मकवानपुर । नेपालमा कुष्ठराेगका नयाँ विरामी २ हजार २ सय ८५ जना रहेकाे छ । बागमती प्रदेशकाे राजधानी हेटाैडामा ७० ओैं विश्व कुष्ठराेग दिवसकाे सन्दर्भ पारेर सराेकारवालासँग अन्तर्क्रिया कार्यक्रममा उक्त कुरा बताइएकाे हाे ।
आइतबार बागमती प्रदेशकाे राजधानी हेटाैडामा दिवसकाे सन्दर्भ भएकाे अन्तर्क्रिया कार्यक्रममा बागमती प्रदेश स्वास्थ्थ निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले गत वर्षकाे अन्त्यमा उपचार गराएका विरामीकाे संख्या २ हजार ३ सय ७३ जना रहेकाे जानकारी दिए । उनले विशेष गरि कुष्ठराेग राेगबाट बढी प्रभावित मधेष प्रदेशमा रहेकाे पाईएकाे बताए । श्रेष्ठले भने वागमती प्रदेशकाे चितवनमा प्रति १० हजारमा ०.५५ प्रतिशत कुष्ठराेगी रहेकाे बताए । मकवानपुर जिल्लामा समेत केही कुष्ठराेगी भएकाे उनले जानकारी दिए ।
अन्तर्क्रिया कार्यक्रममा कुष्ठराेग माइक्राेव्याक्टरियम लेप्ने नामक सूक्ष्म किटाणुबाट लाग्ने र कम सर्ने राेग भएकाे निर्देशक श्रेष्ठले जानकारी दिए । मानिसबाट मानिसमा स्वास्प्रस्वासकाे माध्यमबाट सर्ने राेग भएकाेले उपचारमा जति ढिला भाे उति नै अपाङ्गता हुनसक्ने श्रेष्ठले बताए । ‘कुष्ठराेग भन्ने बित्तिकै लाल्छाना र भेदभावकाे चरम सिकार हुनु परेका छन्’ उनले भने– ‘सुरुकै अवस्थामा राेग पत्ता लगाएर उपचार गरे शरीरका विभिन्न अंगकाे क्षति हुँदैन ।’ कुष्ठराेग र हात्तिपाइले राेगका कारण अपाङ्गतामा बृद्वी हुने हुदाँ यस्काे निवारणमा सवै लाग्नु पर्ने उनकाे भनाइ थियाे ।
कुष्ठराेगका विरामीहरु वागमती प्रदेशकाे मकवानपुर र चितवनमा केहि देखिएकाे पाईएतापनि साे काे नियन्त्रणका लागि प्रदेश सरकारले याेजना तथा वजेटका कार्यक्रम नै नराखेकाे पाइएकाे बताइएकाे छ । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्र कुमार झाले कुष्ठराेग सरुवा राेग भएकाे तर राेग लागेका व्यक्तिले ओैषधि सेवन सुरु गरे पश्चात् ९९ प्रतिशत नसर्ने जानकारी दिए ।
कुष्ठराेगका कारण अपाङ्गता हुने दर उच्च रहेकाे छ भने स्थानीय स्तरमा संक्रमण बृद्धी हुदै गएकाे पाइएकाे अन्तर्क्रियामा बताइएकाे छ । सामाजिक भेदभाव कायम हुनु, कार्यक्रमकाे अभिलेख दुरुस्त नहुनु, सराेकारवालाहरुकाे कम चासाे लगायतका समस्याहरुले राेग निवारणमा कठिनाई भएकाे बताइएकाे छ । मुलुकि देवानी ऐन २०७४ काे दफा ७१ मा कुष्ठराेग रहेकाे जानकारी नदिइ झुक्काएर विवाह गरेमा उक्त विवाह स्वतः रद्द हुने भनी व्यवस्था गरेकाे कारण राेगवाट पिडितलाई थप पीडा दिने काम गरेकाे झाले बताए । उनले मुलुकी देवानी संहिताकाे उक्त दफा संसाेधन गरी हटाउनु पर्नेमा जाेड दिएका थिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयकाे आयाेजनामा सराेकारवाला र संचारकर्मीसँग भएकाे अन्तरक्रिया कार्यक्रम निर्देशक श्रेष्ठकाे सभाध्यक्षतामा भएकाे थियाे । विश्व कुष्ठराेग दिवस हरेक वर्ष जनवरी २९ तारिखमा मनाउने गरिएकाे छ ।
मकवानपुर । २ बर्षदेखि मोतिबिन्दुको कारण आँखाको ज्योति गुमेपछि गहिरो पिरमा परेका मकवानपुर जिल्ला बकैया गाउंपालिका ५ का ४५ बर्षिय माने माझिलाई अहिले दोस्रो जन्म पाए जस्तै भएको छ ।
“यो जन्ममा मेरो संसार अन्धकार नै होला भन्ने सोच्या थें, अहिले म त फेरि जन्मे जस्तो भको छ” आँखाको सल्यक्रियापछि उनले भने “पट्टी खोल्दा झिलिक्क उज्यालो देखे, म त कता कता खुसीले भक्कानिएछु ।”
उनको एउटा आँखा दुई बर्ष अघि सल्यक्रिया गरिएको थियो,फेरि अर्कोको ज्योती गुम्यो, उपचार गर्ने आर्थिक अवस्था कमजोर भएकोले पनि अब यसै जीवन बित्छ भन्ने लागेको उनले सुनाए ।
५७ बर्षिया सुन्तली खड्काले पनि १६ महिनापछि आँखा खिलेर संसार हेर्न पाइन । “अरूले उपचार लाग्छ,भन्थे कहाँ जाने कस्ले गर्ने उपचार,आखिर पालो आउदो रहेछ” उनेल भनिन् “अब भिरपाखाबाट आँखै नदेखेर लडिएला भन्ने पिर हट्यो ।”
आँखाको गुमेको ज्योति फर्काएर खुसी भर्दै आएको छ हेटौंडा स्थिति हेटौंडा सामूहिक आँखा अस्पतालले । अस्पतालले विभिन्न बिकट भौगोलिक स्थानमा आँखा शिविर गरेर, रोग पहिचान गछी निशुल्क सल्यक्रिया सेवा प्रदान गर्दै आएको छ ।
विभिन्न समयदेखि आँखामा मोति बिन्दु भएर कष्टकर दैनिकी बिताईरहेका ७० जनाको हेटौडा सामुदायिक आँखा अस्पतालमा आँखाको सल्यक्रिया गरिएको हो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालमा हरेक बर्ष २ हजार देखि २५ सय जनाको आँखाको मोतियाबिन्दुको सल्यक्रिया गर्ने गरिएको छ । यहाँ अन्य समस्याको समेत गरि झण्डै ५ हजारले सल्यक्रिया सेवा लिने गरेका छन् ।
बागमती प्रदेश, मधेस प्रदेशको विभिन्न जिल्लाबाट आँखा उपचारका लागि सेवाग्राहीहरू आउने गरेको अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले बताए ।
मकवानपुरको बकैया गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको हर्नामाडी र बाराको प्रस्टोका भन्ने स्थानमा गरिएको शिविरबाट मोतिबिन्दु पहिचान भएका ७० जनाको सल्यक्रिया गरिएको हो ।
अस्पतालले हरेक बर्ष ३ देखी ५ स्थानमा आँखा शिबिर गरेर आखाको समस्या पहिचान गर्ने र उपचारमा सघाउने गर्दै आएको अस्पतालका प्रशासकीय प्रमुख शुधिर श्रेष्ठले बताए । उनका अनुसार मोतिबिन्दुको मात्रै बर्षमा २ हजारदेखि २५ सय जनाको यहाँ सल्यक्रिया हुने गरेको छ । अन्य समेत गरि ५ हजार जनाको सल्यक्रिया गर्ने गरेको उनले बताए ।
आखाको समस्या भएर उपचारमा आउने मध्ये ३० प्रतिशतमा मोतियाबिन्दु हुने गरेको अस्पतालका प्रमुख डाक्टर थकालीले बताउछन । जसमा महिला ६५ प्रतिशतको हाराहारीमा भेटिने गरेका छन् ।

यहाँ मकवानपुर, बारा, महोत्तरी जिल्लाबासी र भारतीय नागरिक समेत उपचारमा आउछन् ।
सामान्यतया आँखामा मोतोबिन्दु भएपछि ८ देखि १० हजार खर्च लाग्छ । शिविरबाट पहिचान भएका बिरामीको आँखा निशुल्क सल्यक्रिया गर्दै आएको छ । यो अस्पतालमा दैनिक औसत ३ सय जनाले सेवा लिने गरेको श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य व्यक्ति सबैभन्दा ठूलो धन हो । आँखा स्वास्थको लागि स्वस्थ्य खानपान तथा जीवन शैली र समयमै उपचारमा ध्यान दिनुपर्ने आँखा चिकित्सकहरूको सल्लाह छ । यसपटकको सल्यक्रियाको सबै खर्च हेटौंडाका माधव र राधिका राजभण्डारीले आफ्नो छोरा आशिषको स्मरण ब्यहोर्ने भएका छन् । पहिलो पटक स्थानीय दाताको सहयोगमा शिविर र सल्यक्रिया गर्न पाएको प्रशासकीय प्रमुख श्रेष्ठले बताए ।
मकवानपुर । पछिल्लो समय आयुर्वेद उपचारमा आकर्षण बढेको छ ।
मकवानपुरको हेटौंडा स्थिति आयुर्वेद केन्द्रबाट आर्थिक बर्ष २०७८/०८९ मा १५ हजार जनाले सेवा लिएका छन् । आर्थिक बर्ष २०७६/०७७ मा ८ हजार जनाले सेवा लिएकोमा २०७७/०७८ मा १२ हजारले सेवा लिएका थिए ।
सेवाग्राही बढेसंगै आयुर्वेद चिकित्सा पद्धतिलाई अझै प्रभावकारी बनाउन स्वास्थ निर्देशनालय बागमती प्रदेशले विशेष पहल गरेको स्वास्थ निर्देशनालय निर्देशक महेश्वर श्रेष्ठले बताए ।
जिल्ला आयुर्वेद कार्यालय मकवानपुरले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् ।
यसैगरी मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेले आयुर्वेद उपचार पद्धति धेरै महत्त्वपुर्ण भएको बताए । प्राणायाम, योग, अभ्यासमा ध्यान दिंदा जीवन स्वास्थ हुने पाण्डेले बताए । हाल कोरोनाको प्रभाव बढ्दो रहेकोले अनावश्यक भिडभाड कम गर्न र स्वास्थ सावधानी अपनाउन प्रजिअ पाण्डेले आग्रह गरे ।
जिल्ला आयुर्वेद स्वास्थ केन्द्र मकवानपुरको आयोजनामा भएको आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय तहका पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
कार्यक्रम आयुर्वेद पन्चकर्म कन्सल्टेन्ट आयुर्वेद बिज्ञ डाक्टर साइरस न्यौपाने र आयुर्वेद चिकित्सक ललिता पाण्डेले आयुर्वेद केन्द्रले प्रदान गर्दै आएको सेवा र उपचार पद्धतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
हाल हेटौंडा स्थित आयुर्वेदबाट विशेषज्ञ बहिरगं सेवा, निशुल्क योग परामर्श सेवा, निशुल्क औषधी वितरण, सशुल्क फार्मेसी संचालन पुर्वेकर्म, पंचकर्म सेवा जेष्ठ, नागरीक सेवा, स्तनपायी कार्यक्रम, ल्याब सेवा, फिजियोथेरापी सेवा अकुपञ्चर सेवा क्षारसुत्र सेवा जस्ता सेवाहरू संचालित रहेको चिकित्सक पाण्डेले बताइन् ।
अन्तरङ्ग सेवाको लागि अस्पताल निर्माण हुदैछ । यसको लागि ४ करोड बजेटमा भवन निर्माणको तयारी भएको छ ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईले स्वास्थ सेवा मौलिक हक भएकोले यसलाई जनताको अधिकारको रूपमा स्थापित गर्न आफूहरू अभियानकै रूपमा लागेको बताए । आयुर्वेद उपचार बारे अन्तरक्रियादेखि सचेतना कार्यक्रममा आफूहरू लागिरहेको अध्यक्ष बजगाईले बताए ।
मकवानपुर । मकवानपुर जिल्लाकै एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना हुने भएकाे छ । सम्झौता पत्रमा हस्ताक्षर भएसँगै हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना हुने भएकाे हाे ।
मृगौला अङ्ग प्रत्यारोपण, डायलासिस सेवा विस्तारका लागि सहकार्य गर्न लागि त्रिपक्षिय संझौता पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालमा सेवा विस्तार गर्ने अभियान स्वरुप मृगौला अङ्ग प्रत्यारोपण गर्नका संझौता पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झाैता अनुसार यस आर्थिक वर्ष भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा मृर्गौला प्रत्यारोपण कार्य शुरु गरिने तथा बागमती प्रदेश अन्तर्गत विभिन्न अस्पतालहरुमा डाइलाइसिस सेवा विस्तार समेत गरिने भएकाे छ ।
मंगलबार हेटौंडा अस्पतालमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, स्वास्थ्य मन्त्री निमा लामासहितको उपस्थितिमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
संझौता भएसंगै काम तत्काल अगाडी बढाइने बताइएको छ । सम्झाैता पछि मुख्यमन्त्री पाण्डेले काम गर्ने इच्छा शक्ति हुँदा आर्थिक अभाव हुन नदिने बताए । सम्झाैता अनुसारकाे काम सकिए पछी अस्पतालबाट सेवा दिन सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशीले बताएए ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी र हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले सम्झौतापत्रका हस्ताक्षर गरेका हुन । मृगौला प्रत्यारोपन केन्द्र स्थापना गर्न बागमती प्रदेश सरकारले यस वर्ष ८ करोड रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।
सम्झाैता अनुसार हेटौंडा अस्पतालमा मृर्गौला प्रत्यारोपण कार्य शुरु गर्नकाे लागि आवश्यक स्वास्थ्य परीक्षण पछी साे काे रिपाेर्टको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा पठाउने भएकाे छ । प्रत्यारोपण केन्द्र भक्तपुरले रिपाेर्ट हेटौंडा अस्पताललाई उपलब्ध गराउने छ ।
मृगौला अङ्ग प्रत्यारोपण र डायलाइसिस सेवा बिस्तारको लागि सहकार्य गर्ने समझदारी पत्र ।
हालै विश्वलाई आक्रान्त पारेको कोरोना भाईरसको प्रकोपलाई नियन्त्रणमा ल्याउन ठूलो चुनौति हुनुका साथै नसर्ने रोग (Non-Communicable Disease) पनि देशको स्वास्थ्य क्षेत्रमा गम्भीर समस्याको रुपमा स्थापित भैसकेको छ । नेपालको करीव ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग हो, जसमा मधुमेह र उच्च रक्तचापको कारणले हुने मृत्यु र मृगौला रोगको साथै क्यान्सर र विभिन्न दुर्घटनाबाट हुने चोटपटक पर्दछ । देशमा बर्षेनी करीव ३००० जनाको काम नगर्ने मृगौला र १००० जनाको काम नगर्ने कलेजो हुने गर्दछ । कलोजो र मृगौला प्रत्यारोपण नेपालमा शुरु भईसकेको भएता पनि आवश्यकता भन्दा अति कम संख्यामा प्रत्यारोपण सेवा उपलब्ध भएको र काम नगर्ने मृगौलाहरु प्रत्यारोपण नहुँदासम्म डायलाइसिस सेवा समेत पाउन नसक्ने बर्तमान अवस्थामा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण सेवाको थप बिस्तार र सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने उचित व्यवस्था गराउने प्रयोजनका लागि देहायको कार्य योजना अन्तर्गत नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल हेटौँडा बीच काम नगर्ने ‘मृर्गौला भएका बिरामीहरुको लागि मृर्गौला प्रत्यारोपण सेवा शुभारम्भ गर्न तथा डाइलाइसिस सेवा विस्तार गर्नको लागि सहकार्य गर्न प्रतिवद्ध छौं ।
(१) यसै आर्थिक वर्ष भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल हेटौँडामा मृर्गौला प्रत्यारोपण कार्य शुरु गर्ने ।
(२) यस प्रदेश अन्तर्गत विभिन्न अस्पतालहरुमा डाइलाइसिस सेवा विस्तार गर्ने ।
(३) माथि उल्लेखित कार्यक्रमहरुको लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गत जनशक्तिको तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने ।
(४) मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन कार्य योजना प्रस्तुत गर्ने ।
(५) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मृर्गौला प्रत्यारोपण फेलोशिप, एम.सि.एच युरोलोजी, डि.एम. नेफ्रोलोजि, नर्सिङ्ग विषयको स्नातक तथा स्नात्तोकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने।
(६) अस्पतालको आवश्यकता पहिचान गरी दुबै पक्षको आपसी समझदारीमा विस्तृत कार्ययोजनामा सम्झौंता गर्ने
प्रा. डा. विश्वराज जोशी उपकुलपती डा. रामचन्द्र सापकोटा डा. पुकार चन्द्र श्रेष्ठ कार्यकारी निर्देशक
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल सुपरिटेन्डेन्ट शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
हेटौँडा, मकवानपुर प्रदेश सरकार भक्तपुर
इति सम्बत २०७९ मंसिर २० गते मंगलवार, रोज ३ शुभम्
एच. एल. ए., सि. डि. सि. ऋसम्याचको लागि सहकार्य गर्ने समझदारी पत्र ।
हालै विश्वलाई आक्रान्त पारेको नसर्ने रोग (Non – Communicable Disease) देशको स्वास्थ्य क्षेत्रमा गम्भीर समस्याको रुपमा स्थापित भैसकेको छ । नेपालको करीव ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग हो, जस्मा मधुमेह र उच्च रक्तचापको कारणले हुने मृत्यु र मृगौला रोगको साथै क्यान्सर र विभिन्न दुर्घटनाबाट हुने चोटपटक पर्दछ । देशमा बर्षेनी करीव ३००० जनाको काम नगर्ने मृगौला र १००० जनाको काम नगर्ने कलेजो हुने गर्दछ । कलेजो र मृगौला प्रत्यारोपण नेपालमा शुरु भईसकेको भएता पनि आवश्यक्ता भन्दा अति कम संख्यामा प्रत्यारोपण सेवा उपलव्ध भएको र मृगौला फेल भएकाहरु प्रत्यारोपण नहुँदासम्म डायलाइसिस सेवा समेत पाउन नसक्ने बर्तमान अवस्थामा सातवटै प्रदेशमा प्रत्यारोपणसेवा विस्तार गर्ने प्रयोजनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल हेटौँडा बीच HLA PRA DSA CDC X match गर्नका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको H LA Lab को उपयोग गर्न निम्न बमोजिम सम्झौता गरियो ।
(१). मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल हेटौंडामा मृर्गौला प्रत्यारोपण कार्य शुरु गर्न HLA PRA DSA CDC X match को लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा पठाउने ।
(२) शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर HLA PRA DSA CDC X match को रिपोट मदन भण्डारी स्वास्थ्य विज्ञान
प्रतिष्ठान, हेटौंडा अस्पताल हेटौँडालाई उपलब्ध गराउने ।
(३) अस्पतालको आवश्यकता पहिचान गरी दुबै पक्षको आपसी समझदारीमा बिस्तृत कार्ययोजनामा सम्झौंता गर्ने ।
प्रा. डा. विश्वराज जोशी उपकुलपती डा. रामचन्द्र सापकोटा डा. पुकार चन्द्र श्रेष्ठ कार्यकारी निर्देशक
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल सुपरिटेन्डेन्ट शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
हेटौँडा, मकवानपुर प्रदेश सरकार भक्तपुर
इति सम्बत २०७९ मंसिर २० गते मंगलवार, रोज ३ शुभम्
मकवानपुर । नेपालको संविधानले धारा ४२ सामाजिक न्यायको हक अन्तरगत अपाङ्ता भएका व्यक्तिहरुको सामाजिक न्यायको सवाल सम्बोधन गरेको छ । जसको उपधारा (१) मा “आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ” भनेको छ ।
तर संविधानले तोके अनुसारको सामाजिक न्याय आफूहरुमाथि नभएको अपाङ्ता भएकाहरुले गुनासो गरेका छन् । उक्त धाराको उपधार ३ मा “अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ” भनिएको छ । तर आफूहरुले अपाङ्ता भएकै कारण पाइलै पिच्छे विभेदपूर्ण व्यवहार सामना गर्नुपरेको ह्वीचियर प्रयोगकर्ता सरिता तामाङले बताइन् ।
अपाङ्ता दिवस मनाउँदै गर्दा सबै तहको सरकारले अपाङ्ता भएकाहरुप्रति आफूको दायित्वबोध भएको बताउने गरेको भएपनि दिनदिनै आफूहरुले समस्या झेल्नु परेको उनीहरुले बताएका छन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ३१ औं अन्तरट्रिय अपाङ्ता दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यालयमा सेवा लिन जाँदा बाटो, सेवा लिने कार्यकक्षदेखि शौचालय प्रयोगमा समेत आफूहरुले समस्या भोग्नु परेको राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अस्विन लम्सालले बताए ।
समावेशी विकासको लागि रूपान्तरीत समाधान पहुँच र समतामूलक विश्वको लागि उर्जावान र सृजनशीलको प्रावधान भन्ने नाराका साथ डिसेम्बर ३ मा अपाङ्ता दिवस मनाइएको छ । तर सरोकारवालाहरुले आफूहरुलाई कतैबाट पनि सामाजिक न्यायको अभाष नभएको गुनासो गरेका छन् । “सेवा लिन जाने कार्यालयहरु नै अपाङ्गमैत्री छैनन” अध्यक्ष लम्सालले भने “त्यस्ता कार्यालयबाट हामीले कसरी सेवा लिने ?”
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिब रामशरण सापकोटाले राज्यले बिकृत अवस्थालाई व्यवस्थापन गर्नुपर्ने धारण लिए अघि बढेको बताए । “अपाङ्गताको अवस्थालाई सकेसम्म कम गर्ने, भएकालाई राज्यले व्यवस्थापन गर्ने गर्नुपर्छ, जो अपाङ्गता भैसकेको छ, उहाँको सार्थक जीवन यापन गर्न समन्वय सहजीकरण गर्नतर्फ ध्यान दिएका छौँ” सापकोटाले भने “राज्यले चाहेजती गर्न नसकेको होला, तर फरक व्यवहार गर्नुहुदैन भन्नेमा हामी लागेका छौ ।”
अपाङ्गता भएकाहरुको समस्यालाई सम्बोधन गर्न बागमती प्रदेश सरकारले नीतिको ड्राफ बनाएको छ,तर त्यो पुरा भएको छैन । सबै वर्ग र समूदायको सम्मानको लागि प्रदेश सरकारले नीतिको अन्तिम रुप दिएको मन्त्रालयका प्रवक्ता रुद्रहरी भण्डारीले बताए । यसैगरी सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले अपाङता भएकाहरुको समस्यालाई ध्यानमा राखेर दोभाषे तालिम, अटिजम भएका बालबालिकाको पुनर्थापना तथा शिक्षा कार्यक्रम, सहायता सामग्री वितरण गरिरहेको बताए ।
अपाङ्गताको हितको लागि धेरै नीति बन्नुपर्ने बनेका नीति,निर्देशिका नियमावली अपाङ्गता भएकाहरूले सम्पत्तिको रूपमा ग्रहण गर्नसक्ने हुनुपर्ने राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश अध्यक्ष लम्सालले बताए ।
संघीय संरचना अनुसार संघीय सरकारले नीति नबनाउदा स्थानीय तहमा समेत नीति बन्न नसकेन र ग्रामीण भेगमा धेरै अपाङ्गता भएका व्यक्तिको समस्यालाई सम्बोधन हुन पाएको उनले बताए । अपाङ्गता भएका वर्गिय ब्यक्तिको समस्या सम्बोधन गर्न मन्त्रालयहरूले कार्यक्रम बनाउनु पर्ने लम्सालले बताए ।
“अपाङता अभियान सशक्त हुन सकेको छैन, सबै बर्गका अपाङ्गता भएकाहरूको हितमा समन्वयात्मक रूपमा काम गर्नुपर्छ, दिवसमा मात्रै हैन, सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता छ” लम्सालले भने । संबिधानलाई संस्थागत गर्दै, अपाङ्गताको सवालमा समाबेशी र पहुँचको सवालको सम्बोधन हुनुपर्ने उनले बताए ।
स्पाइनल कट इन्जुरी भएकालाई झनै बढी समस्या हुने गरेको सहभागीहरुले बताए । अरुले गाडी रोक्न लगाउँदा गाढी रोक्छ, तर हामीलाई देखेपछि चढाउन मान्दैनन्, सार्वजनिक कार्यालयहरुमा रहेका वा सार्वजनिक स्थानहरुमा रहेका शौचालयहरु हामीले प्रयोग गर्नै मिल्दैन एक अपाङगता भएका सहभागीले भने ।
अपाङ्ग महसंघ बागमती प्रदेश सल्लाहकार सरिता तामाङले अपाङ्गता भएकालाई आत्मनिर्भर बनाउन तर्फ सरकारले ध्यान दिएको दिनुपर्ने बताइन् । क्षमता अनुसारको सिपको सम्बोधन हुनेगरी कार्यक्रम ल्याउनु पर्ने तामाङले बताइन् ।
कार्यक्रममा अपाङ पद्धति जीवन स्वावलम्बन केन्द्र ललितपुरका अध्यक्ष गणेश केसीले अपाङता भएकाहरुको समस्या र आवश्यकताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।