मकवानपुर /बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडा बजार घर भएकी १४ वर्षीया बालिकालाई बेचिदै गर्दा उद्वार गरिएको छ ।
बेचविखनमा संलग्न ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियमन्त्रणमा लिएर हिरासतमा राखेको छ । विगत ३ महिनादेखि बालिकालाई विभिन्न प्रलोभनमा पार्दै आएको र २० मंसिरमा घरबाट भारतको लागि प्रस्तान गर्दै गर्दा परिवार समेतको संलग्नतामा प्रहरी, माइती नेपाल र साना हातहरु नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्वार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको जाहेरी अनुसार सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर स्थायी ठेगाना भई हाल मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ८ कमाने सनउड कोलनी बस्ने ति बालिकालाई उद्वार गरिएको थियो ।
आरोपित ३ जनालाई मानव बेचबिखन तथा ओसार पसार कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बेचविखनमा संलग्न रहेको आरोपमा प्रहरीले पर्सा जिल्ला जिराभवानी गाउँपालिका– ८ घर भई हाल हेटौडा उउपमहानगरपालिका –८ मा कमानेमा डेरा गरी बस्ने ५२ को मादाराज हजरा दुसाद र सोही स्थानमा बस्ने निजकै छोरा २६ वर्षीय बिजय पासवानलाई नियन्त्रणमा लिएको छ । यसैगरी सोही मुद्दमा प्रत्यक्ष संलग्न भएको आरोपमा भारत विहार वेतिया जिल्ला राजपूर वडा –४ सुभद्रा थाना बस्ने ३६ वर्षीय राजेन्द्र महतोलाई पनि नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ ।
आरोपित बिजय र मादाराजले बालिकालाई ३ महिना पहिलादेखि भारत वेतियामा विवाह हुने ठाउँमा डान्स गर्ने काम लगाई दिने र त्यस बापत मासिक आईसी १० हजार तलब दिने भनेर प्रलोभनमा पार्दै आएको बालिकाले जाहेरीमा बताएकी छिन् ।
करिब एक हप्तादेखि दैनिकजसो आर्थिक प्रलोभनमा पार्दै आएको र राजेन्द्र महतोलाई भारत बेतियाबाट हेटौंडा बोलाएर बालिकालाई पठाउने तयारी गरिएको जाहेरीमा उल्लेख छ । बिजय र मादाराजले हेटौंडा बोलाएपछि राजेन्द्रलाई १९ मंसिरमा आफ्नै डेरामा बास बसाएका थिए । आरोपित ३ जनाले बालिकालाई चितवन जिल्ला हुदै ठोरीबाट भारत वेतियामा लगि बेच बिखन गर्ने योजना सोही रात बनाएका बुझिएको छ । २० मंसिरको विहान ८ बजे घरबाट झोला बोकी घर बाहिर निस्कन लाग्दा बालिकाको आमाले सोधिखोजि गरेपछि घटना बाहीरीएको थियो ।
आर्थिक रुपमा विपन्न ति बालिकाको बुबा निर्माण मजदुर हुन । आमा अरुको घरमा सरसफाइको काम गर्ने र स्वयम बालिका पनि बालश्रममा संलग्न हुँदै आएको पाइएको छ । आर्थिक विपन्नताकै कारण कक्षा ८ सम्म पढेर स्कुल छोडि काममा लागेको बालिकाले बताइन् । ‘अरुको घरमा काम गरेर बस्नु भन्दा राम्रो तलब पाइने भए, परिवारभन्दा टाढा बस्न परे पनि बस्छु भन्ने लाग्यो’ ति बालिकाले भनिन् । उद्वारपछि बालिकालाई माइती नेपाल मकवानपुरको संरक्षणमा राखिएको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । मंसिर २३ गतेको सहीखबर साप्ताहिकको पृन्ट संस्करणबाट
मकवानपुर / अधिकारमाथी हस्तक्षेप गर्नु सबैभन्दा ठूलो हिंसा भएको सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय अध्यक्ष भारती पाठकले बताएकी छन् । कानुनमा दुरगामी सोच भए पनि व्यवहारमा त्यो नहुंदा ग्रामिण महिलाहरूमाथी शोषण भएको केन्द्रिय अध्यक्ष पाठकले बताइन् ।
महिलाले बचाएको वन, जोगाएको जलासय, जमिनमा महिलाकै निर्णय लागू नहुनु महिलाको माथीको शोषण भएको पाठकले बताइन् । “लैङ्गिक हिंसा विरुद्धको अभियान मनाईरहदा सामुदायिक वन जोगाउन लागिपर्दा दुख भोगेका महिलाको सवाल किन नउठाउने ? ” उनले प्रश्न गरिन ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत आज हेटौंडामा आयोजित जिल्ला स्तरीय कार्यक्रममा पाठकले यस्तो बताएकी हुन् । सरकारले सामुदायिक वनलाई बेवास्ता गर्नु, बजेट नछुट्याईनु पनि हिंसा भएकोले यसको विरुद्धमा पनि लाग्नुपर्ने पाठकले बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरको उपप्रमुख भगवती पुडासैनीले महिलाहरूले अधिकार माग्ने हैन, समान हैसियत बनाउन लागि पर्ने बताइन् । पदमा पुगेर जिम्मेवारी निर्वाह गर्न सक्ने बन्न र निजि वनमा पनि महिलाको अधिकार सुनिश्चित गर्न एकजुट हुनुपर्ने पुडासैनीले बताइन् । सामुदायिक वन हुँदै राजनैतिक नेतृत्वमा पुग्नको लागि अग्रसर हुन उनले आग्रह गरिन ।
कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडा सहायक वन अधिकृत वसन्त गौतमले स्रोत माथिको अधिकार उपभोग गर्न सक्दा हिंसा कम हुने बताए ।

यसैगरी कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश सचिवालय सदस्य रामहरि चौलागाईंले घरमा छोराछोरी बिचमा आमा बाबाले प्रदान गर्ने संरक्षकत्वले पनि हिंसा बढाएको बताए । बालबालिकाको हुर्काइ, लालनपालनमा हुने फरक व्यवहारले विभेद निम्तने उनले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाको विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति मकवानपुर र प्राकृतिक स्रोत महिला अधिकार सन्जालको सयुक्त आयोजनामा कार्यक्रम भएको सन्जालको राष्ट्रिय महासचिव आरती पाठकले बताइन् । हिंसा न्यूनीकरणमा पहल गरे परिवर्तन संभव भएको महासचिव आरती पाठकले बताइन् ।
- अधिवक्ता जगन्नाथ सुवेदी
मंसिर १८, २०७८ मा अनलाइन उज्यालोमा प्रकाशित समाचारको हेडलाइन थियो छोराछोरी खोज्दै आमा काठमाण्डौमा । त्यसको तल फोटोमा थकित देखिने एक बृद्ध आमाको फोटो थियो । ति ७० बर्षीय गंगादेवी शिंहले आफ्ना एक छोरा र एक छोरी २०५७ सालमा बालमन्दिरमा पढाउने भन्दै केआईसिंह गाउँपालिका घर भइ कैलालीको गोदावरी नगरपालिकाबस्ने भान्जी नाता पर्ने जगत्रादेवी सिंहले लगेको कुरा आमा गङ्गादेवीले बताउनुभएको छ ।
जगत्रादेवीले गङ्गादेवीका छोरा–छोरीलाई नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालय नक्सालमा भर्ना गरेको र नेपाल बाल सङ्गठनले दुई वर्ष राखी छोरीलाई स्पेनका नागरिक र छोरालाई इटलीका नागरिकलाई धर्मपुत्रका रूपमा पठाएको बाल सङ्गठनको रेकर्डमा देखिएको छ । तर छोरा–छोरीले अहिलेसम्म पनि सम्पर्क नगरेको भन्दै आमा गङ्गादेवी उनीहरूको खोजीका लागि काठमाण्डौ आइपुग्नुभएको कुरा समाचारमा छ ।
राज्य संयन्त्र भित्रको जिम्मेवार बालमिन्दरले कुनै बालबाललिकाको जीवनमाथी मनपरि गर्न पाउँछ ? कुनै बालबालिकालाई अनाथ गराइदिने ? धर्मपुत्र धर्मपुत्रीको नामामा गुमनाम गराइदिने ?
सामान्य रुपमा पढ्दा यो एउटा समाचार होला तर ति आमाको निम्ति यसमा ठुलो ब्यथा छ, जस्को उमेरले डाँडो काटिसकेको छ । आँखाको पानी सुकिसकेको छ, मुहार र हातका छलाहरु चाउरिएरका छन् । अनि कलिला उमेरमा पठाइएका दुइ सन्तानलाइ एक्काइस बर्षसम्म देख्न नपाउँदा हृदयभित्रको ममता तड्पिरहेको छ । ति आमा जो डोटीदेखि काठमाण्डुसम्म आइपुग्दा मनमा अझै झिनो आसा र भरोसालाइ जीवित राखेरै सास फेर्दै होलिन कि कुनै दिन यो देशको राम्रा पदमा बसेका ठुलावडाले उनको ब्यथालाइ बुझिदिएर छोरा छोरीलाइ ल्याइदिने छन् । अनि ति सन्तानका कपाल सुमसुम्यउदै रुदै अंगालो हाल्नेछु । भबिस्यको यो अनुमानको आनन्दमा उनी कहिले केहिक्षण रमाउलिन अनि धेरै त भक्कानिएलिन कहिले त छटपटाउलिन ।
पढ्नेका निम्ति कथा आमाका निम्ति ब्यथा यो घटना राज्यको निम्ति लज्जाको कुरा हो । हामी राज्यलाइ कर तिर्छौं, तिरो बुझाउँछौं र उसले बनाएका कानुनको पालना पनि गर्दछौं किनकी उ हाम्रो संरक्षक हो, अभिभावक हो । हामीलाइ आपत पर्दा आफु सहि छु भने मसँग मेरो राज्य साथमा छ त्यसैले म ढुक्कसँग निदाउन सक्छु । यहि होइन र एउटा असल नागरिकले सोच्ने कुरा वा सोच्न पाउने कुरा ?
तर खै त ७० बर्षीया गंगादेवीको साथमा त्यो राज्य जसले एक्काइस बर्षदेखि छुट्टिएका नाबालक सन्तानको खोजी प्रयास केहि गरेन बरु अपराध गरेको छ । के गर्यो र त्यस्तो अपराध जसलाइ यहाँ नेर भन्नै पर्ने ? हामी वर्तमानका नागरिक समयको त्यो कालखण्डमा आइपुगेका छौं जहाँ ब्यक्तिको पहिचानलाई सर्वापरी मानिन्छ र संवेदनशील मानव अधिकारको रुपमा स्वीकार गरिन्छ । यहाँ गंगादेवीका दुबै सन्तानलाइ धर्मपुत्रका रुपमा पठाइएको भनिएको छ । जो साँच्चै अनाथ छन् ?
उनीहरुलाई कानुनी प्रक्रिया पुरा गरेर धर्मपुत्र पुत्रीमा रुपान्तरण गरिने कुरा छन् । तर जस्को अभिभावक छन् आमाबाबु छन् त्यस्ता सन्तानलाइ अनाथ तुल्याइदिने ? जत्तिको एउटा बालकको जन्मदर्ताको अधिकार उसको पहिचान र राज्यसँगको नाताको सवाल हो त्यत्तिनै उ अनाथ हो वा होइन भन्नेकुरा पनि । उस्को पहिचान र आत्मसम्मानसँग अन्योन्याश्रित हुन्छ । को बाट भएको छ यो कुकर्म भनि यस घटनालाई हेर्दा बालमन्दिरले नै आफूकहाँ ल्याइएका बालबालिकालाई दुइ बर्ष राखेर बिदेशीहरुलाई जिम्मा लगाएर पठाइएको कुरा रेकर्डले बताइरहेको छ ।
राज्य संयन्त्र भित्रको जिम्मेवार बालमिन्दरले कुनै बालबाललिकाको जीवनमाथी मनपरि गर्न पाउँछ ? कुनै बालबालिकालाई अनाथ गराइदिने ? धर्मपुत्र धर्मपुत्रीको नामामा गुमनाम गराइदिने ? यो त एउटा घटना हो खोजी पस्ने हो भने धेरै बालबालिकाहरु यसैगरि धर्मपुत्र धर्मपुत्रीको नामामा गुमनाम गराइएका छन् । कार्य, माध्यम र उदेश्यलाई खोज्ने हो भने यो घटना मानव बेचबिखन तथा ओसारपसारको हुने देखिन्छ तर यस तर्फ किन अध्ययन अनुसन्धान गरिदैन ।
यसमा धेरै उच्च पदस्थ ब्यक्तिहरु तानिन्छन् कान्तिपुर अनलाइनले एउटा खोजमुलक तथ्य परक आलेख मंसिर १९, २०७८ मा आएको छ । जनकराज सापकोटाले तयारपारेको यस आलेखमा असहाय बालबालिकालाई संरक्षण दिन सञ्चालित नेपाल बाल संगठनका अधिकारीहरू नै बालबालिका बेचबिखनमा लागेको र धर्मपुत्र र पुत्रीका नाममा तीन दशकयता ९ सय ४८ बालबालिका विदेश पठाइए पनि जम्मा ७२ जनाको अभिलेख राखिएको तथा उनीहरूका नयाँ अभिभावकबाट संकलन गरिएको रकम पनि हिनामिना भएको कुरा उल्लेख गरिएको छ ।
बालबालिकाका माथि हुने यस्ता धेरै खाले अपराधलाई परिभाषित गरि कानुनी कार्यवाहीको दायरामा ल्याउन र बालबालिकाहरुलाई सक्षम प्रतिभाशाली र प्रज्ञावान बनाउने उदेश्यले बालबालिका सम्बन्धी ऐन २०७५ आएको छ । यसका धेरे राम्रा र सवाल पक्षहरु हुंदाहुंदै अझै केहि कुरा सुधार गर्नु पर्ने देखिन्छ नत्र भबिश्यमा अरु गंगादेवीका ममाता तड्पिने छन् । हृदयहरु फुटने छन् ।
यो कानुनले बालअधिकार संरक्षण र त्यससँग सम्बन्धित संयन्त्रको बिषयमा त मार्ग प्रसस्त गरिदिएको छ । बालबालिका बिरुद्धको कसुर अन्तरगत बालबालिकामाथीका हिंसाहरु र दुर्व्यवहारहरु भनेर अलग अलग समुहमा प्रष्ट्याएको पनि छ । तर संसारमा मानब बेचबिखनको अभ्यास र शैलीलाई नियाल्ने हो भने बालबालिका उमेर समुहकै धेरै बेचिएका छन् ।
बेचबिखनको दलदलमा पर्नेहरु हिंसा र दुर्व्यवहार कै शिकार भएकाहरु नै छन् । यस कारण के पनि भन्न सकिन्छ भने मानब बेचबिखन त परिणाम हो भने त्यहाँसम्म ल्याउने कारक तत्व हिंसा र दुब्र्यबहार पनि हो । यदि यस्तो हो भने यो ऐनले बेचबिखनको सवालमा कुनै तरिकाले सम्बोधन गर्न सक्नु पदथ्यो । बेचबिखन ओसारपसारलाई हेर्न अर्को बिशेष कानुन भएकैले यसमा समाबिष्ट नगरिएको हो कि भन्ने कुरामा पदीय जिम्मेवारी रहने गरि प्रेषित प्रणालिको ब्यबस्था तय गर्नुपर्छ ।
बालबालिका सम्बन्धि ऐन २०७५ ले तिनतहकै सरकारले आबश्यकतानुसार बालगृह खोल्न सक्ने प्राबधान उल्लेख गरेको छ । आफ्ना साना सन्तानलाई कसैको जिम्मालगाएर पढ्ने उद्देश्यले घरदेखि टाढा लैजान दिनु कति बाध्यता थियो । कति रहर थियो । कति सचेत थिए कति भ्रमित थिए । त्यो अलग बिषय हो । तर बाल मन्दिर जस्तो संस्थाले २ बर्ष राखेर बिदेशीलाई पठाइदिने ?
कानुनले ३ तहका सरकारबाट सन्चालन भएका बालगृहको मात्र कुरा गर्दछ र नीजिस्तरका बालगृहलाइ कुनै सम्बोधन गर्दैन भने बालबालिकाको निम्ति सर्बोच्च निकाय राष्ट्रिय बाल अधिकार परिषदको पहुँच कसरी पुग्छ ?
नेपालको सन्दर्भमा यस्ता बालगृह थुप्रै छन् जहाँ असंख्य बालबालिकहरुले आश्रय लिइरहेका छन् र अधिकांश नीजिस्तरबाट सन्चालित छन् । जब कानुनले ३ तहका सरकारबाट सन्चालन भएका बालगृहको मात्र कुरा गर्दछ र नीजिस्तरका बालगृहलाइ कुनै सम्बोधन गर्दैन भने बालबालिकाको निम्ति सर्बोच्च निकाय राष्ट्रिय बाल अधिकार परिषदको पहुँच कसरी पुग्छ ? त्यस्ता बालगृहको अनुगमन मुल्यांकन र कानुनी कार्यबाहिको निम्ति ? सारवान कानुनले स्पष्ट नबताएको क्षेत्रमा कार्यबीधि कानुनको प्रयोग गर्नु न्याय संगत ठहरिदैन । संयुक्त राज्य अमेरिकाको २०१७ को मानव बेचबिखन विरूद्धको प्रतिवेदन अनुसार नेपालमा दर्ता नगरिएका र न्यूनतम मापदण्ड पुरा नगरी ऐन विपरित स्थापित बाल गृहहरुमा रहेका बालबालिकाहरूले पारिवारिक हेरचाह नपाउने भएकोले बेचबिखनको जोखिममा रहेका छन् भन्नेकुरा उल्लेख छ ।
पर्यटक र स्वयंसेवकहरूबाट चन्दा संकलन गर्नका लागि बालबालिकाको ओसारपसार गर्ने व्यक्तिले अभिभावकहरूलाई झुटो आस्वासनमा पारी बालबालिकालाई बाल गृहमा पु-याउने र अन्त्यमा त्यस्ता बालबालिकाहरुलाई बाबु आमा बिहिन बनाउन बाध्य गर्ने गरेको पाइन्छ डोटीकी सत्तरी बर्षीया गंगादेवी पनि यसैको शिकार बनेकी रहिछन् । दर्ता भई सञ्चालनमा रहेका बाल गृहहरूको संख्या ४८९ वटा र त्यहाँ संरक्षित रहेका बालबालिकाहरू ११,३५० जनाको संख्यामा रहेको र ७४ प्रतिशत बालगृहहरु प्रमुख पर्यटन गन्तव्य क्षेत्रहरूमा रहेको कुरा राष्ट्रिय बालअधिकार परिषदबाट थाहा पाउन सकिन्छ ।
नेपाल सरकारलाई संस्थागत रूपमा जोखिममा परेका बालबालिका तथा मानव बेचबिखनको जोखिमलाई सम्बोधन गर्न र सहयोग पुयाउन, ECPAT Luxembourg ले संयुक्त राज्य अमेरिकाको विदेश बिभाग अन्तर्गतको मानब बेचबिखनको नियन्त्रण र अनुगमन कार्यालयको सहयोगमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको बाल अधिकार परिषद्सँगको संयुक्त सहकार्यमा बाल अधिकारको सुनिश्चितताको लागि, बालगृहहरूमा बालबालिकाको संभावित बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीकरण तथा बालमैत्री वातावरण सुनिश्चित गर्ने लक्ष्यका साथ ‘सुरक्षाको लागि साथसाथ’ परियोजना सुरुवात गरेको छ ।
राष्ट्रिय बाल अधिकार परिषदसँगको समन्वयमा नेपालका २० वटा नगरपालिकामा सेलर्ड र शक्ति समुहले काम गरिरहेको यो परियोजनाले स्थानीय तहको निम्ति आवस्यक बालअधिकार संरक्षण निर्देशिका को नमुना निर्माण गरि सहयोग पुर्याएको छ भने आवश्यक नीति र कार्यबिधीहरु तयार गरिरहेको छ । बाल गृहबाट हुन सक्ने संभावित मानव बेचबिखनको जोखिम न्यूनीकरण तथा बेचबिखनबाट प्रभावित बालबालिकाको बृहत सेवाहरू सुनिश्चित गर्नका लागि प्रदेश र स्थानीय तहमा सरकारी संयन्त्र र संरचनाहरूलाई सुदृढीकरण गर्ने लक्ष्य पनि लिएको छ । सबैको प्रयासले वातावरणनै यस्तो बनिनुपर्दछकि कुनै बालबालिका जोखिममा पर्नलागेको अवस्था आएमा सिस्टमलेनै त्यसलाइ औंल्याइदियोस् ।
मकवानपुर । हिंसा र हिंसाको प्रकार, लैगिंक हिंसाको परिभाषाले समेटेको विषयवस्तुहुरु, महिला तथा घरेलु हिंसा, किशोरिहरुको महिनावारीका बेलामा बिद्यलयमा भएको हाजिरको अबस्था र समस्याको समाधानमा अभिभाबकको भूमिका बारे चर्च गरिएको छ ।
लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरगत शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला संजाल मकवानपुरको आयोजनामा साथै एस्थर बेन्जामिन स्मृती संस्था, बाल कल्याण समाजमकबानपुर र मेन र्ईगेज एलायन्स नेपाल मकवानपुरको समन्वयमा मकवानपुर जिल्लाको मनहरी गाउपालिका ६ को डिपाटमा लैङ्गिक समानताको लागी शिक्षाको भुमिका बिषयक अन्तरकृया कार्यक्रममा यस्तो चर्चा गरिएको हो ।
कार्यक्रममा बालबालिकाको शिक्षा को अधिकार, हिंसाका कारण र निबारणको उपायहरु, बिपदको समयमाबालिकामाहुन सक्ने हिंसाको संबोधन कसरी गर्ने, हिंसा अन्त्यका लागि शिक्षाको महत्व, शिक्षामा बन्चितिकरणमा पर्नुको कारण बारे पनि चर्चा गरिएको थियो ।
यसैगरी नेपालको संबिधानमा महिलाको अधिकार र शिक्षाको अधिकार, दिगो विकास लक्ष्य ४ र ५ का बारेमा प्रस्ट्याएको थिए । घरैबाट सुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ संचालन भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा शिक्षाको लागि राष्ट्रिय अभियान नेपालका बागमती प्रदेश संयोजक प्रकाश खतिवडाको प्रमुख आतिथ्य र शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला संजाल मकवनपुर का संयोजक बुद्ध बिर लामाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा जनजाती उत्थान प्रा।बि।का प्रधानाध्यापक देबराज प्रजा, शिक्षि बिष्णु मुक्तान, डिपाट सामुदायिक बन उपभोक्ता समिती अध्यक्ष डम्बर बहादुर मुक्तान, सामाजिक अभियन्ता हरि बहादुर लोप्चन, स्थानीय महिला अधिकारकर्मी उर्मिला लो, ईश्वरि माया प्रजा, तथा अभियन्ताहरु राजन प्रजा, अनु प्रजा, को समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा मनहरि गाउपालिकाको लैगिंक हिंसा बढि भएका क्षेत्रका, शिक्षाबाट बन्चितीकरणमा परेका समुदाय र चेपागं, जनजाती तथा सिमान्तकृत समुदायका अगुवा ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा शिक्षाको लागि राष्ट्रिय अभियान नेपालका बागमती प्रदेश संयोजक तथा मेन ईंगेज एलायन्स मकवनपुरका संयोजक प्रकाश खतिवडाले सहजिकरण गरेका थिए ।
बालबालिकालाई बिधालय भर्ना को लागि अभिभाबकको भुमिका, बिधालयमा बालबालिकाको पढाई छोड्ने दर घटाउन अभिभाबकको भुमिका, महिला हिंसा अन्त्य गर्न र महिलालाई सम्मानित जीवन यापन गराउन पुरुषको भुमिका बारेमा समुह कार्य समेत गरिएको थियो ।
मकवानपुर / समाजमा व्याप्त बाल विवाह न्यूनिकरणको लागि सरकारी तवरबाट बनेको नीति अनुसारको रणनीतिक योजनाहरु बन्नु पर्ने र कडाइका साथ कार्यन्वयनमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय बाल अधिकार परिषद् र बाल बालिका शान्ति क्षेत्र हुन् अभियानको आयोजना तथा सिविन बाल हेल्प लाइन मकवानपुरको समन्वयमा हेटौंडामा भएको छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
सरकारले बालबालिकाको हितको लागि केही प्रभावकारी नीति बनाएको भए पनि यसको कार्यान्वय पक्ष फितलो भएकोमा सरोकारवालाहरुले चिन्ता प्रकट गरे । आवश्यकता महसुस गरिएको भए पनि नीतिले प्राथमिकता नपाएको सहभागीहरुले बताएका हुन् । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको महिला विकास अधिकृत चन्द्रकुमारी व्यान्जनकारले आपतकालीन अवस्थामा रहेका बालबालिकाको उद्दारदेखि विभिन्न हितकारी सवाललाई नीतिले सम्बोधन गरे पनि उपलब्धिपूर्ण हुन नसकेको बताइन्।
समाजमा देखिने तडकभडक र देखासिखि, सामाजिक संस्कार,परिवारको बेमेल, आर्थिक अभाव, प्रेम सम्बन्धले बसेको गर्भ जस्ता कारणले बाल विवाहलाई उत्प्रेरित गर्ने गरेको सहभागीहरुले बताएका थिए । प्रेम सम्बन्धलाई समाज र परिवारले अस्वीकार गरेको कारण पनि बाल विवाह हुने गरेको सिविन बाल हेल्प लाइन मकवानपुरको अधिकृत सम्झना अधिकारीले बताइन् ।

बालबालिकालाई कुनै नै कुनै काममा व्यस्त राख्न नसकेको कारण बाल विवाहको समस्या र चुनौती बढेकोले उनीहरूको रुचि बुझेर सीप, क्षमताको सवाल जोड्नु पर्ने कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्डका फिल्ड अधिकृत जगन्नाथ सुवेदी बताए । बाल विवाहको चिन्ता समुदायको विषय बन्नु पर्ने र हाल यो कुनै गैरसरकारी संस्थाको सवाल जस्तो रुपमा लिंदै आएकोले पनि व्यवहारीक रुपमा बाल विवाह रोकथाम गर्न नसकिएको बताइएको थियो ।
बाल विवाह रोकथामको लागि विद्यालयमा भर्ना अभियान लैजादा नै बाल विवाह विरुद्ध सचेतनाका कार्यक्रमहरु जोड्नु पर्ने, विद्यालयको अभिभावक भेला तथा कक्षागत रुपमा पनि जनचेतना अभिवृद्धिको कार्यक्रम गर्नुपर्न सहभागीहरुले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख चुडाकुमारी खड्काले बालबालिकाहरुलाई कानूनी सचेतना समेत अपरीहार्य भएको बताइन् । ‘माया गर्दा पनि अपराध हुक्छ भन्ने हेक्का नहुदा बालकहरु बलात्कारको केसमा पर्ने गरेका छन्’ खड्काले भनिन् ।
बालबालिकालाई अधिकार सँगै कर्तव्य बोध गराउने, अभिभावकलाई बालबालिकाप्रति कुशल अभिभावकत्व निर्वाह गर्न प्रेरित गर्ने, पारिवारीक मेलको बातावरण सिर्जना गर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने सहभागीहरुले बताएका थिए ।

राष्ट्रिय बाल अधिकार परिषदका पुर्व निर्देशक तारक धिताल, सिजपका रत्न केसी र सिविन मकवानपुरका संयोजक झविन्द्र ज्ञावलीले सहजिकरण गरेको कार्यक्रममा माइती नेपाल मकवानपुर, हिमराइट्स मकवानपुर, हेटौंडा उपमहानगरपालिका, बाल कल्याण समाज मकवानपुर, बाल क्लबको प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।