मकवानपुर । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियनलाई हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराउन लागेको अनुदानको विरोधमा राप्रपा मकवानपुर उत्रेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट प्रेस युनियनलाई १० लाख रुपैँया दिने निर्णय गरेको बिरोध गरेको हो ।
राप्रपाले हेटौंडामा र्याली सहित उपमहानगरपालिकाको कार्यालय परिसरमा कोणसभाको गरेको छ । जनताको रगत पसिनाले तिरेको करबाट उपमहानगरपालिकाले एउटा पार्टीलाई रकम दिनु भ्रष्टाचार भएको भन्दै बिरोध गरिएको पार्टीका युवा नेता जयराम तिमल्सिनाले बताए ।
जनताको करबाट विकास निर्माणका खर्च गर्नुपर्नेमा कुनै पार्टीको भातृ संगठनको अधिवेशनलाई खर्च दिनु गैरजिम्मेवार काम भएको भन्दै आफूहरुले बिरोध गरेको उनले बताए । “उपमहानगरले कति वटा पार्टीका पत्रकारलाई यसरी पाल्ने यो सही हो र ?” उनले भने “यो निर्णय फिर्ता होस भन्ने हाम्रो माग हो ।”
कोणसभा कार्यक्रममा बोल्दै राप्रपा मकवानपुरका उपाध्यक्ष सागर थापाले गत स्थानीय निर्वाचनमा राप्रपाका उम्मेद्वार दिपकबहादुर सिंहलाई विजय गराईदिएको भए दुर्गति बेहोर्न नपर्ने टिप्पणी गरे । राप्रपा सधै भ्रष्टचारको खिलापमा रहेको उनको भनाई थियो । कोणसभामा बोल्दै राप्रपा मकवानपुरका सहसचिव लक्ष्मण सापकोटाले भ्रष्टचार विरुद्ध राप्रपा आगो भएर उत्रने बताए ।
प्रेस युनियनको गत साउन ६ र ७ गते हेटौँडामा भएको ९ औँ राष्ट्रिय महाधिवेशनको खर्च व्यहोर्ने गरी १० लाख रुपैँया उपलब्ध गराउने निर्णय कार्यपालिकाको बैठकले भदौ १५ गते गरेको थियो ।
राप्रपाका कार्यकर्ताहरुले भ्रस्टाचारि सरकार मुर्दाबाद, जनताको कर मोज नगर, सुचना को हक सुनिश्चित गर, राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावादलगायतको नारा लगाएका थिए ।

