मकवानपुर / समाजमा व्याप्त बाल विवाह न्यूनिकरणको लागि सरकारी तवरबाट बनेको नीति अनुसारको रणनीतिक योजनाहरु बन्नु पर्ने र कडाइका साथ कार्यन्वयनमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय बाल अधिकार परिषद् र बाल बालिका शान्ति क्षेत्र हुन् अभियानको आयोजना तथा सिविन बाल हेल्प लाइन मकवानपुरको समन्वयमा हेटौंडामा भएको छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
सरकारले बालबालिकाको हितको लागि केही प्रभावकारी नीति बनाएको भए पनि यसको कार्यान्वय पक्ष फितलो भएकोमा सरोकारवालाहरुले चिन्ता प्रकट गरे । आवश्यकता महसुस गरिएको भए पनि नीतिले प्राथमिकता नपाएको सहभागीहरुले बताएका हुन् । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको महिला विकास अधिकृत चन्द्रकुमारी व्यान्जनकारले आपतकालीन अवस्थामा रहेका बालबालिकाको उद्दारदेखि विभिन्न हितकारी सवाललाई नीतिले सम्बोधन गरे पनि उपलब्धिपूर्ण हुन नसकेको बताइन्।
समाजमा देखिने तडकभडक र देखासिखि, सामाजिक संस्कार,परिवारको बेमेल, आर्थिक अभाव, प्रेम सम्बन्धले बसेको गर्भ जस्ता कारणले बाल विवाहलाई उत्प्रेरित गर्ने गरेको सहभागीहरुले बताएका थिए । प्रेम सम्बन्धलाई समाज र परिवारले अस्वीकार गरेको कारण पनि बाल विवाह हुने गरेको सिविन बाल हेल्प लाइन मकवानपुरको अधिकृत सम्झना अधिकारीले बताइन् ।

बालबालिकालाई कुनै नै कुनै काममा व्यस्त राख्न नसकेको कारण बाल विवाहको समस्या र चुनौती बढेकोले उनीहरूको रुचि बुझेर सीप, क्षमताको सवाल जोड्नु पर्ने कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्डका फिल्ड अधिकृत जगन्नाथ सुवेदी बताए । बाल विवाहको चिन्ता समुदायको विषय बन्नु पर्ने र हाल यो कुनै गैरसरकारी संस्थाको सवाल जस्तो रुपमा लिंदै आएकोले पनि व्यवहारीक रुपमा बाल विवाह रोकथाम गर्न नसकिएको बताइएको थियो ।
बाल विवाह रोकथामको लागि विद्यालयमा भर्ना अभियान लैजादा नै बाल विवाह विरुद्ध सचेतनाका कार्यक्रमहरु जोड्नु पर्ने, विद्यालयको अभिभावक भेला तथा कक्षागत रुपमा पनि जनचेतना अभिवृद्धिको कार्यक्रम गर्नुपर्न सहभागीहरुले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख चुडाकुमारी खड्काले बालबालिकाहरुलाई कानूनी सचेतना समेत अपरीहार्य भएको बताइन् । ‘माया गर्दा पनि अपराध हुक्छ भन्ने हेक्का नहुदा बालकहरु बलात्कारको केसमा पर्ने गरेका छन्’ खड्काले भनिन् ।
बालबालिकालाई अधिकार सँगै कर्तव्य बोध गराउने, अभिभावकलाई बालबालिकाप्रति कुशल अभिभावकत्व निर्वाह गर्न प्रेरित गर्ने, पारिवारीक मेलको बातावरण सिर्जना गर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने सहभागीहरुले बताएका थिए ।

राष्ट्रिय बाल अधिकार परिषदका पुर्व निर्देशक तारक धिताल, सिजपका रत्न केसी र सिविन मकवानपुरका संयोजक झविन्द्र ज्ञावलीले सहजिकरण गरेको कार्यक्रममा माइती नेपाल मकवानपुर, हिमराइट्स मकवानपुर, हेटौंडा उपमहानगरपालिका, बाल कल्याण समाज मकवानपुर, बाल क्लबको प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

