मकवानपुर । पछिल्लो समय आयुर्वेद उपचारमा आकर्षण बढेको छ ।
मकवानपुरको हेटौंडा स्थिति आयुर्वेद केन्द्रबाट आर्थिक बर्ष २०७८/०८९ मा १५ हजार जनाले सेवा लिएका छन् । आर्थिक बर्ष २०७६/०७७ मा ८ हजार जनाले सेवा लिएकोमा २०७७/०७८ मा १२ हजारले सेवा लिएका थिए ।
सेवाग्राही बढेसंगै आयुर्वेद चिकित्सा पद्धतिलाई अझै प्रभावकारी बनाउन स्वास्थ निर्देशनालय बागमती प्रदेशले विशेष पहल गरेको स्वास्थ निर्देशनालय निर्देशक महेश्वर श्रेष्ठले बताए ।
जिल्ला आयुर्वेद कार्यालय मकवानपुरले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् ।
यसैगरी मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेले आयुर्वेद उपचार पद्धति धेरै महत्त्वपुर्ण भएको बताए । प्राणायाम, योग, अभ्यासमा ध्यान दिंदा जीवन स्वास्थ हुने पाण्डेले बताए । हाल कोरोनाको प्रभाव बढ्दो रहेकोले अनावश्यक भिडभाड कम गर्न र स्वास्थ सावधानी अपनाउन प्रजिअ पाण्डेले आग्रह गरे ।
जिल्ला आयुर्वेद स्वास्थ केन्द्र मकवानपुरको आयोजनामा भएको आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय तहका पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
कार्यक्रम आयुर्वेद पन्चकर्म कन्सल्टेन्ट आयुर्वेद बिज्ञ डाक्टर साइरस न्यौपाने र आयुर्वेद चिकित्सक ललिता पाण्डेले आयुर्वेद केन्द्रले प्रदान गर्दै आएको सेवा र उपचार पद्धतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
हाल हेटौंडा स्थित आयुर्वेदबाट विशेषज्ञ बहिरगं सेवा, निशुल्क योग परामर्श सेवा, निशुल्क औषधी वितरण, सशुल्क फार्मेसी संचालन पुर्वेकर्म, पंचकर्म सेवा जेष्ठ, नागरीक सेवा, स्तनपायी कार्यक्रम, ल्याब सेवा, फिजियोथेरापी सेवा अकुपञ्चर सेवा क्षारसुत्र सेवा जस्ता सेवाहरू संचालित रहेको चिकित्सक पाण्डेले बताइन् ।
अन्तरङ्ग सेवाको लागि अस्पताल निर्माण हुदैछ । यसको लागि ४ करोड बजेटमा भवन निर्माणको तयारी भएको छ ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईले स्वास्थ सेवा मौलिक हक भएकोले यसलाई जनताको अधिकारको रूपमा स्थापित गर्न आफूहरू अभियानकै रूपमा लागेको बताए । आयुर्वेद उपचार बारे अन्तरक्रियादेखि सचेतना कार्यक्रममा आफूहरू लागिरहेको अध्यक्ष बजगाईले बताए ।

