मकवानपुर /बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडा बजार घर भएकी १४ वर्षीया बालिकालाई बेचिदै गर्दा उद्वार गरिएको छ ।
बेचविखनमा संलग्न ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियमन्त्रणमा लिएर हिरासतमा राखेको छ । विगत ३ महिनादेखि बालिकालाई विभिन्न प्रलोभनमा पार्दै आएको र २० मंसिरमा घरबाट भारतको लागि प्रस्तान गर्दै गर्दा परिवार समेतको संलग्नतामा प्रहरी, माइती नेपाल र साना हातहरु नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्वार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको जाहेरी अनुसार सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर स्थायी ठेगाना भई हाल मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ८ कमाने सनउड कोलनी बस्ने ति बालिकालाई उद्वार गरिएको थियो ।
आरोपित ३ जनालाई मानव बेचबिखन तथा ओसार पसार कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बेचविखनमा संलग्न रहेको आरोपमा प्रहरीले पर्सा जिल्ला जिराभवानी गाउँपालिका– ८ घर भई हाल हेटौडा उउपमहानगरपालिका –८ मा कमानेमा डेरा गरी बस्ने ५२ को मादाराज हजरा दुसाद र सोही स्थानमा बस्ने निजकै छोरा २६ वर्षीय बिजय पासवानलाई नियन्त्रणमा लिएको छ । यसैगरी सोही मुद्दमा प्रत्यक्ष संलग्न भएको आरोपमा भारत विहार वेतिया जिल्ला राजपूर वडा –४ सुभद्रा थाना बस्ने ३६ वर्षीय राजेन्द्र महतोलाई पनि नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ ।
आरोपित बिजय र मादाराजले बालिकालाई ३ महिना पहिलादेखि भारत वेतियामा विवाह हुने ठाउँमा डान्स गर्ने काम लगाई दिने र त्यस बापत मासिक आईसी १० हजार तलब दिने भनेर प्रलोभनमा पार्दै आएको बालिकाले जाहेरीमा बताएकी छिन् ।
करिब एक हप्तादेखि दैनिकजसो आर्थिक प्रलोभनमा पार्दै आएको र राजेन्द्र महतोलाई भारत बेतियाबाट हेटौंडा बोलाएर बालिकालाई पठाउने तयारी गरिएको जाहेरीमा उल्लेख छ । बिजय र मादाराजले हेटौंडा बोलाएपछि राजेन्द्रलाई १९ मंसिरमा आफ्नै डेरामा बास बसाएका थिए । आरोपित ३ जनाले बालिकालाई चितवन जिल्ला हुदै ठोरीबाट भारत वेतियामा लगि बेच बिखन गर्ने योजना सोही रात बनाएका बुझिएको छ । २० मंसिरको विहान ८ बजे घरबाट झोला बोकी घर बाहिर निस्कन लाग्दा बालिकाको आमाले सोधिखोजि गरेपछि घटना बाहीरीएको थियो ।
आर्थिक रुपमा विपन्न ति बालिकाको बुबा निर्माण मजदुर हुन । आमा अरुको घरमा सरसफाइको काम गर्ने र स्वयम बालिका पनि बालश्रममा संलग्न हुँदै आएको पाइएको छ । आर्थिक विपन्नताकै कारण कक्षा ८ सम्म पढेर स्कुल छोडि काममा लागेको बालिकाले बताइन् । ‘अरुको घरमा काम गरेर बस्नु भन्दा राम्रो तलब पाइने भए, परिवारभन्दा टाढा बस्न परे पनि बस्छु भन्ने लाग्यो’ ति बालिकाले भनिन् । उद्वारपछि बालिकालाई माइती नेपाल मकवानपुरको संरक्षणमा राखिएको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । मंसिर २३ गतेको सहीखबर साप्ताहिकको पृन्ट संस्करणबाट
In: महिला/बालबालिका खबर, मुख्य खबर, सुरक्षा खबर
Tags: No Comments

