मकवानपुर/छोरीलाई बढी संस्कारमा राख्न खोज्ने तर छोरालाई त्यै संस्कार बारे कम सचेत पार्ने गर्दा समाजमा हिंसा बढेको हेटौंडा ११ को वडा सदस्य जुना दाहालले बताएकी छन् । समाजमा हिंसा व्याप्त रहेको र रोकथामको लागि परिवारबाटै सचेतना, नैतिकताको सवालमा ध्यान दिनुपर्ने वडा सदस्य दाहालले बताएकी छिन् ।
हेटौंडा उपमहानगरपालिका वडा ११ मा आयोजना गरिएको लैङ्कि हिंसा विरुद्ध सचेतना कार्यक्रममा उनले यस्तो बताएकी हुन् । हिंसा विरुद्ध अभियानमा महिलासँगै पुरुषहरूको पनि उपस्थिति गराउन पर्ने दाहालले बताइन् । ‘बालिकालाई निश्चित परिधिभित्र राखेर मात्रै हिंसाको अन्त्य हुँदैन, हिंसा विरुद्धको अभियानमा बालकहरू, किशोरहरू, पुरूषलाई पनि अनिवार्य सहभागी गराउन पर्छ’ उनले भनिन् ।
वड स्तरीय महिला जागरण समूहको आयोजना,हेटौंडा उपमहानगरपालिकाको सहकार्य तथा नगर स्तरीय महिला जागरण समूहकाे समन्वयमा आयाेजित लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत महिलाहरूको लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम मंगलबार गरिएको थियो ।
कार्यक्रममा वडा समन्वय समितिका देवकुमार श्रेष्ठले पुरूष प्रधान संस्कारकै कारण महिलाको नेतृत्व स्वीकार नगरिएको बताउँदै यसले पनि हिंसा बढेको बताए ।

घरैबाट सुरू गरौं, महिला हिंसा अन्त्य गरौ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा अधिकारकर्मी तथा मकवानपुर महिला समूहको कार्यक्रम संयोजक निशा लामाले हिंसा विरुद्धको अभियान बारे कार्यपत्र प्रस्तुत गरेकि थिइन् । महिलाले गर्भावस्थादेखि नै कुनै न कुनै प्रकारको हिंसा भोग्नु परेको लामाले बताइन् ।
महिलाहरूले प्रजनन हकको रक्षा हुनुपर्नेमा प्रजनन विषयलाई नै लिएर हिंसा व्याप्त रहेको लामाले बताइन् । कार्यक्रममा नगर स्तरीय महिला जागरण समूह अध्यक्ष तारा ढुंगानाले महिलाहरूमा जागरण ल्याउन सकेमा हिंसाको घटनाहरू कम गर्न सकिने बताइन् ।
कार्यक्रममा वडाको टोल बिकास समूहका पदाधिकारी, सहकारीको प्रतिनिधि, सामाजिक अगुवाहरूको उपस्थिति रहेको वडा स्तरीय महिला जागरण समूह सचिब ‘सिता कंडेल बस्तोलाले बताइन् । कार्यक्रम समूहको कार्य बाहक अध्यक्ष शोभ लामिछानेको अध्यक्षतामा भएको थियो ।
