिका वडा नं. ४ का अध्यक्ष प्रकाश थापाले बालकको लागि पढ्न इच्छा जाहेर गरेमा अध्ययनमा सहयोग गर्ने र शीप सिक्न चाहेमा बार्ड कार्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बालबालिकाहरुले समेत बीस वर्ष पूरा नभइ अब विवाह नगर्ने र अभिवकहरुले पनि यस विषयमा आफूहरु बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहो¥याउन नदिने प्रविबद्धता गरेका गरेका छन । बालिकालाई थप परामर्शको लागिको लागि गाउँपालिकाले बाल हेल्पलाइनको संरक्षणमामा पठाएको जनाइएको छ ।
पछिल्लो समयमा बालविवाह बढनुको मुख्य कारणहरुमा अभिभावक र बालबालिका बिचमा सुमुधुर गाढा सम्बन्ध नहुनु, पारिवारिक विचलन हुनु, विविध कारणले विद्यालय छोड्नु, अभिभावकले बालबालिकाहरुलाइ मोवाइल उपलब्ध गराउनु जस्ता कारण रहेको ज्ञावलीले बताए ।
अभिभावक व्यस्त भएर बालबालिकाहरुलाई घरमा नराखी आफन्त वा होस्टल वा अन्य कतै राखी अध्ययन अध्यापन गराउने, बालबालिकाहरु बिच सानै उमेरमा प्रेम सम्बन्धका नाममा अनैतिक सम्बन्ध स्थापित गर्ने जस्ता कारणहरु रहेको बालहेल्पलाइनमा दर्ता भएका घटनाहरुले देखाएको उनले बताए ।

