ठ्याक्कै भुले, अन्दाज गर्दा जीवनमा मुस्किलले ५ वटा जति पञ्चिमी नुहाएको छु । आमा दिदीहरुको सिको गर्दै तीजमा व्रत पनि बसे । पञ्चमी पनि नुहाए, ऋषि पञ्चिमीको पुजा पनि लगाए । जब बुझ्दै आए आमा दिदीहरुको नजरमा अबुझ बन्दै आएको छु । अर्थात् उहाँहरुलाई पछ्याउन सकेकी छैन । आफ्नो आफ्नै बाटो बन्यो आमा दिदीहरुको र मेरो । पानी नै नपिएर कठोर व्रत बस्नुहुने उहाँहरु पछिल्लो केही लचिलो हुनुभएको छ । परिवर्तन धेरै बाँकी छ ।
उहाँहरु महिनावारी हुँदाको वर्षभरीको पाप पखाल्नु पर्छ भन्नुहुन्छ । म महिनावारीलाई पापको रुपमा स्वीकार्न कुनै पनि हालतमा सक्दिन । महिनावारी नारीको लागि उत्सव हो । यो दिनलाई उत्सवको रुपमा पो मनाइनु पर्छ भन्छु म । धेरै आमाहरु दिदीबहिनी र छोरीहरु आज खोलामा लामबद्ध भएर पञ्चमी नुहाउँदै हुनुहुन्छ । म हेटौंडामा छु विहानैबाट झरी परीरहेको छ यहाँ । सोचिरहेको छु, आमा, दिदीबहिनी र छोरीहरु कसरी नुहाउँदै हुनुहोला धमिलो खोलामा । पुजा सामग्रीलाई झरीबाट जोगाउने कत्रो तनाव हुन्छ म अनुभुति गर्न सक्छु । सानासाना नानीबाबुलाई खोला किरानै नजिक ढुङ्गामाथि बसाएर नुहाउन बसेका आमा दिदीबहिनीहरुलाई बच्च खोलामा पर्ला भन्ने डर कति हुन्छ, त्यो पनि आभाष छ ममा ।
जति हतारहतार नुहाएर पनि कम्तिमा एक घण्टा पानीमै चोपलीनु पर्ने बाध्यता । त्यसमाथि आजको धमिलो पानीमा चोपलीनु पर्दाको दिङ दिङ कसरी सहनु । नुहाइसक्दा पुजामा बस्ने हतार ? भोकाएका बच्चालाई खुवाउन नभ्याउँदा पिरीएको आमाको मन । भोकलाग्दा खाना छाडेर पञ्चमी पूजामा बसेका किशोरी नानीहरुको छटपट सबै देखेको छु ।
हरेक वर्ष तीजको लगत्तैपछि पर्ने भाद्र शुक्ल पञ्चमीको दिन विशेष गरी हिन्दु महिलाहरूले पूजाआजा गरी मनाउँछन् । महिनावारी भएका बेला जानीनजानी ‘छाइछुइ’ भएको रहेछ भने ‘पाप’ लाग्छ र यस्तो ‘पाप पखाल्नका लागि’ भनेर रजस्वला हुन आरम्भ भएका किशोरीदेखि महिलाहरूलाई यो दिन सप्तऋषि आदिको पूजा गर्न लगाउनु पर्ने धारणा छ ।
आजैको दिन दतिवन, माटोलगायतले ३६५ पटक नै नुहाएपछि वर्षैभरीको पापबाट माथि उठिने भन्ने विश्वासको कुनै आधार देख्दिन म । र त आमाहरुको नजरमा अबुझ हुँदै आएको छु । यसको साँच्चै औचित्य के छ ? अभियन्ताहरुबाट वैज्ञानिक ढङ्गले विश्लेषण जरुरी छ । यस्ता विश्लेषण केही हदसम्म सुरु भइसकेको छ । महिनावारीलाई पाप ठानेर ‘चोखिने र चोख्याउने’ मान्यताका साथ पूजाआजा गर्नु र गराउनु गलत अभ्यास हो । जीवविज्ञानको आधारमा महिनावारी हुनु शारीरिक प्रक्रिया मात्रै हो । यस बारेमा गलत धारणाकै कारण महिनावारीलाई मर्यादीत बनाउन सकिएको छैन । महिनावारीलाई पापको रुपमा मौन रहने स्वीकार गर्ने परीपाटी नै गलत छ ।
महिनावारी जहाँबाट एउटा मानवको जीवन सुरु हुन्छ, यो कसरी पाप हो ? अभियन्ता राधा पौडेल भन्छिन्: “मर्यादित महिनावारी एकदमै बृहत् अवधारणा हो । यसले महिनावारीमा विभेद हुनु भनेको मानव अधिकारको हनन हुनु हो । महिनावारी विभेदलाई महिला हिंसाभित्र राख्छुपर्छ । महिनावारीको विषय महिलासँग मात्रै जोडिएको हुँदैन । यो सामाजिक, आर्थिक, राजनीतिक र वातावरणीय पक्षसँग पनि जोडिएको हुन्छ । तर, यस विषयमा विरलै छलफल हुन्छन् । यसको अल्पकालीन र दीर्घकालीन दुबै प्रभाव छ । नेपालमा भइरहेको बलात्कार र हिंसाको मूल जरो महिनावारी विभेद हो ।”
महिनावारी हुँदैमा पूजाआजमा सहभागी हुन नपाउनु उ माथिको अमर्यादीत व्यवहार हो । भाइसाथीहरुसँग समान रुपले खेल्न पाउनु, अन्य समय सरह सबै काममा सहभागी हुन पाउनु महिलाको अधिकार हो । हो, सरसफाई आवश्यक छ । आराम र पौष्टिक आहारको आवश्यक छ । तर यि पाटोमा चासो नै दिइने गरिन्न ।
सञ्चारीका समूह नेपाल निवर्तमान अध्यक्ष पत्रकार नितु पण्डित भन्छिन् “महिनावारी पाप होईन । शरिरको नियमित प्रकृया हो । जुन महिलाहरूसँग मात्र छ, महिला हुनुमा गर्व गरौं ।” सिन्धुलीकी पत्रकार बिमला पाण्डे पनि महिनावारी र ऋषि पञ्चिमीबारे गलत धारणा हाबि रहेको बताउँछिन् । “महिनावारी पाप होइन गौरव हो, आत्मसम्मान पूर्वक महिलालाई मातृत्वको अनुभूति गर्न नदिन पापका रुपमा महिनावारीलाई लिईयो, यदि पुरुष महिनावारी हुन्थे भने पाप पखाल्ने दिनका रुपमा हैन गौरवको पर्वका रुपमा पञ्चमी पूजालाई लिइन्थ्यो” पाण्डे भन्छिन् “त्यसैले म भन्छु महिनावारी हुनु पाप हैन,सृष्टिका लागि प्रकृतिले दिएको बरदान हो ।” पञ्चमी पूजालाई गौरवको पर्वका रुपमा मनाउन उनको आग्रह छ ।
यस्तै धारणा छ विराटनगरकी लेखक सिमा आभाषको पनि । रजश्वला भइसकेका स्त्रीजातिले रजश्वलालाई पूजा गर्ने दिनको रुपमा मनाउनु पर्ने उनी बताउँछिन् । “यदि पञ्चमीको कथा गतिलो हुने हो भने यो दिन उत्सबको दिन हुने थियो उनले भनिन् “तर पञ्चमीको कथामा ब्रम्हघातिनी, कुकुर्नी, धोविनी हुनेछ भनेकै कारण यो पर्व गौरव बन्न सकेन ।” महिनावारीको महत्वबारे चर्चा गरिएको पञ्चमीलाई लक्षित एउटा गतिलो कथाको आवश्यकता रहेको बताउँछिन् उनी । “महिनावरीको महत्व भएको त्यस्तो कथा सुन्ने दिनको रुपमा यस दिनलाई मनाउन पाए कति मजा आउँथ्यो होला” आभाषले भनिन् ।
चितवनकी पत्रकार प्रतिमा सिलवाल पनि महिनावारीको सवालमा अविश्वास अचम्मले गढेर बसेको टिप्पणी गर्छिन् । महिला सन्तान जन्माउन योग्य रहेको अभुतपूर्व जनाउ दिने प्राकृतिक प्रकृया महिनावारीलाई “पाप“ ठान्ने ’अ’ विश्वास आजको पुस्तामा पनि पाउँदा उदेक लाग्छ” उनले भनिन् । “महिनावारी विभेद कानूनले अपराध मानिसकेको छ । म पनि यसलाई अविश्वास र अपराध ठान्छु, त्यसैले, ऋषिपञ्चमी मान्दिन” उनले भनिन् ।
अचम्मै लाग्ने पाटो त के छ भने समाज परिवर्तनको लागि अघि देखिएका नेतृत्वका महिलाहरु समेत महिनावारीलाई पापको रुपमा स्वीकार गर्दै आजको दिन खोलामा गलत अभ्यासको परम्परालाई स्वीकार गर्दै सहभागी भए । आफूले पटक पटक महिनावारी हुँदा जानिजानी पाप हैन भन्दै बेवास्ता गरेको तर आज समाजको अघि नुहाउँदिन भन्न नसकेर सहभागी भएको एक नेतृले बताइन् ।
“म महिनावारी खासै बार्दिन, तर समाजका सामु नुहाउने गरेको छैन, भन्दा उहाँहरुको भावनामा समेत चोट पुग्ला भनेर सहभागी भएँ” ति नेतृले भनिन् “समाजमा हामीले धेरै चेतना फैलाउनै बाँकी छ, आज तपाईले नुहाएको गलत छ, म नुहाउँदिन म सही छु भन्दा भोली उहाँहरुले मेरो कुरा नसुन्न सक्नुहुन्छ, उहाँहरुलाई विस्तारै बुझाउनु जरुरी छ, त्यसैले म पनि उहाँहरुसँगै सहभागी भएँ” ति नेतृले आफ्नो नाम नलेख्न पटक पटक अनुरोध गर्दै भन्नुभयो । जसलाई जे बुझाउनु छ, उहाँहरुकै समाजमा भिजेरमात्रै बुझाउन संभाव छ भन्नुहुने उहाँको तर्कमा पनि खासै दम देखिन मैले ।
आफूले नबार्दा, केही नभएको उदाहरण दिएर पनि हामीले समाजमा परिर्वतन ल्याउन सक्छौ । धर्म संस्कृती भनेको आत्मा सन्तुष्टिको कुरा पनि हो । व्यक्ति जो जे मा खुसी हुन्छ, सन्तुष्टि प्राप्त गर्दछ, त्यसलाई चाँडो छाड्न मनले मान्दैन पनि । बस् गलत अभ्यासलाई यो कारण गलत हो भनेर बुझाउनु जरुरी छ । यसको लागि गलत यो हो भन्नुसँगै सही यो हो भन्नु पनि जरुरी छ । त्यसैले महिनावारीको गलत धारणालाई हटाउन सही धारणाको व्यापक चर्चा र बहस जरुरी छ । वैज्ञानिक र जैविक कोणले महिनावारी कुनै पनि हालतमा पाप हैन । हरेक जैविक प्राणी प्रजननका लागि तयार हुँदा परिपक्वताको यो खुड्कीलाहरुमा आइपुग्छन, र प्रजनन समयभर यो रहन्छ । जस्तो कि महिलाको प्रजनन क्षमता रहदाभर महिला हर महिना महिनावारी हुन्छिन् यो कुन नौलो कुरा हो र ?
यसबारे विद्यालय तथा क्याक्पस तहमा पनि बुझाइलाई फराकिलो बनाइनु पर्छ । महिनावारीलाई घरदेखि विद्यालय र कार्यलय तहसम्म मर्यादीत बनाइनु पर्छ । यसबारे परिवारमा खुलेर बहस हुनु जरुरी छ । महिनावारीकै कारण महिलाले आफूलाई कमजोर, पापीनीको रुपमा स्वीकार्न बाध्य पारीदा उ माथिको कार्यदक्षतामा समेत ह्रास आउँछ । महिनावारी महिलाको मात्रै सवाल हैन, यो स्वास्थ्य र सरसफाईको मात्रै सवाल पनि हैन । यो विभेदको चरण हो । परिवारदेखि सिनेमाको पर्दाहरुमा समेत मर्यादीत महिनावारी बारे बहस जरुरी छ । महिनावारीमा हुने छुवाछुतलाई पाप ठान्नु नै महिनावारी विभेद हो । यही सोचका कारण समाजमा विभिन्न प्रकारको विभेद उत्पन्न हुन्छ ।
‘महिनावारी शुद्ध हो” भनेर स्कुल, कार्यालय, मन्दिरहरुको भित्तामा लेखिनु पर्छ । यसैलाई हामीले कार्यान्वनमा ल्याउन सक्नु पर्छ । यो भलै चुनौतीपूर्ण र आज को आजै लागु हुन सक्दिैन, तर हामी जटिल यात्रामा छौ भने, हतार गरेर काम बन्नेवाला पनि छैन । मर्यादीत महिनावारी बहुमुखी सवाल हो । यसलाई मर्यादासँग जोडेर अघि बढाउनु पर्छ । नारीवाद, विकासवाद र मानवअधिकारवादमा मर्यादीत महिनावारीको सवाल जोडिनु अनिवार्य छ, बुझाउनु जरुरी छ कि महिनावारीको रगत अशुद्ध हैन, हुँदै हैन ।

